कावासोती : कुनै बेला थियो विश्वमै दुर्लभ रहेको एक सिङ्गे गैँडा हेर्नका लागि वन्यजन्तु पारखीहरु चितवन पुग्नु पर्थ्यो । बाहय तथा आन्तरिक पर्यटकले चितवनको सौराहा पुगेर हात्ती सफारी वा जिप सफारी गरेर निकुञ्जको जंगल पसे पछि गैँडा सँगै विभिन्न वन्यजन्तुको अवलोकन गर्ने गरेका थिए ।
नवलपुरको मध्यवर्ती क्षेत्रका सामुदायिक वनहरुमा सन्चाल हुुने जीप सफारीमा सहजै गैँडा हेर्न पाईने भएकाले पछिल्लो समय गैँडा हेर्न खोज्ने पर्यटक नवलपुरमा बढदै गएका हुन । अमलटारी क्षेत्रमा जीप सफारी सन्चालन गर्दै आएका नेचर गाईड सुधन लम्सालका अनुसार चार वटा सामुदायिक वनमा जीप सफारीमा पर्यटकले १० भन्दा धेरै गैँडालाई नजिकबाट देख्ने गरेको बताए । अमलटारी क्षेत्रमा पर्ने गुन्द्रही ढकाहा, नमूना, शान्ती र कृष्णसार मध्यवर्ती वनमा वयवसायीले जीप सफारी गराउने गरेका छन । यो क्षेत्रका ४ वटा सामुदायिक वनमा अहिले पनि ३० देखि ४० वटा सम्म गैँडा रहेका छन । देवचुलीको पिप्रहर क्षेत्रबाट समेत अहिले ५ वटा जीपले जंगल सफारी गराउदैँ आएका शिशवार उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले बताए । यो क्षेत्रमा समेत सफारीको क्रममा सहजै ८ देखि १० वटा सम्म गैँडा सहजै फेला पर्ने गरेको पाण्डेले बताए ।
जंगल सफारीका लागी विदेशी सहित नेपाली पर्यटकहरु पनि रुचिका साथ आउने गरेका छन । अमलटारी होमस्टे स्थापना पछि २०७१ सालबाट यहाँका सामुदायिक वनहरुमा सुरु भएको जंगल सफारीमा गैँडा सँगै बाघ, भालु सहित विभिन्न प्रजातीका चराहरुको सहज अवलोकन गर्न सकिन्छ । २०७१ पछि अमलटारीबाट मध्यवर्ती वनमा जीप सफारी सुरु गर्दा व्यवसायीहरुमा दिगो हुदैन की भन्ने डर थियो तर यस क्षेत्रमा सफारीको क्रममा फेला पर्ने गैँडा सहितका अन्य वन्यजन्तु र विभिन्न प्रजातीका चराहरुको अवलोकन सहज हुदैँ गए पछि देश तथा तथा विदेशबाट पर्यटक आउने क्रम बढेको पर्यटन व्यवसायी एवं होमस्टे महासंघका केन्द्रीय अध्यक्ष प्रेम शंकर मर्दनियाले बताए । अमलटारीमा मात्रै अहिले विभिन्न पर्यटन व्यवसायीले २२ वटा जीप बाट सफारीको सुविधा दिदैँ आएका छन । अहिले अमलटारी क्षेत्रमा दैनिक १२० भन्दा धेरै पर्यटक जंगल सफारीका लागीका लागी आउने गरेका छन ।
चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा रहेका नवलपुरका सामुदायिक वनहरुमा जंगल सफारी सुरु गरेको केहि वर्षमै गैँडा हेर्नेहरुका लागी नवलपुर उत्कृष्ट गन्तव्य बनेको हो । वि.स २०७० को दशक अगाडी टेम्पल टाईगर, थारु भिलेज लगाएतका होटलहरुले निकुञ्जको कोर एरियामा विदेशी पर्यटकका लागी जंगल सफारी गर्ने गरेको भए पनि वि.स २०७० मा अमलटारी होमस्टेको स्थापना सँगै नवलपुरमा रहेका मध्यवर्ती वनहरुमा जंगल सफारीको सुरुवात भएको हो । वि.स २०७९मा चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको कोर एरियामा समेत नवलपुरको पिप्रहर र अमलटारीबाट जीप सफारीका लागी अनुमति दिए पछि निकुञ्ज भित्र समेत यहाँको अमलटारी र पिप्रहरबाट जीप सफारी सुरु भएको हो । अहिले चितवन राष्टिय निकुञ्जमा ६९४ वटा गैँडा छन । निकुञ्जको तथ्यांक अनुसार पश्चिम सेक्टरमा मात्रै ६५ प्रतिशत गैँडा रहेका छन ।
गैँडाकोटको शिख्रौली देखि त्रिवेणी सम्म पर्ने निकुञ्ज र यस्को मध्यवर्ती क्षेत्रमा अहिले संरक्षण सँगै पर्यापर्यटनका गतिविधि बढदै गएपछि यहाँका स्थानियहरु संरक्षण सँगै पर्यापर्यटनमा जोडिएका हुन ।
प्रकाशित : २०८१ कार्तिक ३० गते १४:१३
Facebook Comment