कावासोती । आठौं नवलपुर महोत्सव माघ २५ गतेदेखि फागुन १० गते सम्म सन्चालन हुने भएको छ । नवलपु्र उद्योग वाणिज्य संघको आयोजनामा आठौं नवलपुर महोत्सव हुने भएको हो । नवलपुर उद्योग वाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर महोत्सवको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष एवं आठौं नवलपुर महोत्सव मुल समितिका संयोजक वैकुण्ठप्रसाद अर्यालले पर्यटन कृषि उद्योग र व्यापारको उत्सव : समृद्ध नवलपुरका लागि आठौं महोत्सव भन्ने मुल नाराका साथ महोत्सवको आयोजना गरिएको बताए ।
यस पटकको महोत्सवमा नवलपुरमा पहिलो पल्ट ईफिल टावर, फिस टनेल, सुनामी झुला आकर्षणको रुपमा रहने बताईएको छ । त्यसै गरी महोत्सवमा विभिन्न जातजातिको कला प्रर्दशनी, स्थानीय एवं राष्ट्रिय कलाकारहरुको प्रस्तुति, जिल्लामा उत्पादित वस्तुको प्रर्दशनी, एक पालिका एक कृषि प्रवर्द्धन अन्तर्गत कृषि प्रर्दशनी, शैक्षिक अनुसन्धान र नव प्रवर्तन कार्य प्रोत्साहन कार्यक्रम, रत्यौली प्रतियोगिता, नवलपुर डान्स आईडिएल, श्रष्टा सम्मान तथा रचना वाचन लगाएतका कार्यक्रम रहने पत्रकार सम्मेलनमा जानकारी दिएको हो । महोत्सव परिसरमा निशुल्क आँखा परिक्षण शिविर सन्चालन गरिने र त्यहाँ फेला परेका मोतियाविन्दुका बिरामीलाई निशुल्क अपरेसनको व्यवस्था मिलाईएको महासचिव सागर पोख्रेलले जानकारी दिए । यस पटक धुलो रहित महोत्सव हुने र विगतका वर्षका भन्दा महोत्सव फरक हुने र यसले समग्र नवलपुरको आर्थिक तथा पर्यटकिय सम्भावनालाई थप उजागर गर्ने उनले बताए ।
५ करोड रुपैंया आर्थिक कारोवार हुने लक्ष्य लिएको उद्योेग वाणिज्य संघले महोत्सवमा ७५ लाख आम्दानी, ५० लाख खर्च र २५ लाख वचत हुने अनुमान गरेको छ । ८० हजारले प्रत्यक्ष तथा करीव ५ लाख जनाले महोत्सवको अप्रत्यक्ष अवलोकन गर्ने आयोजकले दावी गरेको छ ।
महोत्सवमा प्रवेश शुल्क १ सय रुपैंया कायम गरिएको छ । विद्यार्थीका लागि ६० रुपिया र मा ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
महोत्सव कावासोती-१६ को अंकुर आर्दश सामुदायिक वन कार्यालय परिसरमा सन्चालन हुने जनाईएको छ ।
प्रकाशित : २०८१ माघ ४ गते ९:५४
Facebook Comment