धानको गभारो व्यवस्थापन

पार्वती पोख्रेल
प्रकाशित : २०८२ असार २७ गते १०:४२
धानको गभारो व्यवस्थापन

गभारो धानमा लाग्ने एक प्रमुख शत्रुकीरा हो। धानको बिरुवा / बेर्ना अवस्था देखि धानको गांज आउने देखि लिएर फूल फूल्ने, बाला लाग्ने अवस्था सम्म आक्रमण गरी बर्षेनी ठुलो क्षती पुर्याउदै आएको छ। धान खेतमा पानी, मल, सुक्ष्म तत्वको असन्तुलनले कीराको प्रकोप बढ्न सक्दछ। विभिन्न प्रकारका गभारो कीराहरु मध्ये पहेँलो र सेतो गभारोले धानवालीमा मात्र लाग्दछ। यो पुतली वर्गको कीरा हो। यस कीराको लार्भा/गभारो फिका पहेंला अथवा गुलाभी रङका अथवा शरिरमा धर्का भएका हुन्छन। यिनिहरु धानको डांठ भित्र रहन्छन्। लार्भाले धानको गुभो खाएर नोक्सानी गर्दछन्।

dhan 1

गभारोको माउले पातको टुप्पो तर्फ तल्लो सतहमा अण्डा पार्दछ। अण्डाबाट लार्भा निस्किएर डांठको बिच भागमा गएर प्वाल पारेर बस्छ र तल माथि गरेर गुबो खान थाल्छ। गभारोले डांठ मा पारेको प्वाल देखिन्छ। शुरुको अवस्थामा गुभो तान्दा सजिलै आउँछ र गुभो मरेको देखिन्छ। विरुवाको कलिलो अवस्थामा आक्रमण भएमा मृत गाभा देखिन्छ।यदि फुल खेल्ने बेलामा लागेको गभारोले आक्रमण गरेमा फोस्रो अथवा भुष वा सेतो वाला देखिन्छ । यसपछि गभारो अर्को सरा वा गाँजमा प्रवेश गरी धान वालीमा नोक्सान पुर्याउँदछ।

ब्यवस्थापनका उपायहरु:

  • धानको बेर्नाको पातमा फूल पारेको छ भने, धान रोप्ने वेलामा धानको बेर्नाको मुन्टा ३ देखि ५ से.मी चुडेर फालेर रोप्ने।
  • बेर्नाको पातको टुप्पोमा देखिएका फुलहरुलाई पातको टुप्पो चुडेर नष्ट गर्ने।
  • सकेसम्म एकै पटक सबैले धानको रोपाई गरेमा गभारो बाट हुने क्षतिकम हुन्छ।
  • माकुरा, लामा सिंगे फट्याङ्ग्रा, गाइने कीरा जस्ता मित्र जीवको संरक्षण गर्ने।
  • प्रकाश पासोको माध्यमबाट वयस्क पुतलीलाई आकर्षक गरी मार्ने।
  • ट्राइकोग्रामा परजिवी कीरा ५०,०००-१,००,००० प्रति हेक्टरका दरले रोपाई गरेको ३-४ हप्ता पछि छाड्ने।
  • गभारोको धेरै प्रकोप (१०% भन्दा बढी) क्षति भएमा रासायनिक विषादी कार्टाप हाईड्रोक्लोराइड ४% वा क्लोरान्ट्रानिलीप्रोल ०.४% वा फ्रिप्रोनिल ०.३ जि.आर. दानादार विषादी २५ के.जि. प्रति हेक्टर वा क्लोरोपाइरीफस २०% ई सी २ मि.लि. प्रति लिटर पानी वा एसिफेट ७५% एस.पी. १ मि.लि. प्रति लिटर पानीका दरले प्रयोग गर्न सकिन्छ। दानादार विषादी प्रयोग गर्दा खेतमा ५-८ से.मि.पानी पाँच दिनसम्म कायम रहनु पर्दछ।
  • धान काट्दा सकेसम्म जमिनको सतह छुने गरी काट्ने बाँकी रहेको सम्पुर्ण ठुटा निकाली जलाईदिने।

धानको गभारो कीरा अनुगमन ब्यवस्थापनको लागि मोहिनी पासो प्रयोग

  • भाले माउ पुतली मोहिनी पासोमा पर्ने हुँदा विषादीको प्रयोग गर्न नपर्ने।
  • प्रति कठ्ठा १ थान मोहिनी पासो राख्नु पर्दछ ।
  • एकपटक राखेपछी ४५ दिनसम्म काम गर्दछ।

 

dhan 3

लेखक प्रधानमन्त्री कषि आधुनिकीकरण परियोजना कार्यालय एकाई नवलपुरकी नायव प्राविधिक सहायक हुन ।

प्रकाशित : २०८२ असार २७ गते १०:४२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI