गोविन्द घिमिरे
नवलपुर । आज विश्व एड्स दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाईंदै छ ।एचआइभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउन थालिएको हो ।यो वर्ष दिवसको नारा ‘असमानता हटाऔं एड्स अन्त्य गरौं’ भन्ने तय गरिएको छ । दिवसका अवसरमा नवलपुर सहित देशका विभिन्न जिल्लामा चेतनामूलक विविध कार्यक्रम हुँदैछन् ।
नवलपुरमा गएको एकवर्षमा पाँचजनाको मृत्यु भएको छ । औषधी सेवन गरिरहेको पाँचजना पुरुषको मृत्यु भएको हो । जिल्लामा हालसम्म ३७२ जना एचआईभी संक्रमित रहेको तथ्याङ्कले देखाएको छ । एचआईभी संक्रमितद्धारा संत्रमितका लागि स्थापना गरेको संस्था लुम्बिनी प्लसका अनुसार १९७ जना महिला र १७५ जना पुरुषहरु एचआइभी संक्रमित छन् ।संक्रमित ३७२ मध्ये ७५ जनाले मात्रै नवलपुरको चोरमारा स्थित एआरटी केन्द्रबाट औषधी लिएका छन् भने अन्य संक्रमितले भरतपुर, पोखरा, काठमान्डौ र बुटवलबाट औषधी सेवन गरेको पाइएको छ ।
नवलपुरमा सबैभन्दा बढि कावासोती नगरपालिकामा १५० जना एचआइभी संक्रमित रहेको पाईएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)का फोकल पर्सन डिल्लीराम तिवारीका अनुसार गैँडाकोट नगरपालिकामा ७५, देवचुली नगरपालिकामा ५५, मध्यविन्दु नगरपालिकामा ४५, विनयी त्रिवेणी गाँउपालिकामा ३५ जना र हुप्सेकोट गाउँपालिकामा १२ जना एचआइभी संक्रमित देखिएका छन् ।
एचआइभी सार्ने मुख्य कारणमध्ये नेपालमा ७६ प्रतिशत असुरक्षित शारीरिक सम्पर्कबाट नै सर्ने गरेको अनुसन्धानले देखाएको छ । ड्रग्समा फसेका मानिसले सुई आदान–प्रदान गरेको अवस्थामा र संक्रमित आमाबाट जन्मिएका २५ प्रतिशत बच्चामा एचआईभी संक्रमण हुने सम्भावना हुने केन्द्रले जनाएको छ ।चिकित्सकहरूका अनुसार एचआइभी संक्रमित व्यक्ति एड्सको अवस्थामा पुग्न करिब दशौँ वर्ष लाग्छ ।
समयमै पहिचान भएर उपचार भए एड्सको अवस्था नआउने पनि चिकित्सकहरू बताउछन् ।एड्स प्राणघातक रोग हो । यसको संंक्रमणमबाट बच्न आफैँ सचेत रहनु जरुरी हुन्छ । एड्सबाट बच्ने मुख्य उपाय नै सुरक्षित यौन सम्पर्क गर्नु नै हो ।
प्रकाशित : २०७८ मंसिर १५ गते ९:४६
Facebook Comment