संकटमा घडियाल

NAWALPUR TIMES
प्रकाशित : २०८१ माघ ५ गते १८:२७
संकटमा घडियाल

सन्जय भट्टराई, कावासोती । आईयुसियनको अति संकटापन्नमा सूचीकृत घडियाल गोहीको संरक्षणका लागी वि.स २०३५मा घडियाल प्रजनन केन्द्र स्थापना गरेर विगत ४० वर्ष अगाडीबाट राप्ती र नारायणी नदिमा वर्षेनी प्रजनन केन्द्रमा जन्मेर हुर्केका घडियाल गोहीका बच्चा छोडने गरिन्छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापाका अनुसार नारायणी र राप्तीमा हाल सम्म २ हजार १८ वटा गोहीका बच्चा छोडियो । गोही सामान्यता ३० देखि ३५वर्ष बाँच्छ तर चितवन राष्ट्रिय निकुञ्जले गत साता नारायणी र राप्ती नदिमा सम्पन्न गरेको गोहीको गणनामा ३ सय ५२ मात्रै घडियाल गोही फेला परे ।

घडियाल गोहीको प्रमुख बासस्थान रहेको नारायणी र राप्ती नदिमा मानवीय चाप र प्रदुषणको जोखिम बढदै गए पछि घडियाल संरक्षणमा चुनौती देखिएको छ । नदीमा जथाभावी ढल मिसाउने, नदी किनारमा फोहोर थुपार्ने, कृषिमा विषादी धेरै प्रयोग गर्ने जस्ता कारणले घडियालको बासस्थाननै संकटमा परेपछि घडियाल संरक्षणमा चुनौती थपिएको विज्ञहरु बताउँछन ।

आफ्नो जीवनको ३५ वर्ष चितवन राष्ट्रिय निकुञ्ज र त्यसपछिको २० वर्ष संरक्षणको क्षेत्रमा खर्चेका निकुञ्नका पूर्व प्रमुख संरक्षण अधिकृत रामप्रीत यादव घडियाल संरक्षणको मुख्य चुनौती नदिमा हुने प्रदुषणलाई देख्छन । मानवीय गतिविधी, नदि दोहन जस्ता कार्यले घडियालको बासस्थान मात्रै नभएर घडियालको अस्तित्वनै संकटमा पुगेको यादवले बताए । “अहिले नारायणीमा भन्दा धेरै राप्तीमा घडियाल छन, तर नारायणी भनेको धेरै घडियाल पाईने नदि थियो, प्रदुषणले नारायणीलाई धेरै नै बिगा¥यो”, यादवले भने । घडियाल प्रजनन केन्द्र स्थापना भए पछि ४० को दशकमा नवलपुरको त्रिवेणी देखि कालिगण्डकी किनारमा रहेको छरछरे सम्म गोहीको अन्डा संकलन गर्न हिडेको सम्झदै यादवले भने “घडियालको अन्डा खोज्न देवघाट बाट दिनभर हिडेर छरछरे सम्म पुगेको छु, अहिले त त्यही शिख्रौलीमा पनि पाईदैन होला ।” त्रिवेणी देखि भेलौजी, बगुवन, विनयी खोला, कछौना, भोसरघाट क्षेत्रमा प्रस्शत गोही फेला परेको सम्झदै यादवल भने, “अहिले त नवलपुरको किनारमा त पानी नै छैन अरे !”

नारायाणी नदिमा वर्षायाममा आउने भेलमा घडियाल बगेर त्रिवेणी बाध पारी पुग्नु पनि घडियाल कम हुनु अर्को प्रमुख कारण रहेको यादवले बताए । “वर्षामा आउने बाढीमा बगेर गोही बगेर त्रिवेणी भन्दा तल पुग्छन र फर्कन सक्दैनन, यसैले पनि नेपाल तर्फको नारायणी र राप्तीमा गोही कम देखिएको हुन सक्छ”, यादवले भने । त्रिवेणी देखि तल भारत तर्फ नेपालबाट बगेर गएका घडियाल धेरै रहेको र उनीहरु फर्केर नेपाल तर्फ भने आउन नसक्ने उनले बताए । “गण्डक बाँधमा माछा लगाएतका जलचरका लागी कृत्रिम भ¥याङ छैन, बाँध तल पुगे पछि घडियाल मात्रै होइन, माछा पनि फर्किन सक्दैनन ।”, यादवले भने ।

पानी भित्र रहेको ढुंगामा लाग्ने खैरो र हरियो लेउ माछा लगायत जलचरले खाने भए पनि अहिले पानीभित्र ढुंगाको कमी हुनाले घडियालको मुख्य आहारा माछाको कमि हुदाँ घडियाल समेत कम हुदैँ गएको उनको भनाइ छ । “पानीभित्र ढुंगामा लागेको लेउ र माछाको भुँडीको स्वाद उस्तै तीतो हुन्छ । यसको अर्थ माछा जस्ता जलचरको एउटा आहारा लेउ पनि हो”, यादवले भने । त्यस्तै नदीका छेउमा बगाएर ल्याइएका रुख, मुढा मान्छेले लगिदिँदा जलचरले गुँड लगाउन र बस्न नपाएको उनको भनाइ थियो । माछा मार्नेहरुको तियारी जालमा परेर गोही मर्ने देखि लिएर चितवनको देवघाट देखि नवलपुरको त्रिवेणी सम्म विभिन्न स्थानमा दिनहुँ ठूलो संख्यामा शव दहन गरिँदा कोइला, धुवाँ लगायतले बालुवा र नदीभित्र पनि प्रदूषण बन्ने गरेको र त्यसको प्रभाव प्रत्यक्ष रुपमा घडियाल लगाएतका जलचरमा पर्ने गरेको यादव बताउँछन ।

पुस र माघ महिनामा धेरै जाडो हुने भएकाले घडियालहरु घाम ताप्न बाहिर किनारमा निस्कने हुदाँ यहि समयमा घडियालको अनुगमन र गणना गर्ने गरिन्छ । फागुन महिना लागे सँगै बिस्तारै नदिमा पानीको बहाव पनि बढदै जान्छ र घडियालहरु पनि बिस्तारै अन्डा पार्ने सुरक्षित स्थानको खोजीमा लाग्छन । उनीहरुले चैतको अन्तिम देखि वैशाख महिनामा अनुकुल वातावरणमा नदि किनारको बालुवामा गुँड बनाएर अन्डा पार्ने गर्दछन । नदि किनारको बालुवामा घडियालले पारेका अन्डा संकलन गरेर निकुञ्जको कसरा स्थित गोही प्रजनन केन्द्रमा लगेर आवश्यक तापक्रममा राखेर बच्चा निकालेर वर्षेनी नारायणी, राप्ती सहित देशका विभिन्न नदिमा छोडने गरिन्छ ।

यसरी कृत्रिम रुपमा पोखरीमा हुर्केका घडियालका बच्चा नदिको पानी घुलमिल हुन नसक्दा सानो भेलले पनि बगाउने बगाएर भारत पु¥याउने गरेको घडियाल प्रजनन केन्द्रकी प्रमुख सुजिता श्रेष्ठले बताईन । त्यो बाहेक पोखरीमा हुर्किएका बच्चा आहारा समात्न समेत अभ्यस्त नहुने हुदाँ आहाराको कमिले कतिपय घडियालका बच्चाहरु व्यस्क नहुदैँ मर्ने गरेको उनको भनाई थियो । प्राकृतिक रुपमै घडियाल प्रजातीको गोहीमा भालेको संख्या निकै कम हुन्छ । भरखरै सकिएको गोही गणनामा समेत राप्तीमा २ र नारायणीमा ३ वटा भाले गोही फेला परेको थियो । विज्ञहरका अनुसार प्रजननका क्रममा अन्डा कोरल्ने बेलामा ३० देखि ३२ डिग्री सेल्सियस तापक्रम भएमात्रै भाले जन्मिने हुन्छ । “यसबाट तलमाथि भए पोथी जन्मन्छ”, श्रेष्ठले भनिन, “भालेको संख्या असाध्यै थोरै हुन्छ । बच्चा हुर्काउन पनि सजिलो छैन, बाँच्नेको संख्या निकै कम हुन्छ ।”

नदिमा घडियाल हुनु भनेको नदिकोको पानी पिउन योग्य रहेको  सूचक पनि भएकाले घडियाल संरक्षणका लागी नदि प्रदुषण बाट मुक्त हुनु पर्ने निकुञ्जका संरक्षण अधिकृत अविनाश थापा बताउछन । निकुञ्जको क्षेत्र भन्दा माथिल्लो क्षेत्रमा भएको प्रदुषणको असर तलैसम्म परेकाले निकुञ्जको प्रयास सँगै माथिल्लो क्षेत्रका स्थानिय तहहरुले पनि नदि संरक्षणमा काम गर्नु पर्ने थापाले बताए । “चोरी शिकारीबाट जोगिएको घडियाल प्रदुषणका कारणले सकंटमा परेका छन, वर्षायामाम नदिले बगाएर ल्याएका फोहोरका कारणले गोहीको बासस्थान संकटमा छन”, थापाले भने, “स्थानिय तहहरुका हरेक पटकका बैठक अन्तरक्रियामा नदि प्रदुषणका विषयमा ध्यानाकर्षण गराएका छौँ, निकुञ्जले आफ्नो क्षेत्रभन्दा बाहिर गएर संरक्षण गर्न सक्दैनौ, नदीको माथिल्लो क्षेत्रबाट हुने प्रदुषण नियन्त्रण चुनौती भएको छ ।”

 

प्रकाशित : २०८१ माघ ५ गते १८:२७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI