सन्जय भट्टराई, कावासोती । वातावरणीय चक्र र खाद्य शृंखला सन्तुलित तथा गतिशील बनाउन महत्वपुर्ण भुमिका खेल्ने प्रकृतिको कुचीकार गिद्धका लागी जेठ महिना भने सकस पूर्ण हुने गरेको छ ।
विशृष गरेर अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले अत्यन्त लोपोन्मुख वर्गमा सूचीकृत गरेको डंगर गिद्धले कात्तिक–मंसिरदेखि गुँड बनाउन सुरु गर्ने र दुई महिनासम्म ओथारो बस्ने गर्दछ । पुस–माघमा बच्चा कोरल्ने गिद्धका बच्चा ४ महिनापछि उड्न तयार हुने गर्छन् । यति बेला गुँड छाडेर उड्न सिक्दै गरेका अथवा उडानको परीक्षणकालमा रहेका बचेरा राम्रो सँग उडान भर्न नसकी रुखमा ठोक्किने वा आहार जुटाउन नसकी घाइते तथा कमजोर भएर भुईँमा झरेको अवस्थामा भेटिन्छन् ।
गुँड छाडेर उड्न सिक्दै गर्ने यो समय गिद्धको जीवनचक्रमा संवेदनशिल समयको रुपमा हेर्ने गरिन्छ । नेपालमा पाईने ९ प्रकारका गिद्ध मध्ये यति बेला डङगर गिद्ध, सानो खैरो गिद्ध, सेतो गिद्ध, हिमाली गिद्ध र सुन गिद्धका बचेरा गुँड छोडेर उडान भर्न सिक्ने समय हो । नेपालमा डङगर गिद्धको संख्या धेरै भएकाले गुँड छोडेर उडने बेलामा खसेर घाईते भएका गिद्धका बचेरा मध्ये डङगर गिद्धका बचेराहरु धेरै रहेका छन ।
पछिल्लो समय जेठ महिनामा नवलपुरको कावासोतीमा रहेको जटायु रेष्टुरेन्टका प्राविधिकहरुले ४ वटा डङगर गिद्धका बचेराहरुको उद्धार गरेको संरक्षणकर्मी ईश्वरी चौधरीले बताए । उनका अनुसार ४ वटा मध्ये उपचार पछि २ वटालाई प्रकृतिमा छाडिएको र २ वटाको उपचार हुदै गरेको हो । नवलपुर मात्रै नभएर डङगर गिद्धका बचेराहरु गुँड छोडेर उडने क्रममा कपिलवस्तु र दाङमा समेत गरेर २ वटा डङगर गिद्धका बचेराहरुको उद्धार गरिएको नेपाल पंक्षी संरक्षण संघका परियोजना अधिकृत दिलिप चन्द ठकुरीले जानकारी दिए ।
४०/५० मिटरमाथि साज, सिमल र सालका रुखमा डंगर गिद्ध ओथारो बस्छ । त्यही गुँडमा पुस माघमा कोरलिएका बच्चा ४ महिना पछि उडने तयारीमा हुन्छन । सुरुमा गुँड आसपास रुखमा पहिले बचेरा हिँड्न सिक्छन् । त्यसपछि पखेटा उचाल्छन् । पखेटाको सहाराले उड्न खोज्छन् । उड्न सिक्दै गरेका बचेरा राम्रोसँग उडान भर्न नसकी रुखमा ठोक्किने वा आहार जुटाउन नसकी घाइते तथा कमजोर भएर भुइँमा झरेर घाइते हुन पुग्ने गरेका संरक्षणकर्मी ईश्वरी चौधरीले बताए ।
आमाले ल्याएको खानेकुराले पेट नभरिए पछि उडन पोख्त नभएका गिद्धका बचेरा खानेकुराको खोजीमा अलि पर पर उडन खोज्दा खसेर घाईते हुने गरेका नेपाल पंक्षी संरक्षण संघका परियोजना अधिकृत दिलिप चन्द ठकुरीले बताए । “नवलपुरमा खानाको समस्या छैन तर नेपालका अन्य क्षेत्रमा खानेकुराको खोजीमा निस्किएका बचेरा घाईते हुने गरेका छन”, उनले भने । त्यो बाहेक आमाको पछि लागेर उडने क्रममा दुरी लामो हुदैँ जाँदा बचेरा खसेर समेत भाईते हुने गरेका उनले बताए ।
यो समय बच्चा गुँडबाट निस्किएर उडन सिक्ने समय भएकाले पनि संवेदनशिल समय भएको चराविदहरु बताउछन । गुँडबाट निस्किएका गिद्धका बचेराले यो बेलामा उडन सिक्ने, रुखको एउटा हाँगाबाट अर्को हाँगा, एउटा रुखबाट अर्को रुखमा जाने अभ्यास गर्ने, पखेटा चलाउन सिक्ने समय भएकाले दुर्घटनाको जोखिम हुने चरा विद डा.हेमसागर बरालले बताए । “उडन अभ्यस्त नभएका गिद्धका बचेरा कहिलेकाहीँ आमाको पछाडी लागेर उडदा खसेर घाईते हुने मर्ने गरेका छन, संख्यामा घटना कम होला तर यो निकै संवेदनशिल कुरा हो”, डा. बरालले भने । यो समय उडानको परीक्षणकाल भएको र उनीहरुलाई खतराको आकलन नभएकाले उडने क्रममा गिद्धका बचेरा खसेर घाईते हुने मर्ने गरेको उनले बताए । त्यो बाहेक खानाको खोजी गिद्धका बचेरा एक ठाउँबाट अर्को ठाउँमा उडेर जाँदा खसेर घाईते हुने गरेका बरालले बताए । पंक्षी संरक्षण संघका परियोजना अधिकृत ठकुरीले बताए झै नवलपुरमा बाहेक नेपालको अन्य क्षेत्रमा गिद्धलाई आहाराको समस्या रहेको डा. बरालको तर्क थियो ।
प्रकाशित : २०८१ जेठ २३ गते १३:२०
Facebook Comment