आज २०७ औँ भानुजयन्ती

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २९ गते ८:२४

आदिकवि भानुभक्त आचार्यको आज २०७ औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत् एकिकरण गरेको बताइन्छ ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएपछि उनले रामायणलाई नेपालीमा भावनुवाद गरेका थिए ।

भानुभक्तका वधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता, फुटकर रचनालगायत कृति प्रकाशित छन् ।

कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यलयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै – ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली,’ भन्दै कटाक्षसमेत गरेका थिए ।

अभिनव साहित्य समाजले भानुजयन्तीकै अवसरमा आज जोरपाटीमा विशेष साहित्यिक कार्यक्रमसहित पुस्तक विमोचन कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने भएकाले भौतिक दूरी आयोजना गरेर मात्र कार्यक्रम गरिने जनाइएको छ ।

सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसक्नेले भने घरघरमा नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानुजयन्ती मनाउँछन् ।

प्रकाशित : २०७७ असार २९ गते ८:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI