चोरी शिकारीबाट जोगिएका गैँडा प्राकृतिक कारणले मर्दै, एक वर्षमा २८ को मृत्यु

NAWALPUR TIMES

चोरी शिकारीबाट जोगिएका गैँडा प्राकृतिक कारणले मर्दै, एक वर्षमा २८ को मृत्यु

कावासोती । चितवन राष्ट्रिय निकुञ्जमा विगत डेढ वर्ष देखि चोरी शिकारीको कारणले गैँडा मर्ने क्रम रोकिएको भए पनि गैँडाको प्राकृतिक मृत्यु भने चिन्ताजनक देखिएको छ ।

विगत डेढ वर्ष देखि चोरी शिकारीको कारण गैँडा मर्न रोकिएको भए पनि एक वर्षमा प्राकृतिक कारणले २८ वटा गैँडाको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापा मगरले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्ज तथा यसको मध्यवर्ती क्षेत्रमा आव ७५/७६ मा ४३ वटा, ७६/७७ मा २६ वटा, ७७/७८ मा ३५ वटा, ७९/८० मा २० वटा र ८०/८१ मा २१ वटा गैँडाको प्राकृतिक कारणले मृत्यु भएको थियो । आर्थिक वर्ष ८१/८२ सकिदा अघिल्लो आर्थिक वर्ष ८०/८१ भन्दा ७ वटा बढी गैँडा प्राकृतिक कारणले मरेका हुन ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार निकुञ्ज तथा यसको मध्यवर्ती क्षेत्रमा बुढो भएर, अन्य जनावरको आक्रमणमा परेर, आपसमा जुधेर तथा बाढीले बगाएर, बासस्थानको समस्या, जलवायु परिवर्तन, मानवीय गतिविधीका कारण नदि साघुँरिनु, वन भित्रका पोखरी सुक्दै गएर दलदल बन्नु कारणले गैँडाको प्राकृतिक मृत्यु भएको हो ।

चोरीसिकार नियन्त्रण हुँदै गर्दा प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढे जस्तो देखिएको छ । “गैँडाको प्राकृतिक मृत्युलाई अस्वाभाविक नै मान्न सकिँदैन तर पनि गैँडा एकपछि अर्को मर्दै जानु चिन्ताको विषय हो ।”, वरिष्ठ संरक्षण अधिकृत डा. पन्तले भने । गैँडाको संख्या बढदा प्राकृतिक मृत्यु दर पनि बढेन कुरा स्वाभाविक भए पनि अहिले निकुञ्जमा भैरहेको गैँडाको प्राकृतिक मृत्युको विषयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सहयोगमा अध्ययन सुरु गरिने डा.पन्तले बताए ।

उमेर पुगेर मृत्यु हुनु, निकुञ्जमा घाँसे मैदान घटदै जानु, राप्ती र नारायणी नदीमा बर्सेनि आइरहने बाढीले निकुञ्जका पोखरी पुरिँदै जानु, दलदलमा फसेर मृत्यु हुनु तथा आपसमा जुधेर तथा अन्य जनावरको कारणले गैँडा मरेका प्रारम्भिक तथ्यले देखाएको भए पनि बिस्तृत अध्ययन गरेर गैँडाको प्राकृतिक मृत्युको कारणको विषयमा विभागको सहकार्यमा थप अध्ययन गर्न लागिएको डा. पन्तको भनाइ थियो ।

गैँडाको संख्या धेरै भएको भन्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा पश्चिम सेक्टरबाट १० वटा गैँडा पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको थियो । “गैँडाको प्राकृतिक मृत्यु घटाउन स्थानान्तरण गरेर अर्को स्थानमा लैजान सकिन्छ, स्थानान्तरणको आवश्यकता पनि छ तर तत्काल यो विषयमा राष्ट्रिय निकुञ्ज तथ वन्यजन्तु संरक्षण विभागले निर्णय भने गरिसकेको छैन ।”, पन्तले भने ।

पछिल्लो गणना अनुसार नेपालमा ७ सय ५२ वटा गैँडा रहेका छन् । यसमध्ये चितवन निकुञ्जमा मात्रै ६ सय ९४ वटा गैँडा छन् । चितवनका बाहेक पर्सा वन्यजन्तु आरक्ष, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटामा पनि गैँडा रहेका छन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology