१० महिनामा वन्यजन्तु आक्रमणका ४०२ घटना : एक करोड बढी राहत वितरण

NAWALPUR TIMES
प्रकाशित : २०८१ वैशाख ३० गते १८:०६
१० महिनामा वन्यजन्तु आक्रमणका ४०२ घटना : एक करोड बढी राहत वितरण

सन्जय भट्टराई, कावासोती । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्षको १०महिनामा वन्यजन्तुको आक्रमणका ४०२ वटा घटना भएका छन् ।

वन्यजन्तुको आक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने १२ जना सख्त र १५ जना सामान्य घाइते भएका छन् । वन्यजन्तुले पशु, गोठ र भण्डारण गरेर राखेका तथा खेतबारीका अन्नबालीमा पनि क्षति पुर्‍याएका छन् । निकुञ्जले वन्यजन्तुले पुर्‍याएको क्षतिपूर्ति बापत १ करोड ३३ लाख ९४ हजार ६ सय ९ रुपैयाँ राहत वितरण गरेको छ ।

दश महिनाको अवधिमा सबैभन्दा धेरै हात्तीको आक्रमणका ११२ वटा घटना भएका छन् । त्यस्तै गैँडाको ९७ बाघको ४२, चितुवाको ७७, जंगली बँदेलको ६९, मगर गोहीको २ वटा र अजिङ्गरको ३ वटा घटना भएको निकुञ्जले जनाएको छ ।

दश महिनाको अवधिमा गैँडाले पुर्‍याएको क्षतिबापत ४९ लाख १ हजार १ सय २३, हात्तीले पुर्‍याएको क्षतिबापत १७ लाख ८३ हजार ६ सय १०रुपैयाँ राहत वितरण गरिएको छ । बाघले पुर्‍याएको ३९ लाख ६८ हजार ७ सय ८९, क्षतिबापत ३६ लाख २३ हजार, भालुले गरेका क्षतिबापत चार लाख ८५ हजार, चितुवाले गरेको क्षतिबापत ११ लाख ६१ हजार ७ सय १०, जंगली बँदेलले गरेको क्षतिबापत ५ लाख ३५ हजार ८ सय ५० रुपैयाँ राहत वितरण भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार उक्त राहत सबै प्रकृतिका क्षतिबापतको रकम हो ।

चालू चाल आवको १० महिनामा गैँडा र बाघको आक्रमणबाट ३/३ जना र मगरगोहीको आक्रमणबाट १ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेहरुका परिवारलाई जनही १० लाखका दरले ७० लाख रूपैयाँ राहत हस्तान्तरण गरिएको छ । सख्त घाइतेहरुलाई १९ लाख ६६ हजार ४ सय ३२ र सामान्य घाइते भएकालाई १ लाख ५७ हजार ३ सय ४२ रुपैयाँ राहत वितरण गरिएको तिवारीले बताए ।

यो अवधिमा निकुञ्जले १ सय ४२ वटा पशुधनको क्षतिबापत २० लाख ९५ हजार २ सय १०, भण्डारण गरेको अन्नको क्षतिबापत ८५ हजार, ३१ वटा घरगोठको क्षतिबापत ४ लाख ९६ हजार ९ सय ७५ र खेतमा लगाइएको अन्नबालीको क्षतिबापत १५ लाख ९३ हजार ६ सय ५० रुपैयाँ राहत दिइएको तिवारीले बताए ।

गत आर्थिक वर्ष ०७९/८०मा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गत वन्यजन्तुको आक्रमणका ८५६ वटा घटना दर्ता भएका थिए भने वन्यजन्तुको आक्रमणबाट १२ जनाको मृत्यु भएको थियो

प्रकाशित : २०८१ वैशाख ३० गते १८:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI