काठमाडौं । हङकङमा आइतबार सम्पन्न स्थानीय चुनावमा लोकतन्त्र समर्थक आन्दोलनकारीहरुको समूहले बहुमत हासिल गरेको छ । लामो समयदेखि हङकङलाई स्वतन्त्र गर्न र पूर्ण लोकतन्त्रका लागि माग गरिरहेकाहरुले नै बेइजिङ समर्थक पार्टीमाथि जित हासिल गरेका हुन् ।
उनीहरुले चीनलाई जवाफ दिनका लागि पनि अर्ध स्वायत्त चिनियाँ क्षेत्रको चुनावलाई सफल पार्नुपर्नेमा जोड दिएका थिए । हङकङमा अहिलेसम्मकै सबैभन्दा बढी मत खसेको बताइएको छ ।
यसबाट आन्दोलनकारीहरुले चुनावले बेइजिङ सरकारलाई पाँच महिनादेखि अस्थिर रहेको हङकङले गतिलो सन्देश दिएको दावी गरेका छन् ।
२४१ सिटको पहिलो नतिजामा लोकतन्त्र समर्थकले २०१ सिटमा जित हासिल गरेको छ । साउथ चाइना मर्निङ पोष्टले चिनियाँ समर्थक पार्टीले जम्मा २८ सिटमात्र जितेको छ ।
७४ लाख जनसंख्या भएको हङकङमा ४१ लाख मानिसले मतदानका लागि नाम दर्ता गरेकामा २९ लाखले मतदान गरेका थिए ।
सन् २०१५ को चुनावमा ४१ प्रतिशत मत खसेकामा यसपटक ७१ प्रतिशत मत खसेको हो ।
एक हजार भन्दा बढी उम्मेदवार ४५२ जिल्ला काउन्सिल सिटका लागि चुनावी मैदानमा रहेका थिए ।
ग्रामिण जिल्लाका लागि २७ सिट छुट्टाइएको छ । यी सिटहरुमा हालसम्म बेइजिङ समर्थित पार्टीहरुको बहुमत रहेकामा त्यो पासा पल्टिएको छ ।
प्रारम्भिक नतिजापछि लोकतन्त्रका लागि आन्दोलनमा होमिएकाहरुको आन्दोलन सडकमा खुशीयालीमा परिणत भएको छ ।
यो नतिजाले युवाहरु अझ बढी उत्साही भएका छन् । पाँच महिनादेखिको निरन्तरको आन्दोलनले अर्थतन्त्र चौपट् बनेको छ । यो नतिजाले अहिलेकी शासकको अग्निपरीक्षा पनि भएको छ ।
हङकङमा अपराधीलाई चीनलाई सुपुर्दगी गर्नुपर्ने विषयमा सरकारले विधेयक पारित गर्न थालेपछि विरोधमा उत्रेका जनताले उक्त विधेयक फिर्ता गराएर त छाडे नै अब देशलाई नै पूर्ण स्वतन्त्र गराउन वर्तमान शासकलाई नै सत्ताबाट हटाउने योजनामा छन् ।
प्रकाशित : २०७६ मंसिर ९ गते ८:५४
Facebook Comment