जाजरकोटबाट उद्धार ल्याईएको हिमाल गिद्ध (बायाँ) र सुर्खेतबाट उद्धार गरेर ल्याईएको हिमाल गिद्ध (दायाँ)
तस्बिर : सन्जय भट्टराई/नवलपुर टाईम्स
सन्जय भट्टराई, कावासोती । मृत्यु सत्य छ । त्यसमा कसैले बहस, विवाद, रोकावट या फिराद गरेर पार पाउन सकिंदैन । मानिसको होस् या पशुपक्षी र जीवजन्तुको, मृत्यु सत्य छ । जन्मसँगै मृत्यु लेखेर ल्याएको हुन्छ हरेक प्राणीले । हो यहि मृत्यु पर्खिरेहका छन कावासोतीको जटायु रेष्टुरेन्टमा रहेका दुई वटा हिमाली र एउटा सानो खेैरो गिद्ध ।
जटायु रेष्टुरेन्ट प्र्रवेश गर्न साथ दाहिने तर्फ रहेको जाली लगाईएको पिजँडा जस्तै ठाउँमा ३ वटा गिद्धहरु बाहिरी वातावरणमा रहेका अन्य गिद्ध भन्दा फरक तरिकाले राखिएको छ, उनीहरुले नियमित आहारा पाउछन, नजिकै पानी राखिएको पानी पिउछन तर उनीहरुले आकाशमा उडान भर्न छाडेको ४ वर्ष जति भयो ।
करीब ३ वर्ष अगाडी जाजरकोटमा बिरामी अवस्थामा फेला परेको करिब ७ वर्षको गिद्धलाई त्यहाँको डिभिजन वनको सहयोगमा जटायु रेष्टुरेन्टमा ल्याईएको हो भने अर्को हिमाली गिद्ध सुर्खेतमा बिरामी अवस्थमा फेला परेको जानकारी पाए पछि जटायु रेष्टुरेन्टको टोलीले उद्धार गरेर ल्याएको हो । अर्को सानो खेैरो गिद्ध भने पाल्पाको खैरेनी सामुदायिक वनबाट उद्धार गरेर ल्याईएको हो । सुर्खेतबाट उद्धार गरेर ल्याईएको काँक्रे बिहार आसपास बिरामी अवस्थामा फेला परे पछि स्थानियले खबर गरेका थिए । सुर्खेतबाट स्थानियले कोहलपुर सम्म ल्याएका थिए भने कोहलपुरबाट उक्त गिद्धलाई जटायुको टोलीले यहाँ सम्म ल्याएको हो ।
तीन वटै गिद्धलाई उद्धार गरेर यहाँ ल्याएर निरन्तर उपचार गरे पनि अब यिनीहरुको उपचार सम्भव नरहेको नेपाल पंक्षी संरक्षण संघका संरक्षण अधिकृत देउबहादुर रानाले बताए । रानाका अनुसार जाजरकोटबाट ल्याईएको हिमाली गिद्ध उडन नसक्ने छ भने सुर्खेतबाट उद्धार ल्याईएको मा आँखा नदेख्ने र उडन नसक्ने सम्स्या छ । त्यस्तै पाल्पाबाट उद्धार गरेर ल्याईएको गिद्ध ल्याउदा नै अत्यन्तै कमजोर रहेको र यहाँ ल्याएर उपचार गर्दा समेत सुधार हुन नसकेको हो ।
उनीहरुलाई यहाँ ल्याए पछि सम्भव भएका सबै खाले उपचार गरिएको भए पनि निको नहुने भएकाले आहारा खुवाएर पिजँडामा राखिएको राना बताउछन । ‘उनीहरूको विगत चार वर्षदेखि निरन्तर उपचार गरिरहे पनि आँखाको ज्योति फर्काउन र पखेटामा समस्या भएकालाई उड्न सक्ने बनाउन सकिएन, रानाले भने, ‘उनीहरूलाई अब बाचुन्जेल यही पिँजडामा राखेर रेखदेख गर्नुपर्ने भएको छ ।’ अहिले यी तीन वटा गिद्धहरुलाई जटायु रेष्टुरेन्टका हेरालुले दैनिक आहारा र पानी दिन्छन, यहाँका प्राविधिकले आवश्यक ठाने उनीहरुले बताएको औषधी दिन्छन, उनीहरु उडन सक्दैन मृत्यु पर्खिरेहका छन । यी गिद्धहरु जन्मजात बिरामी नभई हिमालबाट आउने क्रममा बिरामी परेका हुन् । कहिले खाना नपाएर, करेन्टमा परेर, मानिसले हानेर, असिनाले लागेर वा कहिलेकाहीँ झैझगडा गर्दा पनि गिद्ध घाइते भएको हुन सक्ने रानाले बताए ।
जटायु रेस्टुरेन्टले अहिलेसम्म दुई सयको हाराहारीमा बिरामी गिद्धको उपचार गरेको जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष एवं चराविद् डिबी चौधरीले बताए । गत वर्ष विष हालेर मरेका जङ्गली जनावर खाएर नवलपुरमै बिरामी परेका ६ वटा गिद्धलाई बचाउन सकिएको उनको भनाइ छ । यहाँ गिद्ध मात्र नभएर अन्य पन्क्षीहरुको पनि उपचार गरिरहेको बताए । ‘नेपालको कुनै पनि भागमा चिल, उल्लु र गरुड प्रजातिका पन्क्षी बिरामी भए भने स्थानीयले हामीलाई खबर गर्नुहुन्छ, हामी तत्काल गएर उद्धार गरी उपचार गर्छौँ, चौधरीले भने । अहिले देशभर ७ वटा गिद्धलाई आहार खुवाउने यस्ता रेस्टुरेन्ट सञ्चालनमा भए पनि उनीहरूको उपचार भने कावासोतीमा मात्र हुने गरेको चौधरीको भनाइ छ । अन्यत्र सञ्चालनमा भएका रेस्टुरेन्टमा बिरामी हुँदा उपचार गर्ने पद्धति नभएकाले यही ल्याएर उपचार गर्ने गरेको उनले बताए ।
Facebook Comment