लोकतन्त्र दिवस विशेष…..अनि मैले ‘फिजिक्स’ को उत्तरपुस्तिकामा राजतन्त्र ‘मुर्दावाद’ लेखें

रमेश बस्ताकोटी
प्रकाशित : २०८२ वैशाख ११ गते १०:१९
लोकतन्त्र दिवस विशेष…..अनि मैले ‘फिजिक्स’ को उत्तरपुस्तिकामा राजतन्त्र ‘मुर्दावाद’ लेखें

आज लोकतन्त्र दिवस हो , तत्कालीन राजा ज्ञानेन्द्र शाहको चरम निरंकुश शासन व्यबस्था बिरुद्द नेपाली जनताले गरेको बलिदानीपुर्ण संघर्ष पछि निरंकुश शाशकले नेपाली जनता सामु घुँडा टेकेर लोकतन्त्र प्राप्त भएको दिन बैशाख ११ गते ।

लोकतन्त्र प्राप्तिको लडाईमा संघर्षमा होमिएका सबैका आ-आफ्नै योगदान छन् , निरंकुश राजतन्त्रका कट्टर समर्थक बाहेक कुनै न कुनै रुपमा त्यो बेला जनाअन्दोलनम सबै जोडिएका थिए । निरंकुश शाशकको ‘जुठो’ खाएर जिउहजुरीमा मालिस गर्ने बाहेक सबैले निरंकुश शाशकको बिरोध गरेका थिए । किन भने लोकतन्त्र आफैंमा एउटा इतिहास हो। त्यो इतिहास केवल संविधानको पाना वा संसदको बहसमा मात्र होइन, हजारौं युवाको रगत, पसिना र आँशुमा लेखिएको सत्यकथा हो। लोकतन्त्र दिवसको अवसरमा ती दिनहरु स्मरण गर्दै म आफू संलग्न तीन वटा जीवन्त घटनाहरू प्रस्तुत गर्दछु, जसले नयाँ पुस्तालाई समेत लोकतन्त्रको मूल्य बुझ्न सहयोग गरोस् । लोकतन्त्र प्राप्तिका लागि भएका ती आन्दोलनहरुको मूल्य बुझ्न सहयोग पुगोस् । किनकी अहिले प्रतिगामी तत्वहरु सलबलाईरहेको बेलामा र निरंकुश राजतन्त्रका समर्थकहरुले टाउको उठाएर हिडिरहेको अवस्थामा यस्ता दृष्टान्तहरुले लोकतन्त्रलाई बलियो बनाउन सहयोग पुगोस् भन्ने उदेश्यपनी हो ।

घटना १
प्रतिगमनविरुद्धको आन्दोलनले एउटा आकार लिंदै थियो । हाम्रो टोली – म, रुपेश खनाल ( अहिले दिवंगत ) निराजन रिजाल ( अहिले दिवंगत ) अर्जुन अधिकारी, सुधन गौंली, गणेश भुषाल, प्रदीप अधिकारी लगायत – वीरेन्द्र क्याम्पस गेटमा जारी रिले अनशनमा कुरुवाका लागि खटिएका थियौं। त्यतिबेला नेबिसंघ जिल्ला समितिले अनसनकारीहरुको रेखदेख गर्ने जिम्मेवारी हामिलाई दिएको थियो । टोलिमा तरुणदलका साथिहरुपनी थिए । नेबिसंघको तत्कालिन नेतृत्वमा थिए विकास कोईराला, कैलाश कोईराला, जितनारायण श्रेष्ठ, उत्तम जोशी, राजीब न्यौपाने , मिलन लामिछानेजस्ता अग्रजहरू।

अनसनकारीहरुलाई कुर्ने ड्युटी गरेर भोलि पल्ट बिहान फिजिक्सको परीक्षा दिन बालकुमारी कलेज जानू थियो । आन्दोलनले एउटा मोड लिँदै गरेको अवस्था र आन्दोलन प्रतिको हाम्रो समर्पणको कारण हामी हामिलाई त्यो बेलामा परीक्षा उति महत्व लागेन , दिमागमा जसरी पनि ‘प्रतिगमन’ लाई परास्त गर्नु पर्छ भन्ने मात्र थियो । हाम्रो दिमाग आन्दोलनमै थियो । परिक्षाका गार्ड हुनुहुन्थ्यो – जगदिश्वर खनाल दाइ , उहाँ अहिले बालकुमारी कलेजका क्याम्पस प्रमुख हुनुहुन्छ । हामिले १५ मिनेटमै कापी बुझाउन खोज्यौं , आन्दोलनको ज्वाला मनमा दन्किरहेको थियो । १५ मिनेटमा कापी बुझाउन जगदिश दाईले दिनुभएन । उहाँले रोक्नुभयो। भोलि उत्तरपुस्तिका मार्फत आन्दोलनको मोर्चामा सहभागी हुने निर्णय हामिले अघिल्लो रात अनस्थलमानै गरेका कारण उत्तरपुस्तिकामा के लेख्ने भन्ने बारेमा हामिमा दुबिधा थिएन , त्यो बेलामा फिजिक्स को जाँच दिन गएका म , रुपेश र निराजनले उत्तरपुस्तिका को हरेक पानामा लेख्यौं:
‘प्रतिगमन मुर्दाबाद’
निरंकुश राजतन्त्र मुर्दाबाद’
‘लोकतन्त्र जिन्दावाद’
“अग्रगमन जिन्दावाद!”
एक घण्टा पछी हामीले कापी जगदिश दाईलाई बुझायौं । कापी पल्टाएर हेरेपछी जगदिश दाइ स्कुराउनुभयो। हामी फेरि अनशनस्थल फर्कियौ एउटा संकल्प र उर्जा बोकेर।

 

दोस्रो घटना : २०६३ बैशाख ४
त्यो दिन हामी लायन्सचोकबाट जुलुस निकाल्दै थियौं बालकुमारी, क्याम्पाचौर हुँदै शहीदचोक जाने तयारी थियो । अर्धभूमिगत शैली अपनाइरहेका थियौं किनभने मेनरोड सेनाले घेरेको थियो । ८/१० जना रोडमा निस्केर राजतन्त्र मुर्दाबाद भन्ने अनि सेनाले या प्रहरीले लखेटेपछी भाग्ने लुक्ने गर्दै जुलुस निकाल्दै बालकुमारी स्कुल आडमा रहेको सब्जी मन्डी पुग्यौं । तर सव्जीमण्डीमा पुग्नेबित्तिकै सेना आइहाल्यो म, प्रेम पाठक,(तत्कालिन नेबिसंघका नेता ) राहुल रिजाल र निराजन सेनाको निर्मम कुटाइमा पर्यौं। लत्रदै मण्डी आडको एउटा पसलमा पुगेर सटर थुनेर बसियो । हामी झण्डै गोलीको सिकार बन्ने अवस्थामा पुगेँका थियौं तर एक सिनियर अफिसरले रोकिदिए नत्र आज म यहाँ हुने थिइनँ। धेरै पछि सम्म पनि सेनाको बुटले हानेको त्यो लात्तिको महसुस भैरह्यो । अहिले अस्ट्रेलिया बस्ने प्रेम पाठक कहिलेकाही फोन गरेर अझैपनी यो घटना सम्झिरहन्छन् ।
यी मेरा व्यक्तिगत अनुभव हुन् । यस्ता कयौं अनुभव बोकेका साथिहरु छन् , अग्रजहरु छन् जसले लोकतन्त्र प्राप्तिका लागि लडें । ती सबै प्रती मेरो सम्मान छ । यस्ता अनगिन्ती कथाहरू देशभरि छन्। ती कथाहरूले लोकतन्त्र ल्याएको हो। लोकतन्त्र न कुनै उपहार हो, न त कुनै सुविधा। यो हजारौं भुईमान्छेहरूको बलिदान र समर्पणबाट प्राप्त अमूल्य सम्पत्ति हो।

आज हामी लोकतन्त्र दिवस मनाइरहेका छौं। आजको दिन सम्झने मात्र हैन संकल्प गर्ने दिन पनि हो । जनआन्दोलन २ को जगमा प्राप्त संविधान, अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार, पारदर्शी शासन र जवाफदेहिता सबैको रक्षा गर्नु हाम्रो कर्तव्य हो ।

अहिले वर्तमान अवस्थामा लोकतन्त्र प्रती प्रश्नहरु उठ्न थालेका छन् । वर्तमान ब्यवस्था प्रती प्रश्न उठेका छन् । यो राम्रो संकेत हैन । लोकतन्त्र को बिकल्प लोकतन्त्र नै हो । यसमा राजनीतिक दलका नेताहरुले ख्याल गर्नु पर्छ । मुलुक फेरि प्रतिगमन तर्फ जान सक्दैन यसका लागि पारदर्शी र जनउत्तरदायी शासन गर्नु दलका नेताहरुको पहिलो प्राथमिकता हुन पर्छ । माहोल बिग्रेको छैन , बिगार्ने वातावरण नबनोस् ।

लोकतन्त्र दिवसको सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना!

प्रकाशित : २०८२ वैशाख ११ गते १०:१९
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI