सामुदायिक प्राकृतिक चिकित्सालयलाई जिल्लाकै पहिलो कोरोना अस्पताल निर्माण गर्न स्थानीय तहको ६० लाख सहयोग

NAWALPUR TIMES

सामुदायिक प्राकृतिक चिकित्सालयलाई जिल्लाकै पहिलो कोरोना  अस्पताल निर्माण गर्न स्थानीय तहको ६० लाख सहयोग
1621441788samudieak prakartik chikseleya rahajar. 1

प्रकाश भण्डारी, गैँडाकोट

देवचुलीमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा नवलपुर जिल्लाकै पहिलो कोरोना अस्थायी अस्पताल निर्माण गर्नका लागि ६० लाख बजेट छुट्याईएको छ।

हिजो देवचुलीमा कोरोना अस्थायी अस्पताल निर्माण तथा व्यवस्थापन र संचालन गर्नका लागि जिल्ला समन्वय समितिका प्रमुख चेसराम आले मगरको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरे सहित ८ वटै स्थानीय तहका नगरप्रमुख, गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, चिकित्सक लगायत स्वास्थ्यकर्मीहरुको बैठक बसेको थियो।

कोरोना अस्थायी अस्पताल निर्माण तथा व्यवस्थापन र संचालनका लागि नवलपुर जिल्लाका ४ गाउँपालिकाले ७ लाख र ४ नगरपालिकाले ८ लाखका दरले रकम उपलब्ध गराउने निर्णय भएको जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आले मगरले नवलपुर टाईम्ससँगको कुराकानीमा बताउनुभयो।

नवलपुरका स्थानीय तहबाट प्राप्त हुने रकम सामुदायिक प्राकृतिक चिकित्सालका अध्यक्ष, कोषाध्यक्ष र कार्यालय प्रमुखको संयुक्त नाममा कृषि बिकास बैँक रजहर शाखामा खाता खोलिने र सोही खातामा उक्त रकम जम्मा हुनेछ।

उक्त खातामा जम्मा हुने रकम प्रचलित कानूनको रित र प्रकृया पुरा गरि खरिद व्यवस्थापन गरिने समेत निर्णय गरिएको समितिका संयोजक देवचुली नगरपालिकाका प्रमुख प्रशासकिय बिष्णु प्रसाद भुषालले जानकारी गराउनुभयो। साथै अन्य स्रोतबाट प्राप्त हुने रकम पनि सोही खातामा जम्मा गरिने छ।

बुधबार नै कोभिड-१९ अस्थायी अस्पताल संचालन र व्यवस्थापकीय कार्यका लागि देवचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद भुषालको संयोजकत्वमा ५ सदस्यीय एक व्यवस्थापन समितिको गठन गरिएको छ।

समितिले कोभिड-१९ अस्थायी अस्पतालमा खटिने जनशक्तिको व्यवस्थापन, खरिद भौतिक निर्माण तथा संरचनात्मक सुधार लगायतका सम्पूर्ण कार्यको जिम्मा लिएको र सोही बमोजिम काम शुरू गरिएको समितिका संयोजक बिष्णु प्रसाद भुषालले जानकारी गराउनुभयो।

हालसम्म रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा २५ जना कोरोना संक्रमितको उपचार भैरहेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology