एसियन खेलकुदमा नेपाल : ७२ वर्षमा दुई रजत र २२ कांस्य

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ २३ गते ८:५५
एसियन खेलकुदमा नेपाल : ७२ वर्षमा दुई रजत र २२ कांस्य
khaladi tasbir2023 09 09 07 56 00

कावासोती । एसियन खेलकुद प्रतियोगिता (एसियाड)लाई यस क्षेत्रका खेलाडीहरूले ‘मिनी ओलम्पिक’का रूपमा लिन्छन् । खेलकुदकै सबैभन्दा ठूलो प्रतियोतिगा ओलम्पिक हो । यसमा सहभागी हुन नसक्ने खेलाडीले एसियाडमा आफ्नो प्रतिभा देखाउन अवसर पाउँछन् । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)मा आबद्ध सबै राष्ट्रले अनिवार्य रूपमा सहभागिता जनाउनुपर्ने भएकाले एसियाडमा को बलियो वा कमजोर भन्ने रहँदैन । सबै खेलाडी एकै लेभलमा प्रतिस्पर्धा गरिरहेका हुन्छन् ।

तर, चीन, जापान, दक्षिण कोरिया, इरान, थाइल्यान्ड, भारत, अफगानिस्तान तथा साउदी अरेबियाजस्ता राष्ट्रले एसियाडलाई ओलम्पिकको तयारीका रूपमा लिने गरेका छन् । उनीहरूले ओलम्पिकमा पदक जित्ने सम्भावित खेलाडीलाई थप एक्सपोजर गर्न एसियाडमा पठाउने गरेका छन् । यसबाहेक राष्ट्रहरूले एसियाडमा आफूभन्दा बलिया खेलाडीविरुद्ध म्याच अनुभव बटुल्न प्रतिस्पर्धा गर्छन् । र, त्यहीअनुसारकै खेलाडी उनीहरूले उतार्ने गरेका छन् । समग्र पूरै एसियनबीच होडबाजी चल्ने प्रतियोगिता भएका कारण सहभागी सबै खेलाडी उत्साहित हुन्छन् ।

निर्धारित समयभन्दा एक वर्षपछि १९औँ एसियाड चीनको होङझाउमा हुँदै छ । असोज ४ देखि हुने प्रतियोगितामा नेपालले सहभागिता जनाउनेछ । आयोजक चीनले ४० खेलमा चार सय ८१ इभेन्ट्स समावेश गरेको छ । यसपटक नेपालले २९ खेलमा दुई सय ३४ खेलाडीलाई मैदानमा पठाउनेछ । एसियाडको इतिहासमा नेपालले पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । सन् १९५१ मा भारतको नयाँदिल्लीमा भएको पहिलो संस्करणमा नेपालले भाग लिएको हो । नेपालले सन् १९५४ र १९६२ को संस्करणमा भाग लिएन । यसबाहेक सबै संस्करणमा नेपालले प्रतिस्पर्धा गरेको छ । समग्रमा नेपालले १६ संस्करणमा भाग लिएको छ ।

नेपालले सन् १९८६ मा मात्र पदक जित्यो । दक्षिण कोरियाको सोलमा आयोजना भएको एसियाडमा नेपालले आठ कांस्य हात पारी सनसनी मच्चायो । एसियाडमा सर्वाधिक ठूलो पदक नै रजत हो । नेपालले यो दुईपटक जितेको छ । सन् १९९८ मा तेक्वान्दोमा सविता राजभण्डारीले पहिलोपटक नेपाललाई रजत दिलाइन् । यसको २० वर्षपछि नेपालले अर्को रजत गत संस्करण इन्डोनेसियामा भएको एसियाडमा हात पा¥यो । प्याराग्लाइडिङको टिम इभेन्ट्समा नेपालले रजत जितेको थियो । यी दुईबाहेक नेपाल अन्य संस्करणको स्वर्णनजिक पुगेको छैन । एसियाडमा नेपाललाई अहिलेसम्म तेक्वान्दो, बक्सिङ, कराँते र प्याराग्लाइडिङले मात्र पदक दिलाएका छन् । अन्य खेलका खेलाडीले केवल सहभागिताका लागि प्रतिस्पर्धा गरेका देखिन्छन् । समग्रमा नेपालले १६ पटक एसियाड खेल्दा दुई रजत र २२ कांस्य जितेको छ ।

पछिल्ला तीन संस्करण बक्सिङ, कराँते र प्याराग्लाइडिङले जोगाए
एसियाडको पछिल्ला तीन संस्करणमा तीन खेलले नेपालको इज्जत रक्षा गरेको छ । सन् २०१० मा चीनको ग्वाङझाउमा नेपाललाई एक मात्र पदक बक्सिङका दीपक महर्जनले दिलाएका थिए । त्यसवेला सहभागी अन्य खेलका खेलाडीले निराशाजनक प्रदर्शन गरिरहँदा अन्तिममा महर्जनले नेपालको इज्जत रक्षा गरेका थिए । दीपक अहिले बक्सिङका प्रशिक्षकका रूपमा कार्यरत छन् । सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको संस्करणमा कराँतेले कांस्य पदक जितेको थियो ।

यद्यपि, यो विवादास्पद बन्यो । कराँतेमा राष्ट्रिय मान्यता र अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेलाडी एसियामा नेपालले पठाएको थियो । प्रतिस्पर्धाको अन्तिम समयमा नेपाल ओलम्पिक कमिटीले मान्यता दिएको नेपाल कराँते संघबाट विमला तामाङलाई रिङमा उतारेको थियो । उनले नेपाललाई एक मात्र कांस्य दिलाइन् । गत संस्करणमा एक मात्र पदक प्याराग्लाइडिङले दिलाएको थियो ।

एकै संस्करणमा आठ कांस्य
सन् १९८६ अघिका संस्करणमा नेपाली खेल केवल सहभागितामै सीमित भए । आधुनिक किसिमको तयारी नहुँदा खेलाडीले सोल एसियाडअघि पदक नै जित्न सकेनन् । उनीहरू पदकनजिकसम्मै पुगेनन् । मार्सल आट्र्स एसियाडमा समावेश भएपछि नेपालको पदक जित्ने आशा जाग्यो । १०औँ संस्करणमा नेपाली खेलाडीले चामत्कारी प्रदर्शन नै गरे । तेक्वान्दो र बक्सिङका खेलाडीले समग्रमा आठ कांस्य जिते । एसियाडमा पदक संख्या गणना हुँदा यही संस्करण अहिलेसम्मकै उत्कृष्ट मानिएको छ । बक्सिङका दलबहादुर रानामगर, तुलबहादुर थापा,सुशील पोखरेल र मनोजबहादुर श्रेष्ठले कांस्य जिते । तेक्वान्दोका राजकुमार राई, विधान लामा, रामबहादुर घर्ती र राजकुमार बुढाथोकीले पनि नेपाललाई कांस्य दिलाए ।

२७ अंकले पछाडि रहँदा स्वर्णबाट वञ्चित
सन् २०१८ मा इन्डोनेसियाले आयोजना गरेको एसियाडमा नेपाल स्वर्णपदक हात पार्न निकै थोरै अंकले पछाडि परेको थियो । जाकार्तामा नेपाली पुरुष प्याराग्लाइडिङ टोलीले फाइनल चरणमा स्थान बनाएको थियो । खेलको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली खेलाडी चुकचुकाएका थिए । जापानसँग केवल २७ अंकले पछि रहँदा नेपाल ऐतिहासिक स्वर्ण पदकबाट वञ्चित भयो । प्याराग्लाइडिङमा पहिलो र दोस्रोबीचको यो अंक अन्तर विरलै आउने गर्छ । जापानले स्वर्णमाथि कब्जा जमाउँदा ११ हजार तीन सय ९१ अंक हात पारेको थियो । रजत पदकमा सीमित नेपालले ११ हजार तीन सय ६४ अंक बनायो । क्रस कन्ट्री इभेन्टमा नेपाललाई विमल अधिकारी, विजय गौतम, सुुशील गुरुङ, युकेश गुरुङ र विशाल थापाले रजत पदक दिलाएका थिए ।

लगातार पदक जित्ने एक मात्र खेलाडी विष्ट
एसियाडको इतिहासमा लगातार दुई संस्करणमा पदक जित्ने एक मात्र नेपाली खेलाडी तेक्वान्दोका दीपक विष्ट हुन् । उनले सन् २००२ को दक्षिण कोरियाको बुसानमा भएको एसियाडमा कांस्य जितेका थिए । करिअरकै उत्कृष्ट लयमा रहेका विष्टले चार वर्षपछि कतारको दोहामा आयोजना भएको एसियाडमा प्रतिपस्पर्धा गरे । उनले तेक्वान्दोबाट थप एक कांस्य जित्दै आफ्नो नाममा रेकर्ड बनाए ।

एसियाडमा विष्टले राखेको रेकर्ड अहिलेसम्म अन्य नेपालीले तोड्न सकेका छैनन् । दोहा एसियाडमा उनी आयोजक कतारका खेलाडीसँग निर्णायकका कारण पराजित भएका थिए । त्यसवेला उनी आफ्नो तौल समूहमै स्वर्णका दाबेदार मानिएका थिए । तर, अफिसियलले अंक नदिँदा उनी कांस्य पदकमै सीमित भए । त्यही संस्करणमा तेक्वान्दोका मनीष शाही र आयुषा शाक्यले कांस्य जितेका थिए ।-नयाँ पत्रीका

प्रकाशित : २०८० भदौ २३ गते ८:५५
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI