एचपीभी खोप लगाउन किन जरुरी छ?

NAWALPUR TIMES
प्रकाशित : २०८१ माघ २ गते २०:३६
एचपीभी खोप लगाउन किन जरुरी छ?

कावासोती । पाठेघरको मुखको क्यान्सरलाई एचपीभी भाइरस अर्थात् ह्युमन प्यापिलोमा भाइरसबाट हुने क्यान्सर भनिन्छ। यो क्यान्सर विश्वभरका महिलामा धेरै लाग्नेमा चौथो नम्बरमा पर्छ। यसकै कारण हरेक वर्ष तीन लाख महिलाको ज्यान जाने गरेको छ।

ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) यौन सञ्चारित रोगको सूचीमा पर्ने सबैभन्दा सामान्य समस्या हो। एचपीभी संक्रमण सङ्क्रमित व्यक्ति (पुरुष वा महिला)को सम्पर्कमा आउँदा हुन्छ । जसकारण शरीरका केही विशेष अङ्ग खासगरी यौनाङ्गमा मुसा बन्न थाल्छ ।  यदि यो भाइरस लामो समयसम्म शरीरमा रह्यो भने यसले क्यान्सर निम्त्याउन सक्छ। तर यस क्यान्सरबाट बच्न एचपीभी खोप लगाउन सकिन्छ ।

नेपालमा यही माघ २२ गतेदेखि एचपीभी खोप अभियानमार्फत कक्षा ६ देखि १० मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १०–१४ वर्षकी किशोरीलाई खोप लगाइने छ। पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले एचपीभी खोप अभियान २०८१/८२ सञ्चालन गर्ने निर्णय गरिसकेको छ।

किन जरुरी छ यो खोप?

ह्युमन प्यापिलोमा भाइरसका कारण महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्छ। यसले मलद्वार, योनी र घाँटीको पछाडिको भागमा छिटो आक्रमण गर्छ।

ह्युमन प्यापिलोमा भाइरस विरुद्ध सुरक्षा गर्न खोप निर्माण भएको हो। एचपीभी भ्याक्सिन बी प्रकारको ह्युमन प्यापिलोमा भाइरसबाट जोगाउन सहयोगी भएको देखाइएको छ। सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनमा प्रकाशित प्रतिवेदनअनुसार महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिमलाई ध्यानमा राख्दै एचपीभी भ्याक्सिन बालिकाका लागि अनिवार्य घोषणा गरिएको छ।

यस अनुसन्धान प्रतिवेदनमा भारतको तथ्याङ्कको चर्चा गरिएको छैन, तर सन् २०१६ मा संयुक्त राज्य अमेरिकामा १२ हजार महिलामा पाठेघरको मुखको क्यान्सर भएको पत्ता लागेको थियो। यी १२ हजार महिलामध्ये चार हजार महिलाको पनि यही कारणले मृत्यु भएको थियो । यो संख्या प्रकाशित गर्नुको उद्देश्य यस रोगबारे सचेत गराउनु र एचपीभी खोपको आवश्यकता बुझाउनु हो।

एचपीभी भाइरससँग सम्पर्कमा आउनुअघि नै खोप पाउन सके त्यसले सबभन्दा राम्रो परिणाम दिन्छ।

कुन उमेरका महिलालाई एचपीभी खोप सिफारिस गरिन्छ ?

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनमा प्रकाशित प्रतिवेदन अनुसार विभिन्न उमेरका युवतीहरुलाई एचपीभी खोप दिन सकिन्छ। जसमा ११ देखि १२ वर्षका किशोरी र  १३ देखि २६ वर्षका किशोरी र युवतीहरुका लागि एचपीभी खोप लगाउन सिफारिस गरिन्छ।

यी दुई फरक चरणमा खोप सिफारिस गरिन्छ। यसबाहेक एचपीभी खोप नौ वर्षको उमेरमा पनि दिन सकिन्छ। तर अनुसन्धान रिपोर्टअनुसार ११ देखि १२ वर्षको उमेरभित्रमा एचपीभी खोप दिइयो भने क्यान्सरको सम्भावना कम गर्न बढी प्रभावकारी हुने देखिन्छ।

गर्भावस्थामा एचपीभी खोप लगाउनु उचित हुन्छ?

एचपीभी खोप गर्भवती महिलालाई दिइँदैन। महिलालाई कुनै रोग लागेमा त्यस्तो अवस्थामा पनि खोप दिइँदैन। नेसनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेसनमा प्रकाशित प्रतिवेदन अनुसार एलर्जीको समस्याबाट पीडित व्यक्तिले एचपीभी भ्याक्सिन लिनुअघि चिकित्सकलाई जानकारी गराउनुपर्छ। साथै, अन्य कुनै स्वास्थ्य समस्या भएका महिलाले पनि खोप लगाउनुअघि चिकित्सकको परामर्श लिनुपर्छ।

उच्च जोखिम कसलाई?

अत्यधिक मदिरा सेवन गर्ने,एकभन्दा बढी व्यक्तिसँग यौन सम्पर्क गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका महिला र पुरुषमा उमेरसँगै एचपीभीको जोखिम बढ्छ।

एचपीभी खोपको साइड–इफेक्ट हुन्छ?

एचपीभी खोप लगाएपछि सामान्य असुविधाको सामना गर्नुपर्ने हुनसक्छ। जस्तै,दुखाइ, सुई लगाएको ठाउँमा सुन्निने रातो हुने हुन्छ। यी समस्याबारेमा चिन्ता गर्नुपर्दैन, किनकि ती साइड-इफेक्ट दुई-तीन दिनमा आफैं निको हुन्छ। तर यो समस्या लामो समयसम्म रह्यो वा अन्य कुनै शारीरिक समस्या देखिएमा ढिलो नगरी चिकित्सकको सल्लाह लिनुपर्छ।

 

प्रकाशित : २०८१ माघ २ गते २०:३६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI