नवलपुरमा सवारी दुर्घटनामा परेर ११ महिनमा ३९ जनाले ज्यान गुमाए

NAWALPUR TIMES
प्रकाशित : २०८२ जेठ २६ गते १६:५८
नवलपुरमा सवारी दुर्घटनामा परेर ११ महिनमा ३९ जनाले ज्यान गुमाए

कावासोती । नवलपुरमा चालु आर्थिक वर्षको ११ महिनामा ९९ वटा सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा परी ३९ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक जनकराज वन्जराले जानकारी दिए ।

आज आइतबारदेखि सुरु भएको ट्राफिक सप्ताहको उद्घाटन कार्यक्रममा वन्जराले दिएको जानकारी अनुसार दुर्घटनामा १३६ जना घाइते भएका छन् । गत आर्थिक वर्षमा १३५ वटा सवारी दु्घटना हुँदा ४६ जनाको मृत्यु भएको थियो भने १५७ जना घाइते भएका थिए ।

सडक दुर्घटना सम्बन्धी सचेतना कार्यकमहरु सञ्चालन गरिए पनि उल्लेखनीय उपलब्धी हाँसिल गर्न नसकिएको बन्जराले बताए ।

ट्राफिक नियमको अवज्ञा, अनियन्त्रित गति, मदिरा सेवन र न्युन ट्राफिक संरचनाका कारण दुर्घटना हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले बताए ।

त्यस्तै सवारी चालकको लापरवाही, ट्राफिक नियम पालनामा उदासिनता, चेतनाको कमी, सडकको अवस्था, सवारीको यान्त्रिक अवस्था लगायत कारणले पनि दुर्घटना बढिरहेको प्रहरीले जनाएकोछ ।

नवलपुरमा मात्र ६९ किलोमिटर र ७८ किलोमिटरका दुई वटा राजमार्ग नर्माणाधिन अवस्थामा छन् । निर्माणाधिन सडकका कारण पनि दुर्घटना भईरहेको प्रहरीको भनाइ छ ।

ट्राफिक सप्ताहको अवसरमा कुशल चालकको रुपमा कावासोतीका बस चालक जित बहादुर ढिस्वा मगर र कावासोतीकै अटो चालक भिम प्रसाद काफ्लेलाई कदर पत्रसहित प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेबाट सम्मान गरिएको थियो ।

प्रकाशित : २०८२ जेठ २६ गते १६:५८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI