काशिराम महतो, कावासोती । आश्विन कृष्ण पक्षको सप्तमी अष्टमी र नवमी तिथिमा तीन दिन सम्म मनाईने थारु महिलाहरुको पर्व जितियाको दोस्रो दिन आज व्रतालु महिलाहरु निराहार व्रत बसेर मनाउदै छ्न ।
सन्तानको दीर्घ जीवन तथा पारिवारिक सुख शान्तिका लागि मनाईने यो पर्व नवलपुर, चितवन सहित पुर्वी र पश्चिम नेपालका थारु र मधेसी समुदायका महिलाहरुले पनि मनाउने गर्द्छ्न ।
थारु संस्कृति अनुसार सप्तमीको दिनलाई “लाहा खाएके”, अष्टमीको दिनलाई “उपास” र नवमीको दिनलाई “पारन” भन्ने गरिन्छ । सप्तमीको बिहान ब्रतालुहरु नजिकको खोला–नदीमा गई तोरीको पिना प्रयोग गरी नुहाउँछन् । नुहाइसकेपछि अलिकति तोरीको पिना घिरौलाको पातमा राखेर खोलामा बगाउने चलन छ । त्यस दिनभरि ब्रतालु चोखो बसी बेलुका फेरि खोलामा गई नुहाउँछन् । सोही राती कुखुरा नबास्दै “डट्खट” वा दर खाने गर्दछन् ।
अष्टमीको दिन बिहान सबेरै ब्रतालुहरु सबैजना खोला–नदीमा गई स्नान गर्छन् र अघिल्लो दिनझै पातमा पिना राखी बगाउँछन् । स्नान पछि ब्रतालुहरुले पानी पनि नखाई उपवास बस्छन् । त्यसदिन महिलाहरु नयाँ र चोखो कपडा लगाई दिनभरि नै झमटा नृत्यमा झुमेर रम्छन र सांझ पख ब्रतालुहरु फेरि खोलामा गई पिनाले नुहाई पातमा अलिकति पिना बगाउँछन् । सोही दिन सांझ एकै ठाउँमा जम्मा भएर भगवान जीतबाहनको कथा (जितिया ब्रत कथा) सुन्ने गर्दछन । कथा सकिएपछि सबै जना घर गएर फलाहार गर्छन् । त्यसलाई “फराहर” भन्ने गरिन्छ ।
नवमीको दिन सबेरै सबै ब्रतालु फेरि खोलामा नुहाएर खोलाको किनारमा निराकार प्रतिमूर्ति (जसलाई थारु भाषामा “गरग्वाङ” भनिन्छ) बनाएर मासको गेडाले पूजा गर्ने गर्दछन । खोलाबाट घर आइसके पछि व्रतालुहरु दहि चिउरा, केरा लगायतका खानेकुरा खान बस्छन् तर खानु भन्दा अगाडि गुइँठाको अङ्गारमा काठको धुप बाली सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई “पारन” भनिन्छ। त्यसपछि भने ब्रत सकिन्छ र ब्रत सकिएपछि अन्य परिकार माछा, मासु लगायत खान्छन् ।
पारनको दिन पनि दिनभरी झम्टा गीत र नृत्य गरिन्छ साथै सबैको घरबाट केरा, चिउरा, फलफूल जम्मा पारेर कथा भन्ने र पीपलको हाँगा काट्ने पुरुषलाई दिए पछि जितिया पर्व सकिन्छ ।
प्रकाशित : २०८१ असोज ९ गते १०:४४
Facebook Comment