७ सय जनाका लागि ५० वटा शौचालय, ८० घरमा छैन शौच गर्ने व्यवस्था

NAWALPUR TIMES
प्रकाशित : २०८२ जेठ ६ गते ११:५७
७ सय जनाका लागि ५० वटा शौचालय, ८० घरमा छैन शौच गर्ने व्यवस्था

कावासोती । नवलपुरको देवचुली नगरपालिका–२ दुम्कौलीकी जितनी माझीको परिवारमा छोरा, बुहारी र दुई नाति नातिनीसहित ५ जना सदस्य छन् । बिहान उज्यालो हुने बित्तिकै उनको परिवारका सदस्यहरु शौच गर्नका लागि गाउँमा कसको शौचालयको ढोका खुल्ला छ भनेर खोज्दै हिड्नु पर्छ । जसको शौचालयको ढोका खुल्ला छ त्यही छिरेर शौच गर्नु पर्ने वाध्यता छ ।

सोही ठाउँका लिला परियारका सदस्यहरुको अवस्था पनि उही हो । मजदुरी गरेर जिविकोपार्जन गर्ने लिलाको घरमा उनी र तीन छोराछोरी छन् । ‘‘मजदुरी गर्न जाँदा त जहाँ मिल्छ त्यतै दिशा पिसाव गरिन्छ, घरमा हुँदा समस्या हुन्छ, जसको शौचालय खाली हुन्छ, त्यतै गएर गरिन्छ । छोराछोरीहरू पनि त्यसै गर्छन,’’ परियारले भने । उनकी श्रीमती बैदेशिक रोजगारीका लागि कुवेत छिन् । श्रीमतीले पैसा पठाएमा आफ्नै घरमा शौचालय बनाउने उनको योजना छ ।

यो अर्काको शौचालय कुर्नु पर्ने देवचुली–२ दुम्कौलीका झण्डै चारसय जनाको वाध्यता हो । देवचुली–२ का वडा सदस्य हरिभक्त श्रेष्ठका अनुसार यहाँ झण्डै एक सय ४० घर धुरीमा सात सय जनसंख्या छ, जसमध्ये ६० जति घरमा मात्र शौचालय छ भने झण्डै चार सय जना शौच गर्नका लागि अर्काको शौचालयको भर पर्नु पर्ने बाध्यता छ ।

यो सबै बाढी पिडित रहेको सुकुम्वासी बस्ती हो । रजहर र पिठौली गाविसका नारायणी पीडितलाई २०६३ सालमा स्थानान्तरण गरेर यहाँ ल्याएर राखिएको हो । माझि, मुसहर र बोटे समुदायको बाहुल्यता रहेको यो वस्ती १९ वर्षदेखि शौचालय विहिन छ । अहिलेसम्म पनि शौचालय नहुँदा सबैभन्दा बढी पीडा भोग्नु परेको जितनी माझीले बताइन् । १२० घर धुरी बाढी पीडितको ढड्डामै नाम छ । अहिले परिवार संख्या बढेर १४० पुगेको छ ।

सबै तिर सरसफाई मुक्त घोषणा गरिए पनि यति धेरै जनसंख्याका लागि शौचालय समेत नहुनु दुखद् भएको बताउँछन् वडा नं. २ का अध्यक्ष सरद प्रसाद घिमिरे । ‘‘हामीले केही पहल गरेका छौं, तर अभियानका रुपमा लैजान सकिएको छैन, अध्यक्ष घिमिरेले भने, ‘‘राष्ट्रिय आवास कम्पनीले जग्गा धनी पूर्जा नदिएका कारण पनि शौचालय बनाउने कामलाई अभियानको रुपमा लैजान सकिएको छैन ।’’

मुख्य समस्या आर्थिक
आर्थिक अवस्था कमजोर भएका कारण यहाँका वासिन्दाले शौचालय बनाउन नसकेको वडा सदस्य श्रेष्ठको भनाइ छ । ‘‘दिनभरी मजदुरी गर्यो, बेलुकाको छाक टार्नै ठिक्क हुन्छ, ट्वाइलेट बनाउने कुरा प्राथमिकतामै पर्दैन,’’ श्रेष्ठले भने, ‘‘विदेश गएकाहरुले पैसा पठाएका घरमा भने ट्वाइलेट बनिरहेका छन् ।’’

दिनभरी काम गर्यो, बेलुका खायो सकियो । अर्कोतर्फ जग्गा पनि प्रयाप्त नभएको स्थानीय बताउँछन् । मुख्यतः आर्थिक समस्या कै कारण शौचालय बन्न सकेका छैनन् । नरबहादुर मुसहरले पनि पैसा नहुँदा शौचालय बनाउन नसकेको बताए ।  । ‘‘समस्या परेपछि जसोतसो टरिहाल्दो रहेछ, दिनभरी कमाएर बेलुकाको छाक धकेल्नै गाह्रो भएको बेला कहाँबाट ट्वाइलेट बनाउनु ?’’ मुसहरले भने ।

कतिपयले भने शौचालय बनाउने ठाउँको अभावले पनि बनाउन नसकेको बताउँछन् । राष्ट्रिय आवास कम्पनीले एक सय २० घर धुरीका लागि हरेक घरधुरी १० धुरका हिसावले जग्गा दिए पनि केहीको अलि धेरै हुँदा कतिपयको १० धुर जग्गा पनि नभएकाले शौचालय बनाउन नसकेको श्रेषेठले बताए ।

यहाँबाट मजदुर गर्नका लागि युवाहरु गुल्मी, पोखरा लगायत ठाउँमा पुग्ने गरेका छन् भने ३० जना महिला बैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेका वडा सदस्य श्रेष्ठले जानकारी दिए । पहिले माछा मारेर जिविकोपार्जन गर्ने माझि, मुसहर समुदायका युवाले राम्रो कमाई हुन पनि छोडेको र चितवन राष्ट्रिय निकुञ्जको झन्झटिले प्रकृयाले पनि पुख्र्यौली पेशा छोड्दै गएका छन् ।

‘‘रोजगारी छैन, कहिले काँही मजदुरी गर्ने काम एक दिन पाइयो भने पाँच दिन खाली बस्नु पर्छ, लिला परियारले भने, ‘‘घर अगाडि यति ठूलो उद्योग (सीजी उद्योग) छ, तर हामी काम पाउँदैनौँ । अस्ती एक दिन चार जना भएर मजदुरी गर्न गयौं, त्यसपछि काम नपाएर घरमै बसेको पाँच दिन भइसक्यो ।’’ अर्का युवा नरबहादुर मुसहरले पनि माछा मार्न छोडेर मजदुरी तिर लागेको तर कामै नपाएर समस्या भएको गुनासो गरे ।

प्रकाशित : २०८२ जेठ ६ गते ११:५७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI