निकुञ्जको टोलिद्वारा सालकको खपटा सहित ५ जना पक्राउ

NAWALPUR TIMES

निकुञ्जको टोलिद्वारा सालकको खपटा सहित ५ जना पक्राउ
चितवन राष्ट्रिय निकुञ्ज कार्यालय

कावासोती । दुर्लभ वन्यजन्तु सालकको खपटासहित टिकौलीबाट पाँचजना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जमा तैनाथ नेपाली सेनाको नयाँ गोरख गणको टोलीले सोमबार उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका व्यक्तिको विवरण भने निकुञ्ज कार्यालयले खुलाएको छैन । तीनवटा मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको चितवन निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनास थापा मगरले बताए ।

सालको खपटा ओसारपसार भइरहेको सूचनालाई आधार मानेर शंकास्पद व्यक्तिलाई पछ्याउँदै जाने क्रममा रत्ननगर नगरपालिका–९ टिकौली वन नजिकबाट उनीहरुलाई समाएको सूचना अधिकारी थापा मगरले जानकारी दिए ।

सालक संरक्षित जीव हो । निकै दुर्लभ हुँदै गएको सालकको शरीरको स्वरुप न्याउरी मुसाको जस्तो देखिन्छ ।सालकको जिउ गोलाकार खालका कडा खाले कत्ला अर्थात् खपटाले ढाकिएको हुन्छ । यही खपटाका लागि अवैध रुपमा सालक मार्ने गरिन्छ ।

सालक संरक्षित जीवमा पर्ने हुँदा यसको अवैध सिकार र गैरकानुनी व्यपार तथा ओसारपसार गर्नेलाई एकदेखि पाँच लाख रुपैयाँसम्म जरिवना या एक वर्षदेखि १० वर्षसम्म कैद वा कैद र जरिवाना दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology