कावासोती । नवलपुरमा ४७.३९ प्रतिशत नागरिक स्वास्थ्य बीमाको दायराभित्र समेटिएका छन् । सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा साउन २२ गतेसम्म जिल्लाको कुल जनसंख्याको ४७.३९ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका हुन ।
राष्ट्रिय जनगणना २०७८ अनुसार ३ लाख ७८ हजार ७९ जनसंख्या रहेको नवलपुरमा ४७.३९ प्रतिशत अर्थात १ लाख ७९ हजार २ सय ८ जना नागरिक स्वास्थ्य बीमा आबद्ध भएका स्वास्थ्य बीमा बोर्ड नवलपुरका संयोजक कृष्णबहादुर साउदले जानकारी दिए ।
नागरिकको स्वास्थ्य उपचारसम्बन्धी अधिकारलाई बीमा मार्फत सुनिश्चित गर्नका लागि आर्थिक वर्ष २०७१/७२ को बजेटमार्फत घोषणा गरेको स्वास्थ्य बीमा कार्यक्रम नवलपुरमा वि.स २०७६ देखि सुरु भएको हो । सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम देशव्यापी बनेको भए पनि जिल्लाको आधा भन्दा धेरै जनसंख्या स्वास्थ्य बीमाको पहुँचबाट बाहिर रहेका छन ।
कुन स्थानिय तहमा कति ?
बोर्डको जिल्ला कार्यालयको तथ्यांक अनुसार बीमा कार्यक्रममा सहभागी हुनेहरुको संख्या गैंडाकोट नगरपालिकमा धेरै रहेको छ । यहाँ का ३९ हजार ९ सय ४६ जना नागरिक बीमाको सक्रिय बीमित रहेका छन् । यसैगरी कावासोती नगरपालिकाका ३३ हजार ६ सय ७१, देवचुली नगरपालिकाका २९ हजार ३५, मध्यविन्दुका २३ हजार ९ सय १३, हुप्सेकोटका ७ हजार ८ सय ५२, विनयीत्रिवेणीका ४ हजार ८, बौदीकालीका ३ हजार ६ सय ४ र बुलिङ्गटारका २ हजार ३ सय ८५ जना नागरिक स्वास्थ्य बीमाको सक्रिय बीमित रहेका जिल्ला संयोजक साउदले जानकारी दिए ।
४७.३९ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका भए पनि नविकरण गर्ने अर्थात सक्रिय बिमितको संख्या भने कम रहेको छ । स्वास्थ्य बीमामा आबद्ध भएका १ लाख ७९ हजार २ सय ८ जना नागरिक मध्ये जिल्लामा ३४ हजार ७ सय ९४ जना अर्थात १९.४१ प्रतिशत बीमितले स्वास्थ्य बीमाको नविकरण नगराएका संयोजक साउदले बताए ।
संयोजक साउदका अनुसार जिल्लामा २ सय ४६ जना महिला स्वास्थ्य स्वयंसेविकाका परिवार, क वर्गका अपांगता भएका ७६५ परिवार र १७ हजार ४० जना जेष्ठ नागरिक पनि स्वास्थ्य बीमा आबद्ध रहेका छन । सरकारले जेष्ठ नागरिक र क वर्गका अपांगता भएका परिवारलाई निशुल्क र महिला स्वास्थ्य स्वयंसेविकाका परिवारलाई स्वास्थ्य बीमामा ५० प्रतिशत छुट दिदै आएको छ ।
प्रकाशित : २०८२ साउन २३ गते १३:०७
Facebook Comment