कास्की — गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि बिहीबार दाबी पेस गरिएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको नेतृत्वमा सरकार गठनका लागि दाबी पेस गरिएको हो । प्रदेश प्रमुख कार्यालयका सचिव अणप्रसाद न्यौपानेलाई बहुमतको हस्ताक्षर बुझाइएको छ ।
प्रदेश प्रमुख गुरुङले तीन दिनको समय दिएर सरकार गठनका लागि बहुमतले दाबी पेस गर्न मंगलबार आह्वान गरेका थिए । उक्त समय बिहीबार साँझ ४ बजे सकिँदै छ । सरकारको दाबीका लागि कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र सांसद दीपक मनाङेले हस्ताक्षर गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि दाबी पेस गरिएको हो । ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको आवश्यक पर्छ । संसद्मा सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसको २७ सिट रहेको छ ।
सभामुखसहित माओवादीको ८ सिट रहेको छ भने स्वतन्त्र सांसद मनाङे पनि गठबन्धनमा छन् । प्रदेश प्रमुखलाई ३५ जनाको हस्ताक्षर बुझाइएको छ । यसअघि पुस २५ मा दोस्रो कार्यकालका लागि पहिलो मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त भएका थिए । पाण्डे अब दोस्रो कार्यकालको दोस्रो मुख्यमन्त्री बन्नेछन् ।
प्रकाशित : २०८० वैशाख १४ गते १६:०१
Facebook Comment