२३ महिनाको “माईला”लाई सदर चिडियाखाना पठाईयो

सन्जय भट्टराई
प्रकाशित : २०८२ जेठ २३ गते १२:४७
२३ महिनाको “माईला”लाई सदर चिडियाखाना पठाईयो

कावासोती । चितवन राष्ट्रिय निकुञ्जबाट २३ महिनाको भाले गैँडा माईलालाई सदर चिडियाखाना ललितपुर पठाईएको छ ।

सौराहामा रहेको प्राकृतिक संरक्षण कोषमा हुर्काईएको भाले गैँडालाई बुधबार ललितपुरमा रहेको सदर चिडियाखानामा पठाईएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए । बर्दिया राष्ट्रिय निकुञ्ज मा टुहुरो अवस्थामा रहेको “माईला”लाई सौराहाको प्राकृतिक संरक्षण कोषको कार्यालयमा ल्याएर हुर्काईएको थियो ।

वन तथा वातावरण मन्त्रालयले गत वैशाख २४ गतेको सौराहामा हुर्किएका २३ महिनाको “माईल” र ३० महिनाको पोथी गैंडा “पुजा”लाई सदर चिडियाखाना ललितपुर पठाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार बुधबार दुवै गैँडालाई पठाउने तयारी गरिएको भए पनि “पुजा” खोरमा जान नमानेपछि “माईला”लाई एक्लै पठाईएको हो । मन्त्रालयको निर्णय अनुसार “पुजा”लाई पनि केही दिन पछि सदर चिडियाखाना पठाईने सूचना अधिकारी थापाले बताए ।

सदर चिडियाखानामा गैंडा हेर्न आउने पर्यटकलाई देखाउनका लागि गैंडाका बच्चा लगिएको हो । हुर्काइएका गैंडा लैजाँदा मानविय क्षति कम हुने भएकाले यस्ता गैंडा लगिने गरेको छ ।

प्रकाशित : २०८२ जेठ २३ गते १२:४७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI