स्थानीय सरकारसँग सहकार्य गर्दै हुप्सेकोटका सामुदायिक वनहरू

NAWALPUR TIMES

स्थानीय सरकारसँग सहकार्य गर्दै हुप्सेकोटका सामुदायिक वनहरू
download

चैत्र २९, नवलपुर

हुप्सेकोट गाउँपालिकामा रहेका सामुदायिक बनहरुले कोरोना भाईरस (कोभिड १९) को रोकथामका लागि विभिन्न कार्यक्रम संचालन गर्दै आएका छन। हुप्सेकोट गाउँपालिकाले सबैलाई महामारी विरुद्ध एकजुट हुन अपिल गरे सङ्गै यहाँका सामुदायिक बनहरुले आफ्ना उपभोक्ताहरुलाई कोरोना भाईरसबाट बच्ने उपायको सन्दर्भमा जनचेतना फैलाउँदै आफ्नो कार्य क्षेत्रमा विभिन्न कार्यक्रम संचालन गरेका हुन।

हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी स्थित बिराट सामुदायिक बनले आफ्ना ६०६ घरधुरीका उपभोक्तालाई १ लाख ९७ हजार ४ सय १७ रुपैयाँ बराबरको साबुन तथा मास्क बितरण गरेको छ भने अनावश्यक रुपमा घर बाहिर हिड्ने गाउँबासिलाई रोक्न ११ ठाउँमा चेकपोस्ट राखी ७५ जनाको संख्यामा स्वयंसेवक खटाईएको बनका अध्यक्ष प्रेम बहादुर कार्किले बताए। त्यस्तै हुप्सेकोट २ स्थित थुम्किदेबी सामुदायिक बनले कोलिया क्षेत्रका सबै बाटो तथा गल्लिहरुमा ब्लिचिङ पाउडर छर्कने काम गरिरहेको अध्यक्ष युवराज पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार थुम्किदेबी सामुदायिक बनले वडा कार्यालय सङ्गको सहकार्यमा स्थानिय थुम्किदेबी समाज उत्थान केन्द्रका सदस्यहरुलाई स्वयंसेवकको रुपमा खटाएको छ भने माईकिङ गर्दै घर बाहिर ननिस्कन र सचेत रहन आग्रह गर्दै आएको छ।

त्यस्तै हुप्सेकोट ३ बेलाहानी स्थित मयुरी पोखरी सामुदायिक बनले पनि उपभोक्तालाई संयम रहन आग्रह गरेको छ। मयुर पोखरी सामुदायिक बनका अध्यक्ष मदन थापाले यस अघि नै उपभोक्तालाई साबुन बितरण गरिसकिएको र अब बस्ने समितिको बैठकले नाकाहरुमा खटिएका स्वयंसेवक र राहतको सन्दर्भमा थप निर्णय गर्ने जानकारी दिए।

कोरोना भाईरसको रोकथामका लागि हुप्सेकोट ०५ बेलुवा स्थित त्रिकोण सामुदायिक बनले यस अघि नै उपभोक्तालाई पारिवारिक संख्या अनुसार साबुन तथा मास्क बितरण गरेको बनका अध्यक्ष दल बहादुर सोतिले जानकारी दिए ।
यहाँका केही सामुदायिक बनहरुले क्वारेन्टाइन भवन निर्माणका लागि यस अघि नै गाउँपालिकालाई खाट उपलब्ध गराईसकेका छन ।
हुप्सेकोटमा रहेका अन्य सामुदायिक वनहरुले समेत गाउँपालिकालाई खाद्यान्न तथा अन्य सहयोगका लागि छलफल चलाईरहेको बुझिएको छ ।

सामुदायिक बनहरुले गरेको काम अत्यन्त सृजनात्मक रहेको गाउँपालिका अध्यक्ष लक्ष्मी देबि पान्डेले बताईन।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology