युवाहरुको पहलमा देवचुलीमा अक्सिजन बैंक

NAWALPUR TIMES

युवाहरुको पहलमा देवचुलीमा अक्सिजन बैंक
FB IMG 16205302113435511

कावासोती । पुर्वी नवलपरासीको देवचुलीमा गत वैशाख २० गते सोमबार ६८ वर्षीय कोरोना संक्रमित खेम काफ्लेलाई अस्पताल लैजान एम्बुलेन्स नपाए पछि ट्रयाक्टरमा अस्पताल लैजादै गर्दा बाटैमा उनले ज्यान गुमाए ।

समयमा एम्बुलेन्स र अक्सिजन पाएको उनले ज्यान गुमाउन पर्दैन्थ्यो भन्दै नागरिक समाज युवाहरु नगरपालिकाको प्रमुख र उपप्रमुखको कक्षमा तालाबन्दी पनि भयो । यो विषय देशैभरका सन्चार माध्यममा प्रमुखताका साथ आए ।

माथीको घटना लगत्तै चर्को आलोचना पाएका पुर्वी नवलपरासीका देवचुली सहितका स्थानीय तहहरुलाई तत्काल अक्सिजन सहितको आईशोलेसन र एम्बुलेन्स व्यवस्थापन गर्न भने समय लागेन र सबै स्थानीय तहमा अक्सिजन सहितको आईसोलेसन तयार पनि भयो ।

यो घटना पछि युवाहरुको खबरदारी र सक्रियताले समस्याको समाधान गर्न सकिदो रहेछ भन्ने लागेका देवचुलीका युवाहरु यति बेला भने अक्सिजन बैंकको स्थापनामा जुटेका छ्न । एम्बुलेन्स नपाएर निधन भएका कोरोना संक्रमित खेम काफ्लेको नाममा स्मृति प्रतिष्ठान बनाएर युवाहरुले अक्सिजन बैङको स्थापना गरिसकेको देवचुलीका युवा अभियन्ता वसन्त पोख्रेलले बताए ।शनिबार बाट सुरु गरिएको अभियानको पहिलो दिनमै ११ सिलिन्डर अक्सिजन जम्मा गर्न सफल भएको पोख्रेलले बताए ।

देवचुली नगरपालिका , नगरभित्रका संघसंस्था, राजनीतिक दल र नागरिक समाज सँग समन्वय गर्दै आफूहरु अगाडि बढेको र छिट्टै नै खेम काफ्लेको स्मृतिमा अक्सिजन सहितको आईसोलेसन निर्माण गर्न आफुहरु जुटेको अभियानका अर्का सदस्य चिरन पाण्डेले बताए । दलिय स्वार्थ भन्दा माथी उठेर आफुहरुले सुरु गरेको मानवतावादी अभियानमा साथ सहयोग गर्न पाण्डेले आग्रह पनि गरेका छ्न ।

जम्मा पारिएको अक्सिजन सिलिन्डरहरु यति बेला दलदले स्थित सशस्त्र प्रहरी बेस क्याम्पको
सुरक्षामा राखिएको र छिट्टैनै नगरपालिकाको स्वास्थ्य शाखालाई हस्तान्तरण गरिने अर्का अभियन्ता माधव पौडेलले बताए ।

युवाहरुले सुरु गरेको अभियानमा नगरपालिकाको तर्फबाट सबै खाले सहयोग हुने बताउदै यो अभियानमा जोडिन देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलले बताए ।

गत वैशाख २० गते कोरोना संक्रमणको कारणले निधन भएका देवचुली -१३ का खेम काफ्लेको स्मृतिमा प्रतिष्ठान बनाएर सुरु गरिएको अभियानको संयोजक बसन्त पोख्रेल , सह संयोजक सुरज भुसाल , सचीव माधव पौडेल , कोषाध्यक्ष चिरन पाण्डे र सदस्य अजय पंगेनी रहेका छ्न ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology