पाल्पाको १११० मिटर उचाइमा देखियो पाटे बाघ

NAWALPUR TIMES

पाल्पाको १११० मिटर उचाइमा देखियो पाटे बाघ
तस्बिरः सौजन्य हरि शर्मा

कावासोती । पाल्पाको १ हजार १ सय १० मिटर उचाइमा पाटे बाघ क्यामरा ट्रयापिङमा परेको छ । तिनाउ र माथागढी गाउँपालिकाका विभिन्न स्थानमा जडान गरेको क्यामेरा ट्रयापिङमा पाटे बाघ देखिएको हो ।

त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक हरिप्रसाद शर्माको विज्ञ समूहले जडान गरेका क्यामेरामा ५ स्थानमा पाटे बाघ ट्रयापिङमा देखिएको हो ।

शर्माका अनुसार फेब्रुअरी १६ को बिहान ६स्०८ बजे र फेब्रुअरी १५ राति ११स्५० बजे माथागढीमा बाघ देखिएका हुन् । शर्माले ३ ठाउँमा ३ वटा बाघ देखिएको बताए । उनले भने, “हामीले सबै क्यामेराको डेटा अध्ययन गरिसकेका छैनौँ ।”  जम्मा ४४ वटा क्यामेरा राखिएको हो । अहिले ३ वटा क्यामेरामा बाघ डिटेक्ट गरिएको छ ।

‘तराईमा मात्र होइन, मध्य पहाडी भेगमा पनि पाटे बाघ क्यामेरा ट्रयापिङमा कैद भएको छ,’ शर्माले भने, ‘बाघको उपस्थिति तराई क्षेत्रभन्दा माथि मध्यम पहाडी क्षेत्रमा समेत फैलिरहेको संकेत हो ।’ यसअघि पाल्पाकै तिनाउ गाउँपालिका-२, दोभानको हरियाली गाउँमा पनि पाटे बाघ क्यामेरा ट्रयापिङमा भेटिएको थियो । विज्ञ शर्माका अनुसार यसअघि डडेलधुरा र इलाम जिल्लामा पनि १ हजार मिटरमाथि पाटे बाघको अभिलेख गरिएको छ । उनका अनुसार रुपन्देही, अर्घाखाँची, कपिलवस्तुमा पनि क्यामेरा जडान गरिएको छ । तराईसँग जोडिएको अर्घाखाँचीमा पनि पाटे बाघ क्यामेरा ट्रयापिङमा परेको उनले बताए । त्रिभुवन विश्वविद्यालय अनुदान आयोगको सहयोगमा पाल्पाका ४४ स्थानमा क्यामेरा जडान गरिएको हो । अर्घाखाँचीका ५० स्थानमासमेत क्यामेरा जडान गरिएको उनले बताए ।

क्यामेरा २१ दिनसम्म राखिएको हो । पाल्पाका तराईसम्म जोडिएका पालिकाका सामुदायिक वनको जंगल क्षेत्रमा क्यामेरा जडान गरिएको शर्माले बताए । आठ जना जनशक्ति परिचालन गरिएको क्यामेरा अहिले निकालिसकिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ, डिभिजन वन कार्यालय, सब(डिभिजन कार्यालय र स्थानीय सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा क्यामेरा जडान गरेको उनले बताए । ‘मध्य पहाडका विभिन्न भू(भागमा बाघको सम्भावित विस्तार देखाउँछ,’ उनले भने, ‘वन्यजन्तु संरक्षणका लागि यस्ता तथ्यहरू अत्यन्त महत्त्वपूर्ण छन् भन्ने हो ।’

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology