गाउँका सुखमय दिन र आजको शहरीकरणः विकासको साँचो अर्थ
NAWALPUR TIMES
हिजोका दिनहरूमा हाम्रो गाउँ एक यस्तो स्थान थियो जहाँ मानवीय जीवनका सबै आवश्यकताहरू स्वाभाविक रूपमा उपलब्ध थिए। त्यस समयमा, यहाँका मानिसहरूको जीवन प्रेम, सद्भाव र विश्वासले भरिपूर्ण थियो। जीवनका यी मूल्यहरू गाउँको हरेक कुनामा देखिन्थे। मानिसहरूको आपसी सहयोग, सञ्जाल र माया प्रेमले जीवनलाई सरल र सुखमय बनाएको थियो। यहाँका बालबालिका एकअर्कासँग रमाइलो गर्ने, वृद्धवृद्धाले आफ्नो अनुभव साझा गर्ने र युवाहरू परिपूर्ण सोचमा लागेर गाउँको उन्नतिको लागि काम गर्ने गर्दथे ।
गाउँमा प्राकृतिक स्रोतहरूको भरपूर उपलब्धता थियो। हरियाली, जमिनको उर्वरता, नदी नालाको पानी र खेतीबारीको सहजता सबै मिलेर मानव जीवनलाई असाधारण बनाएको थियो। खाद्य सुरक्षा, जलस्रोतको निकटता र अन्य प्राकृतिक स्रोतहरूले गाउँलाई आत्मनिर्भर बनाएको थियो। त्यो समयको जीवन शान्त, सरल र प्राकृतिक थियो, जहाँ सन्देशहरू प्रेम, सद्भाव र विश्वासको माध्यमबाट सम्प्रेषित हुन्थे।
हिजोआज सबै गाउँ सुनसान छन् । आजभोलि गाउँघरका घरहरु जीर्ण छन् । आँगन घाँसे मैदान जस्तै बनेको छ । भत्किन लागेको ढोकामा ताल्चा झुण्डिएका छन् । मान्छे नबसेको घर यस्तै त हुन्छ । आजभोलि सबै गाउँका घर बेवारिसे भएका छन् । बल्लबल्ल कुनै घरमा मान्छे भए पनि छिमेकीविहीन छन् । घरको दायाँबायाँ जता फर्किंए पनि उस्तै जीर्ण र छिमेकी बेगरका घर देखिन्छन् । कुनै अफ्ट्यारो पर्दा सहयोग गर्ने कोहि छैनन् । खेतीयोग्य जमिन पनि बाझिएको छ । जताततै जङ्गल नै जङ्गल भएको छ । जंगली जनावरले दुःख दिएर गाउँघरमा मान्छे बस्न सक्ने अवस्था छैन । खेतीपाती लगाउँदा जंगली जनावरले हैरान गराउँछ । त्यो ताल्चा झुण्डिएको घरमा कहिल्यै ढोका खुल्दैन। घरधनी जति कि सहरतिर कि त विदेशतिर छन् । गाउँमा मान्छे पलायन हुँदै गएको देख्दा अचेल सबैको मन अत्तालिन्छ । तर गाउँमा बस्न भने कसैको मन छैन । तर सबैलाई गाउँ रित्तिँदै गएकोमा भने चिन्ता छ । बाल्यकाल बितेको र अब बुढौलीमा पनि गएर बस्दा आनन्द आउने ठाउँ नै त्यहि गाउँ नै त हो । जो जहाँ गए पनि अन्तिम समय बिताउन भने सबैलाई गाउँमा नै मन हुन्छ । कसैको सानै उमेरमा बिहे गरेर आएको गाउँ, कोहि जन्मिएको, कोहि स्कुल पढेको त कोहिले जिवनको महत्त्वपूर्ण समय बिताएको स्थान गाउँ नै हो । गाउँ पहिला कति रमाइलो हुन्थ्यो । अहिले कस्तो भयो भन्ने सबैलाई लागिरहेको हुन्छ । सके र मिलेसम्म सबैजना आफ्नो जन्म स्थानमा पुग्ने कोसिस गर्दछन् । आजभोलि मान्छे नभएर होला दिनप्रतिदिन गाउँमा रौनक हराउँदै गएको आभास हुन्छ। हिजो गाउँघरमा बिताएका हरेक समय र पलहरु मानसपटलमा पुरानो याद अझै अतित बनेर फनफनी घुघिरहेको हुन्छ ।
पहिला कच्ची बाटो वारिपारि दुवैतिर घनाबस्ती थियो । आजभोलि गाउँमा विगतकोभन्दा अलि फरक बन्दै गएको छ । अहिले घरहरु छन्, बस्ने कोही छैनन् । सबै सहरतिर लागेका छन् । सुख र सुविधाले गर्दा शहरतिर तान्यो । साथमा छोरा छोरी र बुहारी नहुँदा जहाँ उनीहरु बाबुआमा उतै जान बाध्य भएका हुन । सबैको साथमा घरमै बस्न पाए पनि सबैलाई सुनसान गाउँको अवस्थाले मन पोल्छ । अझ बढी त करेसा बारीमा फलफुल फल्दा टिपेर खाइदिने चकचके केटाकेटी नहुँदा सबैलाई खल्लो लाग्छ ।
गाउँमा मात्रै होइन देशको पछिल्लो २०७८ सालको सम्पन्न बाह्रौ राष्ट्रिय जनगणनाले समेत मुलुकको वार्षिक जनसंख्या बृद्धिदर ०.९२ रहेको तथ्यांक देखाउ छ । विगत केही समय यता नेपालको पारिवारीक संरचना सामाजिक तथा सास्कृतिक मूल्य मान्यतामा परिवर्तन आएको छ । बाह्रौ राष्ट्रिय जनगणना–२०७८ अनुसार हाल नेपालको ३४ जिल्लामा जनसंख्या बृद्धिदर ऋणात्मक रहेको छ जसमा ६९ नगरपलिका र २५० गाउँपालिकामा जनसंख्या वृद्धिदर ऋणात्मक रहेको छ । नेपालमा जनसंख्या वृद्धिदर धनात्मक भएको जिल्ला मात्रै ४३ रहेको छ , जसमा २ प्रतिशत भन्दा बडी भएको नगरपालिका ४८ र गाउँपालिका ८ वटा मात्रै छन् । नेपालमा हाल शहरी जनसंख्या (नगरपालिका क्षेत्रमा बसोबास) गर्ने ६६.१७ प्रतिशत र ग्रामिण जनसंख्या(गाउँपालिका क्षेत्रमा बसोबास) गर्ने ३३.८३ प्रतिशत रहेको छ । जसले के उदजागर गर्दछ भने गाउँघरमा जनसंख्याको अवस्थिती अत्यन्तै कहालिलाग्दो बन्दै गएको छ ।
आज गाउँका सबै जसो विद्यालयको बालकक्षामा नयाँ विद्यार्थीको भर्नामा गिरावट आएको छ । हरेका विद्यालयको नयाँ शैक्षिक सत्रको प्रारम्भिक बाल विकास कक्षमा भर्ना दरको तथ्यांकमा कमी आईरहेको छ । आज तिनै जनप्रतिनिधि र शिक्षकशिक्षिकाहरू जन्माएको अनि पढिलेखेको विद्यालय र गाउँघर प्रति जति गर्व अनुभूति छ, त्यससँगै हाल आफ्नै गाउँका बासिन्दाहरु र विद्यालयमा विद्यार्थीको संख्या दिनानुदिन घट्दै गएकामा सबैलाई उत्तिकै पिडा छ । विद्यार्थी संख्या घटेर शिक्षक दरबन्दी पनि घट्दै गएको कुराले पनि पिरोलिएका छन् । घट्दै अहिले विद्यार्थीहरुको संख्या एकल अंकमा समेत सीमित भएको छ । बालविकास कक्षादेखि पाँच कक्षासम्म पढ्ने विद्यार्थीको संख्या स्वात्तै घटेको छ । स्वाभाविक तवरमा मान्छे गाउँघरमा बस्नै छोडेर यस्तो अवस्था आएको हो । यसले दिन दिनै समस्या निम्त्याउँछ । गाउँघरमा अब खेतीपाती गर्ने र पशुपालन गर्ने कोहि नहुँदा उत्पान कम हुने र सबै किनेर खान पर्दा आयात बढ्दै जान्छ । हामीले देशमा उत्पादन बढाउँदै आयात कम गर्दै निर्यात गर्न सक्दा मात्र देशको अर्थतन्त्र बलियो हुन्छ भन्ने कुरा बुझ्न आवश्यक छ ।
गाँउमा अभिभावक नै नभएपछि पढ्न आउने केटाकेटी नपाउनु स्वभाविक नै हो । हिजोआज गाउँघरमा केहि पर्दा स्कुलमा कहिलेकाहीँ विद्यार्थी नआइदिएर कक्षाहरु रित्तै हुने गर्छन् । गाउँमा स्वास्थ्य सेवा, खानेपानी, यातायात रोजगारी, शिक्षा लगायतका भौतिक पूर्वाधार सुविधाको अभावले गर्दा घरहरु रित्तिदै गएका हुन् । यसले गाउँ टोलको विकाससहित विद्यालयको पठनपाठनमा समेत असर गरेको छ । गाउँघरमा मान्छे नै नभएपछि विकास पनि केका लागि हुनु पर्यो र भन्ने नयाँ बहसको कुरा पनि उठ्न थालेको छ।
आजभोली कुनै कुनै स्थानीय तहहरुले भौतिक विकाससँगै मानवीय विकासको अवयवहरुका बारेमा समेत नीतिगत व्यवस्था सहित कार्यक्रमिक निर्णयहरु गरेका छन् । मुलुकको विकासकोे मेरुदण्ड नै गाउँको विकास र समृद्धि रहेकोले गाउँमा भौतिक विकासको कार्यक्रमहरुलाई सामाजिक, साँस्कृतिक, आर्थिक तथा पर्यापर्यटन विकासको संस्थागत विकासका पक्षहरुमा बहस र पैरवी हुन थालेको छ । जसको केही उदाहरण गाउँ फर्क अभियान, बसाईसराई गरी आउनेलाई सहुलियत प्रदान कार्यक्रम त कतै कतै गाउँमा टोलैपिच्छे मौरीपालन, तरकारी खेती जस्ता उत्पादन र उद्यमशील काम भएका छन् । तर योजनाबद्ध ढंगमा आधुनिक खेती बसाउने र रोजगारोन्मुख कार्ययोजनामा खासै चासो नल्याएको हुँदा स्थानीयहरु शहरमुखी हुन थालेको कुरा अब स्थानीय तहका प्रतिनिधिले बुझ्न आवश्यक छ । बस्तीमा मान्छे बस्न छाडेपछि जो मान्छे गाउँमा बसेको हुन्छ उसको पनि मनोबल कमजोर हुँदै गएको छ ।
छरछिमेकी हुँदा गाह्रोसारो परेको बेला सहयोगी हात हुन्थे तर आजभोलि कोहि नहुँदा गाउँघरमा अहिले बिरामी हुँदा पनि छिमेकी गुहार्न नपाइने भएको छ । यो कुराले सबैलाई पिरोलेको छ । गाउँका युवा पुस्ताहरू रोजगारी र शिक्षा आर्जन गर्नका लागि शहर पसेका छन् । चाडपर्वमा घर सम्झेर एकाद परिवार मात्र गाउँघर आउँने गरेका छन् । तर कयौं घरले भने वर्षौदेखि स्याहार नपाएको कुरा घरको अवस्था हेर्दा प्रष्ट थाहा हुन्छ । गाउँका प्रायः घरमा ताल्चा लागेको छ । रोजगार र छोराछोरी पढाउन काठमाडौं पसेका प्रायः सबै छिमेकी उतै शहरमा बसेका छन् । वरिपरिका सबैका घरमा ताला लागेका छन् । जो गाउँमा रहेका छन् उनीहरु पनि छिमेकी नहुँदा निकै नियास्रोको महसुस गर्दछन् । गाउँका टाढाबाढा मान्छेहरु नै सहर पसेपछि गाउँको विकास हुने कुरै भएन । गाउँको छेउँमै चौतारा छ । चौतारा अचेल पहिले जस्तो भरिभराउ हुँदैनन् । अब गाउँघर बुढाबुढीपछि पुख्र्रौली घर कसले धान्ला भन्ने चिन्ताले आम सबै मान्छेलाई सताउन थालेको छ ।
गाउँका युवाहरु कोहि पढ्न त कोहि रोजगारीको सिलसिलामा शहर पसेका छन् । त्यसपछि उतैको रहनसहनमा हराउँदा गाउँघर बिर्सन्छन् । सुविधा नभएको गाउँमा नबस्नु शहरतिरै आउनु भनेर छोराछोरीहरूले गाउँमा रहेका बाबुआमालाई नि जोड गरेर शहर नै लैजान्छन् । आफू जन्मेको हुर्केको थलो छोड्न मन नलागे पनि वाध्यतामा बाबुआमा शहरमा जान बाध्य हुन्छन् र अब पुरै गाउँ नै रित्तो हुन पुग्छ । कहिले कहिँ मिलेसम्म चिसो छल्न गाउँ आएका हुन्छन् । होइन भने प्रायःकाठमाडौं तिर नै हुन्छन् । बिरामी परेको बेला सिटामोल समेत पाउन मुस्किल हुने गाउँको दुःख सम्झिँदा गाउँको माया गर्ने सबै भाव विहिल हुन्छन् ।
गाउँमा बस्न सजिलो भने पक्कै छैन । जति हेर्दा क्षणभर रमाइलो लाग्छ, त्यहाँ सुविधा युक्त जीवन बिताउन चुनौतीपूर्ण छ । गाउँका अनेक दुःखलाई भुल्दै आज सुख सयल पाए पनि पुख्र्यौली जिउने आधार भने खेती किसानी नै हो । तर सकि नसकी गाउँमा लगाएको बालीनाली बाँदर, मृग, दुम्सीले जस्ता जनावरले आजभोलि गाउँघरमा एकैछिनमा सखाप पारिदिन्छन् । यसको रोकथाम कहिँ कतैबाट कसैले पनिगर्दैनन् । अनि कसरी गाउँघरमा जिवन जिउने भन्ने चिन्तामा प्रायः गाउँमा रहेका आम किसानको चिन्ता हो ।
अन्न लगायो बाँदरलाई, बाख्रा पाल्यो बाघलाई, बल्ल बल्ल उत्पादन गर्यो बिक्रीका लागि बजार नै हुँदैन अनि किसानले भोग्नु परेको पीडा बुझ्ने कोहि नै छैन । के खाएर बस्ने हो यो गाउँमा ? अनि शहर नपसे के गर्ने ? भन्ने धेरै किसान छन् । गाउँमा स्थानीय टिकाउनका लागि स्थानीय सरकारले कुनै न कुनै नयाँ योजना ल्याई आम किसानको समस्या हल गर्न पर्छ। होइन भने अब दिन प्रतिदिन गाउँ खाली हुँदै जाने निश्चित छ ।
रोजगारको अभाव, उद्यमशीलताका आधारहरु नहुँदा युवा पलयान भएका छन् । यति मात्रै होइन, बुढापाका पनि छोराछोरीसँगै शहर पस्न थाले । यसले गर्दा गाउँ सुसनान हुँदै गएको हो । मान्छे नै नरहे स्थानीय क्षेत्रको विकासको आधार हराउँछ । गाउँमा मान्छे टिकाउन ग्रामीण योजना ल्याउन आवश्यक छ । यसमा अब तुरुन्त लाग्न आवश्यक छ । गाउँघरका सामुदायिक सिकाइ केन्द्र खाली हुन थालेका छन् ।कृषिमा आधुनिकीरण गर्ने र स्वास्थ्य, खानेपानी बाटोघाटोको सुविधा विस्तार गर्न तिर अब सरकार लाग्न आवश्यक छ । हिजो गाउँ स्वर्गजस्तै रहेको थियो भने आज त्यही गाउँ एकान्त सुनसान हुन थालेको देख्दा सबै चिन्तामा छन् । धुलोधुवाँदेखि पर रहेको गाउँ प्राकृतिक हिसाबले जति सुन्दर छ, उति नै पर्यटकीय दृष्टिले आकर्षित छ । तर आम मान्छे गाउँघर छोड्नाले गाउँघर सुनसान हुन थालेको छ ।मान्छे नभएर होला आजकाल गाउँघरमा परम्परागत रुपमा हिजो धान, गहुँ, मकैखेती गर्दै आएका यहाँका किसानहरुका अहिले अधिकांश जग्गा बाँझै छन् । खेती गर्ने बुढापाका छन्, सक्ने गर्छन् नसक्नेको बाँझै रहने गरेको छ । अब गाउँमा मान्छे बस्न कम भएपछि कृषिमा आधुनिकीरण गर्नतिर लाग्नुपर्छ । यसो गर्न सके आयआर्जनमा धेरै राहत हुन्छ । अब शहर होइन गाउँघरतिर बस्ती बसालौं ।
जहाँ हाम्रा गाउँहरू सुनसान भएका छन्, त्यहाँ पनि एक नयाँ आशा र समाधानको संभावना देखिन्छ । हाम्रो गाउँलाई फर्काउन र त्यसको पुरानो गौरवलाई पुनःस्थापित गर्नका लागि अब सम्पन्न दिगो पूर्वाधार तथा नयाँ प्रविधिमैत्री विकास सहित पुरानो मौलिक, भाषा, परम्परा, कला, सँस्कृतिको संरक्षण, प्रवद्र्धन र सम्वद्र्धन गर्नका लागि सबै स्थानीय तहले आज केही देहायका महत्वपूर्ण कदमहरू चाल्नु आवश्यक छ ।
१. मानवीय मूल्यमान्यताको पुनस्र्थापनाः
गाउँको जीवनमा माया, विश्वास र सद्भावको पुनःस्थापना र जागरण गर्न जरुरी छ । यी मूल्यहरूले मानिसहरूलाई एक आपसमा जोड्ने र सहयोग गर्ने प्रवृत्ति जन्माउछन् । यसले गाउँमा जीवनलाई सहज र सुखमय बनाउन मद्दत पुर्याउँछ ।
२. सम्पूर्ण विकासमा सन्तुलनः
केवल भौतिक विकास मात्र होइन, मानवीय विकास पनि महत्त्वपूर्ण छ । हामीले भौतिक संरचनासँगसँगै शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा जस्ता क्षेत्रहरूमा ध्यान दिनु पर्छ जसले मानिसहरूको मानसिक र शारीरिक विकासमा मद्दत पुर्याउँछ ।
३. पारिवारिक र समुदायको सुदृढीकरणः
परिवार र समुदायको मूल्यलाई जोड दिनु आवश्यक छ । सामाजिक संरचनालाई सुदृढ पार्ने, आपसी सहयोग र समुदायको भावना विकास गर्ने कुरा महत्त्वपूर्ण छ ।
४. स्थानीय स्रोतहरूको उपयोग र संरक्षणः
गाउँका प्राकृतिक स्रोतहरूलाई उचित संरक्षण र उपयोग गर्नु अत्यावश्यक छ । यसले गाउँलाई आत्मनिर्भर र स्थिर बनाउँछ । जलस्रोत, माटो, वनजंगल र कृषि भूमि यस्ता स्रोतहरूको संरक्षण गरि गाउँलाई समृद्ध बनाउन सकिन्छ ।
५. स्थानीय उत्पादन र व्यवसायको प्रवद्र्धनः
स्थानीय स्तरमा उत्पादन र रोजगार सिर्जना गरेर गाउँको अर्थतन्त्रलाई थप बलियो बनाउने । कृषि, हस्तशिल्प, पर्यटन र अन्य स्थानीय व्यवसायलाई प्रवद्र्धन गर्दा गाउँको अर्थतन्त्र सशक्त बन्न सक्छ ।
अहिले हामी विकासको मार्गमा छौँ, र यसलाई भौतिक रूपले सफल बनाएको छौं । तर, वास्तविक विकास भनेको केवल भौतिक संरचनामा मात्र नभएर मानवीय मूल्य र भावनामा पनि हुनु पर्छ । गाउँलाई नयाँ दृष्टिकोणबाट हेर्न र शहरीकरणसँगै गाउँको माया, विश्वास र सद्भावको स्थान फर्काउन अझ बढी मेहनत गर्न आवश्यक छ । यदि हामीले सामाजिक र मानवीय विकासलाई प्राथमिकता दिने हो भने, हाम्रो गाउँलाई फेरि त्यस्तै समृद्ध र सुखमय बनाउन सकिन्छ, जसले भविष्यका पुस्ताका जीवनलाई अर्थपूर्ण र प्रगतिशील बनाउँछ ।
NAWALPUR TIMES
१३ वैशाख २०८२ १५:०६थप समाचार
लोकप्रिय (यो साता)
न्यूज अपडेट
-
रजहरमा भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक गम्भीर घाइते
-
दाउन्ने बजारमा वन क्षेत्र अतिक्रमण गरी बनाइएका ११ टहरा भत्काइए
-
दुम्किबास जंगलबाट १० क्युन्टलभन्दा बढी जंगली बँदेल र दुम्सीको मासु बरामद, चालक फरार
-
देवचुली नगर अस्पतालको सेवा अब नयाँ भवनबाट, पौष १४ गतेदेखि औपचारिक सुरुवात
-
खोरसोर बाट अलखोर
-
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै
-
नेपाली कम्युनिस्ट पार्टी नवलपुरको एकता सन्देश सभा आज कावासोतीमा हुने
Facebook Comment