पर्यटकीय गन्तव्य बन्दै गैंडाकोटको हनुमान मन्दिर

NAWALPUR TIMES

पर्यटकीय गन्तव्य बन्दै गैंडाकोटको हनुमान मन्दिर
received 3172338216365637

कावासोती  । नवलपुरको गैँडाकोटमा रहेको हनुमान मन्दिर पर्यटकको रोजाइमा पर्ने गरेको छ । नगरपालिका–९ स्थित थुम्सीमा अवस्थित नेपालकै ठूलो ‘शिखरखजुराव’ शैलीको हनुमान मन्दिर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको हो ।

पूर्वपश्चिम राजमार्गसँगै जोडिएको सो मन्दिरमा नेपालका विभिन्न जिल्ला तथा भारतबाट तीर्थयात्रीहरु आउने गरेका हनुमान मन्दिर समिति चक्रघाटका अध्यक्ष टीकाराम सापकोटाले बताउनुभयो । “गैँडाकोटमा रहेको यो ऐतिहासिक स्थानमा निर्माण गरिएको मन्दिरमा नेपालका मात्रै नभएर भारतबाट धार्मिक पर्यटक आउने गरेका छन्”, सापकोटाले भन्नुभयो, “शिखरखजुराव शैलीमा निर्माण गरिएको नेपालकै ठूलो हनुमान मन्दिर तथा राजमार्गसँगै जोडिएको कारण पनि यो बाटो भएर हिँड्ने पर्यटकहरु यहाँ पस्ने गरेका छन् ।” धमिराको गोलो (घर) जस्ता चुच्चा चुच्चा परेका धेरै शिखर (गजुरहरु) मन्दिरमा निर्माण गरिने शैलीलाई शिखरखजुराव शैली भनिने सापकोटाको भनाइ छ ।

“दक्षिण भारतका मठमन्दिरहरु खासगरी यही शिखरखजुराव शैलीमा निर्माण गरिन्छ”, सापकोटाले भन्नुभयो, “हामीले पनि भारतीय र नेपाली पर्यटक लक्षित गरेर त्यस्तै आकारमा गैँडाकोटमा श्रीहनुमान मन्दिर निर्माण गरेका थियौँ ।” शिखरखजुराव शैली नेपालका लागि नयाँ शैली भएकाले पनि यहाँ आउने पर्यटक बढ्न थालेका भन्दै सापकोटाले आफूहरुको सोच र योजनाले मूर्त रुप लिइरहेको बताउनुभयो । कोरोना महामारी सुरु हुनुअगाडि निर्माण सुरु गरिएको हनुमान मन्दिर झन्डै तीन वर्ष लगाएर रु तीन करोड लागतमा निर्माण गरिएको थियो ।

मन्दिरमा भूमिगत, गर्भगृह र शिखर तह गरी तीन वटा खण्ड रहेकाले पनि मन्दिर आकर्षणको केन्द्र बनेको सापकोटाको भनाइ छ । शनिबार र बिदाको दिनमा यहाँ झन्डै एक हजारजना भन्दा बढी धार्मिक पर्यटक आउने भन्दै उहाँले अन्य दिनमा पनि पाँच सयको हाराहारीमा पर्यटक आउने गरेका बताउनुभयो ।

मन्दिरका सहसचिव पिताम्बर सापकोटाले मन्दिरको माध्यमबाट गैँडाकोटलाई धार्मिक, आध्यात्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकसित गरी समग्र गैँडाकोटकै धार्मिक महत्वलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । नेपालकै बीच भागमा रहेको यो मन्दिरको ऐतिहासिककालदेखि नै धार्मिक महत्व रहेको छ । हनुमान मन्दिर रहेको नारायणी नदीको घाटमा बसेर श्रीहरि भगवान् विष्णुले गोहीद्वारा आक्रमणमा परेको गजराजको प्रार्थनाबाट प्रसन्न भई आफ्नो सुदर्शन चक्रको प्रयोगबाट गोहीको शिरच्छेदन गरी गजराजलाई मोक्ष प्रदान गरेको धर्म ग्रन्थहरुमा उल्लेख छ । त्यसकारण हनुमान मन्दिर रहेको यस ठाउँलाई चक्रघाटको नामले पनि चिन्ने गरिन्छ ।

यस ठाउँलाई २०४२ सालमा फलाहारी बाबा श्री १०८ स्वामी शुकदेवानन्द सरस्वतीले तपस्यास्थल बनाउनुभएको थियो । स्नानघाट, धर्मशाला निर्माण र मन्दिर सञ्चालनका लागि अक्षयकोष निर्माण गर्न भन्दै मन्दिर समितिले गत वैशाखमा महायज्ञ गरेर रकम सञ्चालन गरेको थियो । अहिले यस मन्दिरसँगै एक सय क्षमताको धर्मशाला निर्माणको तयारी भइरहेको छ ।

बिदाको समयमा घुम्न आउनुभएकी बर्दियाको मधुवन नगरपालिका–९ की पार्वती न्यौपानेले मन्दिर निकै आकर्षण बनेको बताउनुभयो । “म मन्दिरमा पहिलो पटक आएकी हुँ, निकै सुन्दर र आकर्षक लाग्यो”, न्यौपानेले भन्नुभयो, “पवित्र नारायणी नदीको किनारमा स्नान गरेर सङ्कट मोचन हनुमानको दर्शन गर्दा दुःखपीडाहरु नाश हुन्छ भन्ने सुनेर यहाँ आएको हो ।” मन्दिर आउन यातायातको सहज पहुँच छ । रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology