कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार विश्वासको मत लिँदै छन् । यही प्रयोजनका लागि सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार दिउँसो २ बजेका लागि संसद बैठक आह्वान गरेका छन् ।
काँग्रेस, माओवादी र एकीकृत समाजवादी समेत ३५ सांसदको समर्थनमा पाण्डे वैशाख १४ मा मुख्यमन्त्री नियुक्त भएका थिए । १५ गते सपथ लिएर पाण्डेले कार्यभार सम्हालेका थिए । सत्तारुढ कांग्रेस संसदीय दलको बैठक बुधबार बसेको छ। विश्वासको मतका लागि मुख्यमन्त्री पाण्डेले दलको नेताका हैसियतमा ह्विप जारी गरेका छन् । संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त पाण्डेले उपधारा (४) अनुसार विश्वासको मत लिन लागेका हुन् ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, माओवादीको ८ तथा एकीकृत समाजवादीको १ सिट छ । माआ ेवादीबाट सभामुख बनेका कृष्ण धितालले मतदान गर्न पाउदैन्न। प्रतिपक्षमा रहेका एमालेसँग २२ र राप्रपासँग २ गरी २४ मत छ ।
मुख्यमन्त्री पाण्डेले विपक्षी दलहरुलाई मंगलबार नै पत्र पठाएर विश्वासको मत मागेका छन् । मंगलर नै बसेको नेकपा एमालेको संसदीय दलको बैठकले विपक्षमा मत दिन ह्विप जारी गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री पाण्डे बिहीबार विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने मुडमा छन् । मन्त्रालय घटे पनि आकांक्षी धेरै भएका कारण पाण्डेलाई मन्त्रि परिषद विस्तार गर्न त्यति सहज छैन । हाल माओवादी र कांग्रेसबाट १÷१ जना बिनाविभागीय मन्त्री बनेका छन् । अब माओवादीबाट थप १ जना र बाँकी मन्त्री कांग्रेसबाट बनाउने सोचमा मुख्यमन्त्री छन् । एकीकृत समाजवादीमा गएका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङें) पनि मन्त्री बन्ने लाइनमा बसेका छन् । यो विषयलाई केन्द्रले नै टुंग्याउने भएकालेयसमा मुख्य मन्त्री पाण्डेले त्यति वास्ता गरेका छैनन् ।
पार्टीभित्रै गुट व्यवस्थापनदेखि लैंगिक, जातीय र भौगोलिक सन्तुलन मिलाउन पाण्डेले ठूलै कसरत गर्नुपर्ने छ । अनि मन्त्रालय भागबन्डामा समेत माओवादीको चित्त बुझाउनुपर्ने दायित्व उनैलाई छ । स्याङ्जाकी सरस्वती अर्याल कांग्रेसको संस्थापन समूहबाट मन्त्री बन्दा संस्थापन इतरका भोजराज अर्याल र कल्पना तिवारीको बाटो छेकिएको छ । भोजराज अर्यालको नाम मन्त्रीका लागि आउँदा मुख्यमन्त्री पाण्डेले चासो कम दिएको बताइएको छ । त्यसो हुँदा शेखर गगन समूहबाट नवलपुरका महेन्द्रध्वज जिसी मन्त्रीका प्रबल दाबेदार हुन् । कास्कीका बिन्दुकुमार थापा अघिल्लो कार्यकालमै मन्त्री भइसकेकाले दोहोर्याउन नहुनेभन्दै आवाज उठाइएको छ । पार्टी सभापति आफ्नो पक्षमा हुँदाहुँदै मन्त्रीमा रोक्न खोजिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । तनहुँका जीतप्रकाश आले मन्त्रीका लागि आकांक्षी भए पनि सकारात्मक संकेन नपाएपछि रुष्ट छन् । लमजुङका डा. टकराज गुरुङ र बागलुङका जीत शेरचनको नाम मन्त्रीका लागि अलि बढी चर्चामा छ । त्यसो त बागलुङकै दीपेन्द्र थापा र डिल्लीराम सुवेदीको कसरत पनि कम्तीको छैन । संसदीय दलको चुनावमा पाण्डेलाई सघाएका पुर्व मन्त्री मुस्ताङका रोमी गौचनले पनि आफूले भनेको १ जना मन्त्री बन्नु पर्ने अडानमा छन् । संसदीय दलको प्रमुख सचेतक, विषयगत समितिमा पनि कम्तीमा ३ जनाको व्यवस्थापन हुनसक्छ । मुख्यमन्त्री पाण्डेले अहिले बन्ने मन्त्री पूरै कार्यकालका लागि नभएर अरुलाईपनि पालो दिने भन्दै सांसदहरुलाई थमथमाएका छन् ।
उसो त नीति तथा योजना आयोग, मुख्य न्यायाधिवक्ताको नियुक्ति पनि मुख्यमन्त्रीले गरेका छैन । मुख्यमन्त्रीको सचिवालयले समेत पूर्णता पाएको छैन । विश्वासको मत लिएपछि सबै कामलाई तिब्रता दिने उनले बताएका छन् । पहिला सरकारको
न्युनतम साझा कार्य क्रम ल्याउने र त्यसैका आधारमा नीति तथा कार्यक्रम बनाउने गरी मुख्यमन्त्रीले सांसदहरुलाई बाँडफाँट गरिसकेका छन् ।
प्रकाशित : २०८० वैशाख २१ गते १४:२४
Facebook Comment