कविता : चालिसे त सङ्क्रमण रहेछ

NAWALPUR TIMES
प्रकाशित : २०८१ पुष २९ गते १९:३८
कविता : चालिसे त सङ्क्रमण रहेछ

राजन पाण्डे-

मध्यन्तर पुगेको फिल्म जस्तो लाग्दो रहेछ जिन्दगी ।
यस्तै-यस्तै त हो कथा जस्तो पनि लाग्ने ।
कलाकार यही हो। कला यही हो।
गति यस्तै हो ।मति यस्तै हो ।
खास नयाँ हुँदैन जस्तो लाग्ने ।
होइन ! कथाले मोड लिन पनि सक्छ जस्तो पनि लाग्ने ।
त्यसैले होला,
चालिसे त सङ्क्रमण रहेछ।

एउटा खुट्टा डुङ्गामा टेके जस्तो लाग्ने,
अर्को खुट्टा किनारैमा भए जस्तो पनि लाग्ने ।
समय त बितिसक्यो जस्तो पनि लाग्ने ।
समय अझै बाँकी छ नि भन्ने पनि लाग्ने ।
त्यसैले होला,
चालिसे त सङ्क्रमण रहेछ।

अरुले काँचो देख्दा, आफूले जान्ने देखिन्छ ।
अरुले पाको देख्दा, आफूले युवा देखिन्छ।
जे हो त्यो स्वीकार्नै मन नलाग्ने ।
त्यसैले होला,
चालिसे सङ्क्रमण रहेछ।

बितेका कण,क्षण र प्रणहरूको लोभ लागेर आउने ।
कर्तव्य र सपनाको तापले अझै जोश जागेर आउने ।
त्यसैले होला चालिसे,
मध्यावधि समीक्षा रहेछ।
ओज, खोज र सोंचको संगम रहेछ।

प्रकाशित : २०८१ पुष २९ गते १९:३८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI