शास्वतधाममा ५० लाख दर्शनार्थीः शनिबार दर्शनार्थी सम्मान गरिने

NAWALPUR TIMES
प्रकाशित : २०८१ पुष २६ गते २०:१४
शास्वतधाममा ५० लाख दर्शनार्थीः शनिबार दर्शनार्थी सम्मान गरिने

कावासोती । शास्वतधाममा ५० लाख दर्शनार्थीले भ्रमण अवलोकन गरेको अवसरमा बिशेष कार्यक्रम हुने भएको छ ।

पुस २७ गते शनिबार शास्वतधाम परिसरमा आगन्तुक दर्शनार्थी स्वागत–सम्मान सहित विभिन्न धार्मिक साँस्कृतिक कार्यक्रमहरु हुने शास्वतधाम ब्यवस्थापन पक्षले जनाएको छ ।
द्यर्शनार्थी सम्मान तथा विविध कार्यक्रमका संयोजक घनश्याम चालिसेका अनुसार राष्ट्रिय–अन्तरराष्ट्रिय रुपमा प्रख्यात धार्मिक अभियन्ता–अगुवा, राष्ट्रिय स्तरका विशिष्ट ब्यक्तित्वहरु,, जनप्रतिनिधि, जिल्लास्थित कार्यालयका प्रमुख प्रतिनिधि र संघसंस्थाका पदाधिकारी प्रतिनिधिहरु, स्थानीय टोल, आमा समूह, सामाजिक अगुवाहरू समेतको उपस्थितिमा उत्सवमय समारोह हुने चालिसे बताउँछन् ।

यस्तै, काठमाण्डौ उपत्यकामा लोकप्रिय साँस्कृतिक झाँकी सहितको महाकाली नागचा नाच उपत्यका बाहिर पहिलोपटक शास्वतधाममा प्रस्तुत गरिने पनि जनाईएको छ ।

धर्म–संस्कृतिको संरक्षण, धर्मप्रतिको श्रद्धा, आस्था र बिश्वास जागरण मार्फत पर्यटन प्रवद्र्धन र पर्यटकको आकर्षण बढाउने ध्येयका साथ हुने एक दिवसीय कार्यक्रममा स्थानीय मौलिक संस्कृति, रहनसहन, भेषभुषा र बाजागाजा सहितका थारु, मगर, लामा–गुरुङ, व्राम्हण जातिका मौलिक झाँकीसहितका नृत्य र साँस्कृतिक प्रस्तुतिहरु समावेश गरिने पनि जनाईएको छ ।

चौधरी ग्रुपको निजी लगानीमा बनेको शास्वतधाममा कलात्मक मन्दिर, गुरुकुलीय विद्यापीठ, बौद्ध चैत्य–गुम्बा, संग्रहालय, शाकाहारी भोजनालय जस्ता दर्शन, अवलोकन, भ्रमण र बिश्रामका लागि उपयुक्त स्थलहरु छन् ।
यहाँ घुम्न पुग्ने भ्रमणकर्ताको मन आनन्दित र आँखा लोभ्याउने कलात्मक बुट्टा बाहेक धर्म–संस्कृतिसँग सम्वन्धित कलात्मक भित्ते चित्र, पानीका फोहोरा सहितका पोखरीहरु, रंगीवि।ंरंगी फूल–बगैचा–हरियाली, सजिला पदमार्ग र रंगीन विजुलीबत्तीको उज्यालो प्रकाश धाममा लोभ्याउने आकर्षण पक्षहरु हुन् ।

पुर्व–पश्चिम मुख्यमार्गको मध्यभाग नवलपुर जिल्लाको देवचुली नगरपालिका वडा नं. २ दुम्कौलीमा मुख्य सडक आडैमा रहेको शास्वत धाम धार्मिक पर्यटक मात्रै नभएर शैक्षिक अध्ययन भ्रमणमा आउने विद्यार्थी, शिक्षक, अभिभावक, सामुदायिक, संस्थागत, सरकारी संघसंस्था–निकायका सञ्चालक, पदाधिकारी, कर्मचारी र पुर्वपश्चिम यात्रा गर्ने यात्रुहरु समेतले भ्रमण गर्ने प्रमुख र आकर्षणको गन्तब्य पनि हो ।

विशेष गरी नेपाल र भारतका आगन्तुकहरुको उल्लेख्य आगमन हुने शास्वतधाम चीन, थाइल्याण्ड, म्यानमार, भुटान, बंगलादेश, श्रीलंका लगायत नेपाल घुम्न आउने विदेशी पर्यटक पाहुनाहरुको भ्रमणका लागि रोजाईको गन्तब्य पनि बनेको छ ।

प्रकाशित : २०८१ पुष २६ गते २०:१४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI