कार्तिक महिनामा मात्रै ४ वटा गैँडाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८१ कार्तिक १५ गते १२:१५
कार्तिक महिनामा मात्रै ४ वटा गैँडाको मृत्यु

सन्जय भट्टराई, कावसोती । चितवन राष्ट्रिय निकुञ्जमा कार्तिक महिनामा मात्रै ४ वटा गैँडाको प्राकृतिक कारणले मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार २०८१ कार्तिक महिनामा मात्रै चितवनमा ३ वटा र नवलपुरमा १ गरि ४ वटा गैँडाको मृत्यु भएको हो ।

गत कार्तिक ५ गते नवलपुरको मध्यविन्दु-१२ स्थित दाउन्ने देवि मध्यवर्ती क्षेत्रमा अन्दाजी २० वर्षको पोथी गैँडा, कार्तिक ६ गते चितवनको कलकत्ता टापुमा एउटा व्यस्क र एउटा बच्चा गैँडा र कार्तिक १३ गते निकुञ्जकै भिम्ले पोस्ट नजिक पोकली घोलमा २५ वर्षको पोथी गैँडा मृत फेला परेको सूचना अधिकारी मगरले जानकारी दिए ।

नवलपुरको मध्यविन्दुमा मृत फेला परेको गैंडा अर्को गैँडा सँग जुध्ने क्रममा घाइते भएर कम्जोर भएको थियो भने कलकत्ता टापुमा फेला परेका व्यस्क र बच्चा गैँडा नारायणीमा आएको बाढिले बगाएर मरेका थिए । पोकली घोलमा मृत फेला परेको गैँडा दलदलमा भासिएर मरेको मगरले बताए ।

मृत फेला परेका गैँडाको खाग खुर सुरक्षित रहेकाले ४ वटा गैंडाको मृत्युको कारण प्राकृतिक रहेको सूचना मगरले बताए ।यो सँगै चालू आवमा चितवन राष्ट्रिय निकुञ्जमा मृत्यु हुने गैँडाको संख्या १० पुगेको छ ।

उनका अनुसार चाडपर्वको समयमा दुर्लभ वन्यजन्तुको चोरी सिकार हुने तथ्यलाई मध्यनजर गरी गस्ती तथा स्विपिङ कार्यलाई निरञ्तरता दिई निकुञ्जको सुरक्षा बढाइएको छ । यो एक महिनाको अवधिमा निकुञ्ज भित्र गैरकानुनी गतिविधि गर्ने १० जनालाई नियन्त्रणमा लिएर आवश्यक कार्वाही गरिएको छ ।

कार्तिक महिनामा निकुञ्जमा वन्यजन्तुको आक्रमणमा परेर एक जनाको ज्यान गएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गतको नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं १ का जितबहादुर थिङको तीनचुली मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट मृत्यु भएको सूचना अधिकारी मगरले बताए ।

पछिल्लो गणना अनुसार नेपालमा ७५२ गैँडा रहेका छ्न भने चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छ्न

प्रकाशित : २०८१ कार्तिक १५ गते १२:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI