कावासोती । देश भदौ २३ र २४ को राजनीतिक परिवर्तनपछि नयाँ मोडमा प्रवेश गरिरहेको सन्दर्भमा नवलपुर निर्वाचन क्षेत्र नम्बर–२ पनि विकास र परिवर्तनको नयाँ अपेक्षासहित अघि बढिरहेको छ।
यही परिवेशमा नेपाली कांग्रेसका उम्मेदवार ओमबहादुर घर्ती मगरले नवलपुर–२ को समग्र रूपान्तरणका लागि शिक्षा, स्वास्थ्य र कृषि–पशुपालनलाई केन्द्रमा राखेर आफ्नो विस्तृत प्रतिबद्धता सार्वजनिक गरेका छन्।
घर्तीको दृष्टिमा विकास भनेको केवल भौतिक संरचना निर्माण मात्र होइन, जनताको जीवनस्तर बदल्ने दीर्घकालीन प्रक्रिया हो। त्यसैले उनले शिक्षा क्षेत्रमा देशको आवश्यकता, जनचाहना र जनभावनालाई आत्मसात् गर्दै प्रविधि, सीप र रोजगारीमा आधारित शिक्षा प्रणाली निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनका अनुसार अबको शिक्षा पुस्तकमै सीमित नभई व्यवहारिक, प्राविधिक र रोजगारमुखी हुनुपर्छ। यसै उद्देश्यका साथ क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सक्षम बनाइने र सामुदायिक क्याम्पसहरूलाई शैक्षिक तथा भौतिक पूर्वाधारसहित प्रविधियुक्त बनाइने योजना अघि सारिएको छ।
स्वास्थ्य क्षेत्रलाई उनले जनताको आधारभूत अधिकारका रूपमा व्याख्या गरेका छन्। नवलपुर–२ भित्र अवस्थित मध्यविन्दु प्रादेशिक अस्पताल, जिल्ला आयुर्वेद अस्पताल, पालिका स्तरीय अस्पताल तथा स्वास्थ्य चौकीहरूलाई स्तरोन्नति गर्दै सुविधा सम्पन्न बनाइने उनको प्रतिबद्धता छ। उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य गर्दै स्थानीय तहबाटै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिइएको छ।
साथै नेपाली कांग्रेसका वर्तमान सभापति एवं पुर्व स्वास्थ्य मन्त्री गगन थापाद्वारा सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी, सेवामुखी र पारदर्शी बनाइने प्रतिबद्धता पनि उनले दोहोर्याएका छन्।
घर्तीको विकास दृष्टिको अर्को महत्वपूर्ण आधार कृषि तथा पशुपालन हो। कृषिलाई परम्परागत पेशाबाट आधुनिक र व्यवसायिक पेशामा रूपान्तरण गर्दै नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्न उनले विविधीकरण, आधुनिकीकरण र व्यवसायीकरणको नीति अघि सारेका छन्।
बौदीकाली, बुलिङटार, मध्यविन्दु र विनयी त्रिवेणीका पहाडी क्षेत्रहरूमा उत्पादन हुने सुन्तला, कागती, किवी, अदुवा, कफी, बेसार, च्याउ र विभिन्न फलफूललाई विशेष क्षेत्र अर्थात् पकेट जोनका रूपमा विकास गरी व्यवस्थित उत्पादन र प्रशोधन केन्द्र स्थापना गरिने योजना प्रस्तुत गरिएको छ। यसबाट किसानलाई स्वरोजगार बनाउँदै आयआर्जनका नयाँ सम्भावना सिर्जना गरिने विश्वास गरिएको छ।
त्यसैगरी तराई क्षेत्रमा केरा, उखु, मेवा, तरकारी बालीसँगै मत्स्यपालन, बाख्रा पालन र कुखुरापालन कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिनेछ। उत्पादनपछि बजारको समस्या नहोस् भन्ने उद्देश्यले पालिका स्तरमै चिस्यान केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइने योजना पनि समावेश गरिएको छ। कृषिलाई यान्त्रिकीकरण, बजारिकरण र व्यवस्थापनसँग जोड्दै किसानलाई सक्षम र उद्यमी बनाउने दीर्घकालीन सोच उनको प्रतिबद्धतामा झल्किन्छ।
राजनीतिक रूपमा पनि यो निर्वाचनलाई घर्तीले परिवर्तन र भरोसाको अवसरका रूपमा हेरेका छन्। संसद् विघटनपछि ताजा जनादेशका लागि सम्पन्न प्रतिनिधि सभा निर्वाचनले जनताको भावना बुझ्ने, जनचाहनाअनुकूल नेतृत्व चयन गर्ने अवसर दिएको उनको धारणा छ।
नेपाली कांग्रेसभित्र पनि परम्परागत शैलीमा परिवर्तन आएको, नयाँ नेतृत्व स्थापित भएको र त्यसले कार्यकर्ता तथा मतदातामा उत्साह, आशा र भरोसाको सञ्चार गरेको उनी बताउँछन्। यही उत्साहका साथ पार्टी देशभरका निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरी चुनावी मैदानमा होमिएको उनको भनाइ छ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्षसमेत रहेका घर्ती मगर बौद्धिक तथा सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाइसकेका नेता हुन्। क्षेत्रका कार्यकर्ता, शुभेच्छुक र मतदाताको भावनाअनुसार उनी उम्मेदवारका रूपमा अघि बढेको बताइन्छ। उनको उम्मेदवारीले नवलपुर–२ मा मात्र होइन, पार्टीको समग्र विजयलाई पनि थप बल पुग्ने विश्वास कार्यकर्ताहरूले व्यक्त गरेका छन्।
Facebook Comment