चितवन । भरतपुर– ६ का कृष्णबहादुर भण्डारी कोरोनाको दोस्रो लहरमा थला परे । स्वास्थ्य जटिल बनेपछि २ जेठ ०७८ मा चितवन मेडिकल कलेज (नयाँ मेडिकल कलेज) भर्ना भए । ३७ दिनको अस्पताल बसाइपछि ७ असारमा उनी डिस्चार्ज भए ।
अस्पतालले थमाएको बिलमा भनसुन गरेर एक लाख छुट गराई पाँच लाख ८२ हजार सात सय २० रुपैयाँ तिरेर डिस्चार्ज भएको भण्डारी बताउँछन् । जब कि अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने र उपचार लागेको खर्च सरकारले दिने गरी सरकार र चितवन मेडिकल कलेजबीच सम्झौता भइसकेको थियो । भण्डारीलाई यसबारे थाहा थिएन, त्यसैले अस्पतालले मागेपछि इष्टमित्रसँग ऋणधनसमेत गरेर उपचार खर्च बुझाएका थिए । उपचार शुल्क भुक्तानी गरेको प्रमाण उनीसँग सुरक्षित छ ।
‘०७८ को २ जेठमा भर्ना भएर ७ असारमा डिस्चार्ज भएको हुँ । अस्पतालले मागेअनुसार पाँच लाख ८२ हजार सात सय ८० रुपैयाँ तिरेको हो । के गर्नु त्यतिवेला पैसाभन्दा बाँच्नु ठूलो विषय थियो । आफूसँग सबै पैसा नभएपछि ऋणधनबाट समेत जुटाएर अस्पताललाई बुझाएको हो,’ उनले भने ।
तर, अस्पतालले भने भण्डारीको निःशुल्क उपचार गराएको भनेर सरकारसँग पनि पाँच लाख सात हजार रुपैयाँ मागेको छ । महामारीमा नौ सय ६६ संक्रमितको निःशुल्क उपचार गरेको दाबी गर्दै चितवन मेडिकल कलेजले १० करोड ९५ लाख ८० हजार रुपैयाँ शोधभर्नाका लागि निवेदन दिएको छ, जसमा कृष्ण भण्डारीको पनि नाम छ ।
अस्पतालले निःशुल्क उपचार गरेको दाबी गर्दै शोधभर्नाका लागि निवेदन दिएका व्यक्तिहरूको नाम जिल्ला प्रशासन कार्यालय चितवनले आफ्नो वेबसाइटमा राखेको छ । उक्त सूचीमा आफ्नो नाम पनि देख्दा आश्चर्यमा परेका भण्डारीले सोधभर्ना अस्पतालाई नभई आफूलाई गर्न १२ माघमा जिल्ला प्रशासनमा निवेदन पनि दिएका छन् ।
नयाँ पत्रिका
प्रकाशित : २०७८ माघ १५ गते ९:१३
Facebook Comment