नवलपुरमा सवारी दुर्घटनाको मुख्य कारण सडक र चालकको लापरबाही

सन्जय भट्टराई
प्रकाशित : २०८२ वैशाख १३ गते १२:५०
नवलपुरमा सवारी दुर्घटनाको मुख्य कारण सडक र चालकको लापरबाही

कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्यांक अनुसार नवलपुरमा  ३४.५२ प्रतिशत सवारी दुर्घटना सडकको अवस्था र ३२.१४ प्रतिशत चालकको लापरबाहीको कारणले भएका छ्न । यो तथ्यांक बर्सेनि उक्लिँदो छ। यसले हामीलाई आर्थिक तथा सामाजिक क्षति पुर्‍याइरहेको छ।

दुर्घटनाको प्रमुख कारण तीव्र गति, मादक पदार्थ सेवन, क्षमताभन्दा बढी यात्रु, सवारी चाप बढनु लगायत कारणको पनि प्रशस्तै चर्चा हुन्छ तर नवलपुरमा सरकारी तथ्य हेर्ने हो भने सवारी दुर्घटनाको मुख्य कारण सडक को अवस्था र चालकको लापरबाही  देखिएको छ ।

चालू आ.व ८१/८२ को ९ महिनामा जिल्लामा भएका ८४ वटा सवारी दुर्घटना मध्य ३४.५२ प्रतिशत अर्थात २९ वटा सवारी दुर्घटना सडक को अवस्था ३२.१४ प्रतिशत अर्थात २७ वटा दुर्घटना चालकको लापरबाहीको कारणले भएका हुन ।

जिल्लाको मुख्य सडक अर्थात पुर्व पश्चिम लोक मार्ग (गैँडाकोट-दाउन्ने ६४ किलोमीटर) विगत ५ वर्ष देखि बिस्तारको क्रममा रहेको छ । यहि बिस्तारको क्रममा रहेको सडकको कारणले जिल्लामा अधिकांश सवारी दुर्घटना हुने गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख यादव ढकाल बताउछ्न ।

बिस्तारको क्रममा रहेको सडकको अवस्था, सडकमै निर्माण सामाग्री छरपस्ट हुनु जस्ता कारणले समेत दुर्घटना बढिरहेको एसपी ढकालको भनाई छ । उनका अनुसार सडक बिस्तारकै क्रममा रहेकाले सडक बीच तथा छेउमा भएका धर्काहरू मेटिएको र पुनः कालोपत्रे गरिसकेपछि धर्का बनाउन बाँकी रहेकाले  चालकलाई लेनको स्थान अन्दाज गर्न गाह्रो हुँदा पनि दुर्घटना जोखिम बढेको हो ।

त्यसै गरि जिल्लाका प्रायः सडकहरु साँघुरा छन् । दुईवटा सवारी साधन एकैपटक छिर्न धौधौ पर्दछ, ग्रेडिङ मिलेको छैन । सडकहरु कच्ची छन्, घुम्तीहरु नजिक नजिकवाट काटिएका छन्, प्रायः घुम्तीहरुमा गाडी घुमाउनेसम्म ठाउँ पुग्दैन । पुराना सडकहरु जुन सदरमुकामसँग जोडिएका छन्, ती प्रायः मान्छेले खनेर बनाएका सडकहरु हुन् जतिखेर दिनमा एउटा वा दुईवटा मात्र गाडी गुड्ने गर्दथे । पछि तिनै सडकहरु ठेकेदारको जिम्मा लगाइयो र कालोपत्रे गरियो । तिनै सडकहरु अहिले दुर्घटनाको मुख्य कारण बनेका हुन ।

InShot 20250426 123421569

नवलपुरमा हुने गरेका सवारी दुर्घटनाको अर्को मुख्य कारण भनेको सवारी चालकको लापरबाहीनै रहेको छ । चालु आवको ९ महिनामा भएका ८४ दुर्घटना मध्य २७ वटा दुर्घटनाको मुख्य कारण सवारी चालकको लापरबाहीले भएको प्रहरीको तथ्यांकमा देखिएको छ ।

प्रहरीका अनुसार सवारी चालकले सवारीसाधन चलाउँदा मोबाइलमा कुरा गर्ने, नजिकमा बसेको यात्रुसँग कुरा गर्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, तिब्र गतिमा सवारी चलाउने आदि कारणले चालकको ध्यान साधनमा नभई अन्यत्र हुने हुँदा सवारी  दुर्घटना बढ्ने गरेको हो ।

चालकको लापरबाहीको कारणबाट हुने दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले  ९ महिनामा ट्राफिक नियम उलंघन गर्ने २५ हजार सवारी साधनलाई कार्वाही गरेको जनाएको छ । २५ हजार सवारी साधनका १ हजार ७ सय १७ जना सवारी चालक मादक पदार्थ सेवन गरेर सवारी चलाउदा कार्वाहीमा परेका थिए । ९ महिनाको अवधिमा ट्राफिक कार्वाहीबाट २ करोड १ लाख ८४ हजार ५ सय राजस्व संकलन गरेको प्रहरीले बताईरहदा सवारी चालकको लापरबाहीको कारण हुने दुर्घटनामा भने कमि हुन सकेको छैन ।

त्यसै गरि जिल्लामा सवारी दुर्घटनाको अर्को मुख्य कारण भनेको सवारी साधन आफै हुन । चालू आवमा भएका ८४ सवारी दुर्घटना मध्य १९ वटा दुर्घटना सवारी साधनको कारण भएको प्रहरीले जनाएको छ । प्रायः पुराना र थोत्रा सवारी साधनहरुमा समस्या आउने र दुर्घटनामा पर्ने गरेको पाइएको छ । आवश्यक मात्रामा सवारी साधनको सर्भिसिङ नगर्ने, यात्रुको सुरक्षा भन्दा पैसा कमाउनमा बढी ध्यान दिने गर्दा सवारी साधनको अवस्था बिग्रिने गरेको पाइन्छ । सवारी साधनको ब्रेक फेल हुने, टायर फुट्ने, टायर निस्कने जस्ता समस्याले गर्दा दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले उपलब्ध गराएको तथ्यांक अनुसार चालू आवमा ८४ वटा सवारी दुर्घटना हुँदा २७ जनाले ज्यान गुमाउँदा आ.व ८०/८१ मा १३५ दुर्घटनामा ४६ र आ.व ०७९/८० मा ७६ वटा सवारी दुर्घटनामा २९ ज्यान गुमाउँएका छ्न । सरकारी तथ्यांकले नै सवारी दुर्घटनाको मुख्य कारण सडकको अवस्था र चालकको लापरबाही र सवारी साधनको अवस्था  भएको भए पनि यसको न्यूनीकरणमा सम्बन्धित निकायको ध्यान भने गएको देखिदैन ।

सडकको अवस्था सुधार गर्न केही समय लागे पनि सवारी साधनको अवस्था र चालकको अवस्था मात्र सुधार गर्न सक्ने हो भने पनि सडक दुर्घटना कमीमा उल्येख्य सुधार ल्याउन सकिने देखिन्छ । यसमा सडक नियम पालना गराउन जिम्मा पाएको निकायको प्रमुख रुपमा तदरुकता हुनु आवश्यक छ ।

प्रकाशित : २०८२ वैशाख १३ गते १२:५०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI