कावासोती । नवलपुरको कावासोतीमा नेटवर्किङ विजनेशको नाममा ठगीधन्दा बढेको पाइएको छ। कावासोतीमा रहेको शाखा कार्यालय स्थापना गरी युनिभर्सल इन्टरपेनेर्स प्रालिको नाममा ठगी गरेको पाइएको नवलपुर प्रहरीले जनाएको छ। ठगी गर्ने पाँच जना नवलपुरको कावासोतीबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताए।
पक्राउ पर्नेमा मध्यविन्दु नगरपालिका ८ चोरमारा निवासी २९ वर्षीय समर्पित पाण्डे, कावासोती ८ निवासी ३२ वर्षीय जनक देवकोटा, बौदीकाली १ घर भई कावासोती ३ मध्यविन्दुटोल निवासी २५ वर्षीय सन्तोष कार्की, कावासोती १ रिठ्ठेपानी निवासी २४ वर्षीया मनिसा थापा मगर र कावासोती ५ निवासी २३ वर्षीय हरिप्रसाद भुर्तेल रहेका छन्।
कावासाती नगरपालिका–८ मा रहेको युनिभर्सल इन्टरपेनेर्स प्रालि शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुले विभिन्न व्यक्तिहरुलाई नेटवर्किङ विजनेशमार्फत प्रशस्त पैसा कमाउन सकिन्छ भन्ने झुटो प्रलोभन देखाउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुले विगत २ बर्षदेखि कावासोती ८ मा कार्यालय नै स्थापना गरेर बसेको पाइएको उनले बताए । उनका अनुसार अहिलेसम्म चार जनाले मात्र लिखित जाहेरी दिए पनि ठगिएका ८ जना प्रहरीको सम्पर्कमा आएकाका छन् भने नवलपुर जिल्ला भित्रकै मात्रै २५ जना भन्दा बढीलाई ठगी गरेको पाइएको छ ।
प्रहरीका अनुसार उनीहरुले १८ वर्ष मुनिका किशोर किशोरी समूहलाई बढी प्रलोभनमा पार्ने गरेको पाइएको छ। तिमध्ये किशोरी बढी रहेका छन् । घिमिरेका अनुसार उनीहरुले अनलाइन विजनेश गर्न सिकाउने बहानामा सुरुमा थोरै थोरै रकम लिने र पछि लगानी गर्नुपर्छ भन्दै धेरैधेरै रकम उठाउने गरेको पाइएको छ ।
एक जनासँग एक लाख ८० हजारसम्म ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । अहिलेसम्म जाहेरी आएका चार जनालाई चार लाख बढी ठगेको पाइएको उनले बताए ।
उनीहरुले काम पनि लगाइदिने भनि रकम लिएर पनि काम नलगाइदिने तथा विभिन्न कम्पनीबाट उत्पादन गरिएका सामानहरु खरिदको रकम हाल्न लगाउने, सामान नदिने र रकम फिर्ता माग्दा समेत फिर्ता नदिएको भनि पीडितहरुले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ हो । उनीहरुलाई अनुसन्धानको लागि पक्राउ गरी ठगी सम्बन्धी कसूरमा नवलपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक घिमिरेले बताए ।
उनीहरुले सुरुसुरुमा सामाजिक सञ्जालमार्फत आकर्षक आम्दानीको बाहानामा किशोरकिशोरीहरुलाई सम्पर्कमा ल्याउने र विस्तारै ठूलो रकम ठग्ने गरेको पाइएको हो ।
प्रकाशित : २०८२ भदौ ५ गते ९:५२
Facebook Comment