पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेद्वार बन्नका लागि गोरखा कांग्रेसले नेता सुरेन्द्रराज पाण्डेलाई सर्वसम्मत सिफारिस गरेको थियो । गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भएर प्रतिनिधि सभाको सांसद बन्न चाहन्थे उनी । तर माओवादीले गोरखा २ बाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उम्मेद्वारका रुपमा उठाउने निर्णय गर्यो । सर्वसम्मत सिफारिस भएका पाण्डेलाई गण्डकीको मुख्यमन्त्री बनाउने सर्तमा प्रदेशको उम्मेद्वार बनाइयो । गोरखामा गठबन्धनले सानदार जित निकाल्यो । तर निर्वाचनको गठबन्धन सरकार गठनका समयमा टुट्यो । मुख्यमन्त्री बन्नका लागि काठमाडौंबाट पोखरा उडेका पाण्डे चढेको जहाज पोखरा ल्यान्ड नहुँदै राजनीतिक घटनाक्रम फेरियो । उनले तत्कालीन समयमा भनेका थिए, ‘म चढेको प्लेन पोखरामा सुरक्षित अवतरण भयो तर राजनीति क्र्यास भयो ।’ सोही समयमा पाण्डेले तत्कालीन समयमा बनेको गठबन्धन लामो समय नटिक्ने आँकलन गरेका थिए । भयो त्यस्तै ।
करिब साढे ३ महिनापछि सत्ता गठबन्धन टुट्यो र नयाँ समीकरण बन्यो । पाण्डे नयाँ समीकरणका कारण गण्डकीको सत्ता नेतृत्वमा पुगेका छन् । उनलाई बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । वैशाख ९ गते मुख्यमन्त्री खगराज अधिकारीको सरकार ढलेपछि मंगलबार प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरुलाई समय दिएका थिए । पाण्डेले बिहीबार नै बहुमतसहित मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । पाण्डेलाई कांग्रेसका २७, माओवादीका ७ (सभामुख बाहेक) र एकजना स्वतन्त्र गरी ३५ सांसदको समर्थन छ । गण्डकीको नेतृत्वमा माओवादीको समेत दाबी थियो । तर केन्द्रबाट नै पहिलो कार्यकाल कांग्रेसले नेतृत्व गर्ने निर्णय पठाए पछि माओवादीले कांग्रेसका पाण्डेलाई समर्थन गरेको हो । माओवादीबाट दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्री दाबी गरेका थिए । गण्डकीको मुख्यमन्त्री आलोपालो हुने सहमति छ ।
यसअघि खगराज अधिकारी नेतृत्वको सरकार १ सय ५ दिनमै ढलेको हो । पुस २५ गते माओवादी र राप्रपा समेतको समर्थनमा मुख्यमन्त्री बनेका अधिकारीलाई माओवादीले दिएको समर्थन चैत १० गते झिकेको थियो । राष्ट्रपति निर्वाचनका कारण देशमा राजनीतिक समीकरण फेरिएको हो ।
मन्त्रालय बढ्दैनः पाण्डे
मुख्यमन्त्रीको नियुक्ति भएपछि पत्रकारसँग कुरा गर्दै पाण्डेले गण्डकीमा मन्त्रालय थप नहुने बताएका छन् । अहिले गण्डकीमा ७ मन्त्रालय छ । यसअघिको सरकारले १२ मन्त्रालय घटाएर ७ मा झारेको थियो । नयाँ गठबन्धनपछि मन्त्रालयको संख्या बढ्ने आँकलन धेरैले गरिरहेका बेला पाण्डेले यही मन्त्रालयको संख्या यथावत रहने बताएका हुन् । ‘मन्त्रालयको संख्या ७ वटाबाट बढ्दैन,’ पाण्डे भन्छन्, ‘मन्त्रीपरिषद् छिट्टै पूर्ण हुन्छ । लामो समय जाँदैन ।’
उनले शुक्रबार केही मन्त्रीहरु सहित सपथ लिने र छिटै मन्त्रीपरिषद् विस्तार गर्ने प्रतिक्रिया दिए । ‘एक्लै नभई केही साथीहरु लिएर सपथ लिन्छु । गठबन्धन दलसँग समन्वय गरेर मन्त्रीपरिषद् विस्तार हुन्छ,’ उनले भने, ‘दलहरुबीच न्यूनतम साझा कार्यक्रम तय गर्छौं र बजेटको पनि छलफलमा प्रवेश गर्छौं ।’ पाण्डेले अहिले बनेको गठबन्धन पूरै समय जाने र मुख्यमन्त्रीमा आलोपालो हुने बताए । ‘यो संसदको जति समय बाँकी छ, त्यो समयसम्म यो गठबन्धन रहन्छ । हामी आलोपालोमा सरकार चलाउछौं,’ अघि थपे ।
कृषि, पर्यटन र जलविद्युतको क्षेत्रलाई प्राथमिकता दिएर बजेट र नीति तथा कार्यक्रम बनाउने उनको प्रतिबद्धता छ । ‘जमिनहरु बाँझा छन् । घरहरु रित्तो छन् । धेरै युवाहरु विदेश गएका छन्,’ पाण्डेले भने, ‘सरकारको तर्फबाट के सहयोग गरे उनीहरु देशमै रहन सक्छन्, त्यस्तो कार्यक्रम ल्याउछौं ।’ नयाँ मुख्यमन्त्रीको सपथ शुक्रबार सवा १२ बजे हुने बताइएको छ ।
को हुन् पाण्डे ?
गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विद्यार्थी राजनीतिबाट उदाएका हुन् । २०२१ भदौ ९ गते जन्मिएका उनी २०३६ सालमा नेविसंघको सदस्यता लिएर विद्यार्थी आन्दोलनमा लागेका हुन् । २०३९ सालमा नेविसंघ अस्कल इकाइ सचिव हुँदै २०४५ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति निर्वाचित भए । २०३७ सालमा अमरज्योती जनता मावि गोरखाबाट एसएलसी उत्तीर्ण गरेका पाण्डेले त्रिभुवन विश्वविद्यालबाट स्नातक गरेका छन् ।
२०४९ मा नेवि संघको केन्द्रीय सदस्य समेत भएका पाण्डे २०५९ मा नेपाल तरुण दलको महासचिव बने । हाल तेस्रो पटक नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित उनीसँग २०७४ साल मा राष्ट्रिय सभामा सांसद रही नेपाली कांग्रेसको तर्फबाट प्रमुख प्रतिपक्ष दलको नेता बनेर काम गरेको अनुभव छ । २०७९ मंसिर ४ गतेको निर्वाचनबाट उनी गोरखा २ (ख) बाट निर्वाचित भएका थिए । पाण्डेले २०४५ साल र २०६१ सालमा गरी झण्डै ८ महिना जेल सजाय ब्यहोरेका छन् ।
मन्त्री को को ?
मुख्यमन्त्री पाण्डेले आँफूसँगै माओवादीबाट १ जना र कांग्रेसबाट थप १ जनालाई सरकारमा लैजान चाहेका छन् । तर मन्त्रीहरुको नाम अझै टुंगिएको छैन । दुवै दलहरु आन्तरिक छलफलमा छन् । कांग्रेसबाट अधिकांश सांसद मन्त्रीको दौडमा छन् । तर पहिलो चरणमा कसलाई पठाउने भन्ने छलफल भइरहेको छ । स्रोतका अनुसार लमजुङका टकराज गुरुङ र नवलपुरका महेन्द्रध्वज जिसीमध्ये एकजनालाई पहिलो चरणमा मन्त्री बनाउने सम्भावना बढी छ । कांग्रेसभित्र पनि समूहगत छलफल भइरहेको छ । शेखर समूहबाट जिसीको नाम बढी चर्चामा छ । त्यसो त बागलुङका डिल्लीराम सुवेदी र कास्कीका प्रकाश बराल पनि उत्तिकै दाबेदार हुन् । शेरबहादुर देउवा समूहबाट टकराज गुरुङसँगै महिलामा सरस्वती गुरुङ र सरस्वती अर्याल दौडमा छन् । मुख्यमन्त्री पाण्डेले मन्त्री चयन गर्दा भूगोल, लिंग, समुदाय लगायत सबै ढंगबाट व्यवस्थापन मिलाउने प्रतिबद्धता जनाएका छन् ।
माओवादीबाट पहिलो चरणमा गोरखाकी शुशीला सिंखडा मन्त्री बन्ने सम्भावना छ । दलका नेता हरिबहादुर चुमान नै मन्त्री बन्ने सम्भावना टरेको छैन । तर माओवादी स्रोतका अनुसार उनी पछि मुख्यमन्त्री बन्ने भएका कारण अहिले मन्त्री नबन्न दबाब बढेको छ । त्यसो हुँदा सिंखडालाई पठाउने बुझिएको छ । तर यसअघिकै मन्त्री रेशम जुग्जालीलाई नै पठाउन पनि सक्छ । ‘दलका नेता ज्यू मन्त्री बन्दिनँ भन्नुभएको छ । अब शुशीला जीको सम्भावना बढ्यो,’ स्रोत भन्छ, ‘अहिले शुशीलाजी मात्रै जान पनि सक्नुहुन्छ । दुवैजना (सिंखडा र जुग्जाली) जाने सम्भावना पनि रहन्छ ।’
Facebook Comment