विद्रोह गर्ने तयारीमा नवलपुरका स्वास्थ्य बीमा दर्ता सहयोगी

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार २१ गते १९:१०
विद्रोह गर्ने तयारीमा नवलपुरका स्वास्थ्य बीमा दर्ता सहयोगी
received 1239583043454249

नवलपुर । नवलपुर जिल्लामा स्वास्थ्य बीमा सुरु भएदेखि नै जिल्लाबासीलाई नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डद्वारा संचालित स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराउन दिनरात कस्सिएका दर्ता सहयोगीहरुले विद्रोह गर्ने तयारी गरेका छन्। अहिलेसम्म करीब १ लाख भन्दा बढी जिल्लाबासीलाई स्वास्थ्य बीमामा आवद्ध गराउन सफल दर्ता सहयोगीहरुले पाउनुपर्ने पारिश्रमिक कुनै पनि चक्रमा समयमा नपाएको तथ्य बाहिरिएको हो ।

बीमा बोर्डका गण्डकी प्रदेश संयोजक जिवलाल खरेलले हरेक चक्र सुरु भएको मितिले १ हप्तादेखि १५ दिनभित्र दर्ता सहयोगीले पारिश्रमिक पाउने कुरा पटकपटक बताउदै आएका छन् भने दर्ता सहयोगीले भने कुनैपनि चक्रमा समयमा पारिश्रमिक नपाएको दुखेसो व्यक्त गरेका छन्। बीमा बोर्डको नवलपुर जिल्ला शाखा कार्यालयमा बुझ्दा स्वास्थ्य बीमा दर्ता सहयोगीले २०७८ सालको वैशाख , जेठ र असार त्यसैगरी ७८ सालकै माघ, फागुन र चैत गरि ६ महिना काम गरेबापतको २ चक्र ( ७८ सालको भदौ र ७९ सालको जेठ) मा पाउनुपर्ने पारिश्रमिक रकम भुक्तानी पाउन बाँकी रहेको पाइयो। किन ढिलो भन्ने प्रश्नमा जिल्ला कार्यालयका संयोजक जयसोर भुसालले बीमा बोर्ड केन्द्रिय कार्यालयमा रिपोर्ट पठाएपछि पनि पटकपटक ताकेता गरिएको बताए।

यता दर्ता सहयोगीहरुले भने हरेक पटक दु:ख पाएको भन्दै अब बुझाउने योगदान रकमबाट आफूहरूले पाउनुपर्ने कमिसन लिएर मात्रै बाँकी रहेको पैसा बुझाउने तयारीमा आफूहरू रहेको बताएका छन्। यसरी पहिले नै आफै जान्ने भएर कमिसन लिन पाइन्छ त भन्ने प्रश्नमा अहिलेसम्म कुनै पनि समयमा स्वास्थ्य बीमा दर्ता सहयोगीले समयमा कमिसन नपाएकाले पहिलो चरणको विद्रोहस्वरुप यसो गर्न लागेको एक जना दर्ता सहयोगीले बताए। बीमा बोर्डले चक्र सुरु भएको मितिले १५ दिनभित्र कमिसन दिने सुनिश्चितताको लागि यसो गर्न बाध्य भएको अर्कि दर्ता सहयोगीले बताइन्।

स्वास्थ्य बीमा दर्ता सहयोगीले वडाबासीलाई बीमामा आवद्ध गराएबापत संकलित योगदान रकमको १०% बाट १% राजस्व कटाइ बाँकी रकम कमिसनस्वरुप पाउने प्रावधान रहेको छ। हाल नवलपुर जिल्लाका ९२ वटा वडामा ९२ जना दर्ता सहयोगीले काम गरिरहेका छन्।

प्रकाशित : २०७९ असार २१ गते १९:१०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI