निकुञ्जको मुख्यालय अगाडि नै मापदण्डविपरीत तारे होटल

NAWALPUR TIMES

निकुञ्जको मुख्यालय अगाडि नै मापदण्डविपरीत तारे होटल
solti jL7kOgjqbN

भरतपुर । भरतपुरको पटिहानीमा सञ्चालनको तयारीमा रहेको सोल्टी वेस्ट इण्ड रिसोर्टले मापदण्डविपरीत संरचना निर्माण गरेको पाइएको छ । मध्यवर्ती क्षेत्रमा उद्योग स्थापनासम्बन्धी मापदण्डविपरीत होटलका संरचना निर्माण भएका हुन् ।

मापदण्डमा मध्यवर्ती क्षेत्रमा निर्माण हुने होटल दुई तलाभन्दा अग्लो बनाउन नपाइने र  वातावरण सुहाउँदो हुनुपर्छ  तर कङ्क्रिटको यो होटल तीनतले छ । रिभर साइड रोयल गार्डेन रिसोर्ट प्रालिले यो होटल व्यवस्थापनको जिम्मा सोल्टी समूहलाई दिएको छ । रिसोर्टका प्रबन्ध निर्देशक ऋषि न्यौपानेका अनुसार होटल एक अर्बको लगानीमा निर्माण गरिएको हो । भरतपुर महानगरपालिका–२२ स्थित राप्ती किनारमा निर्माण गरिएको होटल वातावरणीय प्रभाव मूल्यांकन गरेर निर्माण गरिएको उनको जिकिर थियोे ।

मध्यवर्ती क्षेत्रमा पर्यावरणलाई ध्यान दिएर संरचना बनाउनुपर्ने वातावरण संरक्षणकर्मीले  बताए  । वडाध्यक्ष विष्णु महतोले निर्माणकै क्रममा भरतपुर महानगरपालिकामा छलफल हुँदा आफूले यसखालको होटल त्यो ठाउँमा बनाउन नहुने तर्क प्रस्तुत गरेको बताए । उनले भने, ‘मैले त्यतिबेला नै माटो सुहाउँदो होटल बनाउनुपर्छ भनेको थिएँ ।’ दोस्रो कार्यकाल पनि वडाध्यक्ष भएका उनले निकुञ्जको छेउमा बन्ने होटल मौलिकता झल्कने भिल्लाको स्वरुपमा बनाउन सोही बखत सुझाव दिइएको बताए ।

जिल्लाका लब्धप्रतिष्ठित व्यावसायिक व्यक्तित्वको लगानी रहेको होटलको नक्सापास गर्दा आफूले परिवर्तन गर्न आग्रह गरेको भए पनि सञ्चालकहरूले अटेर गरेको उनको भनाइ थियो । पछिल्लो समय वडाध्यक्ष महतो पनि होटलको शेयरधनी भएका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले मध्यवर्तीमा होटलको संरचना मापदण्डविपरीत बनाउन नहुने बताए । उनले भने, ‘मापदण्डविपरीत भएमा निकुञ्जले कारबाही प्रक्रिया अघि बढाउँछ ।’

मापदण्ड बनेपछि यससँगै अन्य होटलले कानुन उल्लंघन गर्दै संरचना निर्माण गरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले मापदण्ड मिचिएको देखिएपछि अध्ययन गर्ने तयारी भइरहेको बताए । निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले आफ्नो पालामा वातावरण प्रभाव मूल्यांकनका लागि सो होटलका सञ्चालकले अनुमति लिन आए पनि मापदण्डविपरीत भएकाले आफूले नदिएको बताए । आफू बर्दिया राष्ट्रिय निकुञ्जमा हुँदा एक तला भत्काउन लगाएको भन्दै उनले निकुञ्जले मापदण्ड पालना नगर्नेलाई कारबाही गर्न सक्ने बताए । पाँचतारे सुविधा दिने गरी यो रिसोर्ट नेपालका २३ जना व्यवसायीको लगानीमा निर्माण गरिएको हो ।
रासस

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology