नवलपुरमा २ सय ८४ क्षयरोगका बिरामी फेला

NAWALPUR TIMES

नवलपुरमा २ सय ८४ क्षयरोगका बिरामी फेला
chhyarog

कावासोती । नवलपुरमा चालु आवको माघ मसान्तसम्म २ सय ८४ जना क्षयरोगी थपिएका छन् । तीमध्ये १ सय ९७ जना पुरुष र ८७ जना महिला रहेका छन् ।नयाँ क्षयरोगी मध्य २.८ प्रतिशत बालबालिका रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका आठ वटा पालिकामा सबैभन्दा धेरै कावासोती नगरपालिकामा ६४ जना भेटिएका छन् । त्यसैगरी गैंडाकोटमा ६२ जना, देवचुलीमा ५१ जना, मध्यविन्दुमा ३९ जना र विनयी त्रिवेणी गाउँपालिकामा २९ जना भेटिएका हुन् ।

यसैगरी हुप्सेकोटमा २८ जना, बुलिङटार गाउँपालिकामा ७ जना र सबैभन्दा कम बौदीकाली गाउँपालिकामा ४ जना क्षयरोगी रहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ । गत वर्ष यो संख्या ५ सय ४६ थियो । त्यस अघिको वर्ष ५ सय २९ रहेको थियो । आउँदो असारसम्ममा यो संख्या गत वर्षकै हाराहारीमा पुग्ने अनुमान गरिएको छ ।

यसै बिच क्षयरोग संक्रमणका कारण साउन देखि माघ सम्म जिल्लामा १० जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्य सात जना पुरुष र तीन जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख मुक्ति भट्टराईले बताए ।

जिल्लामा देखिएका क्षयरोगीहरूमध्ये ९४ दशमलव चार प्रतिशत रोगीको सफल उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका क्षयरोग फोकल पर्सन डिल्लीराम तिवारीले बताए । उनका अनुसार जिल्लामा गत आर्थिक वर्ष आर्थिक वर्ष २०७९/८० मा पाँच सय ४६ जनामा क्षयरोग भेटिदा २१ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०७८/७९ मा पाँच सय २९ क्षयरोगी भेटिदा १९ जनाका मृत्यु भएको भने आर्थिक वर्ष २०७७/७८ मा जिल्लामा चार सय १६ जनामा क्षयरोग देखिएकोमा १८ जनाको मृत्यु भएको थियो ।

यसै बिच आज विश्व क्षयरोग दिवस “हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ” भन्ने नारा सहित नेपाल लगाएता संसार भर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईँदैछ । हरेक वर्ष क्षयरोग निवारणका लागि विभिन्न कार्यक्रम गर्दै मार्च २४ तारिखका दिन यो दिवस मनाउने गरिएको छ ।

क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुन्छ ।

एक जना क्षयरोगीले समयमा औषधि नगर्दा एक वर्षमा अरु १० देखि १५ प्रतिशतलाई रोग सार्ने चिकित्सकहरुले बताएका छन् । सक्रिय खालको क्षयरोग भएको व्यक्तिमा लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, ज्वरो आउने, रातीमा पसीना आउने, थकाई लाग्ने, तौल कम हुँदै जाने जस्ता समस्या केही दिन या केही महिना सम्म देखिन्छ ।

यस्तो बेला तत्काल परिक्षण गराएर औषधी शुरु गरिहाले रोगबाट जोगिन सकिने चिकित्सकको सुझाव छ । क्षयरोग सजिलै उपचार हुने रोग भएकाले रोग लागेको थाहा हुनेबित्तिकै नियमीत औषधी सेवन गरे यसबाट जोगिन सकिन्छ ।

औषधि नियमित खान छोडे कडा खालको संक्रमण हुने र ज्यानै जाने सम्भावना हुने भएकाले औषधिको नियमीततामा स्वास्थ्यकर्मीले जोड दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology