सन्जय भट्टराई, कावासोती । कावासोती-१३ मा भोसरघाटमा दाहासंस्कारका लागि सोमबार दिउँसो पुगेका कावासोती-११ का स्थानीयहरुलाई नदिमा पानी निकै कम हुदा संस्कार अनुसार दाहासंस्कार पछि नुहाउन र सरसफाइ गर्न निकै समस्या भयो । भोसरघाटबाट केही तल गोहिठिस भन्ने ठाउँ छ, जुन ठाउँमा पहिले सहजै घडियाल गोहि सहजै देखिन्थ्यो, तर अहिले गोहि मात्रै होइन त्यहाँ नारायणी नदिमा पानी निकै कम थियो । नारायणीको बहाव हेर्दा सहजै हिडेरै पार गर्ने सकिने अवस्था थियो । नारायणी नदि किनारमा रहेका गैँडाकोट देखि त्रिवेणी सम्मका अधिकांश घाटमा पानी निकै कम छ । यो समस्या अहिलेको मात्रै होइन , बिगत केही वर्ष देखि चितवन तर्फ नारायणी नदिको उत्खनन् धेरै हुँदा नदि गहिरिएर दक्षिणी भंगालोमा पानीको बहाव धेरै हुँदा उत्तरी भंगालो भने हिउँद लागे पछि सुख्खा ग्रस्त हुँदै गएको छ ।
नारायणघाटमा रहेको नारायणी नदिको पुल देखि केही किलोमिटर तल शिख्रौलीघाट बाट नारायणी नदि दुई वटा भंगालोमा बाडिएर बगेको छ । नवलपुर तिर बग्ने भंगालोलाई उत्तरी र चितवन तर्फ बग्ने भंगालोलाई दक्षिणी भंगालो भन्ने गरिन्छ । यति बेला नारायणी नदिको पानी अधिकांश भाग चितवन तर्फको दक्षिणी भंगालोबाट बग्न थाले पछि नवलपुरको गैँडाकोट देखि त्रिवेणी सम्मका नदि किनार सुख्खा हुँदै गएको हो ।
चितवन तर्फ विकास निर्माण तथा नारायणी नदिको तटबन्धका लागि सेतिदेवि र मजुवा सामुदायिक वन आसपास अत्याधिक मात्रामा नदि उत्खनन गर्दा गहिरिएर नदिको बहाव दक्षिण भंगालो तर्फ सोझिदा नवलपुरका तटिय क्षेत्र सुख्खा हुने अवस्थामा पुगेका शिख्रौली उपभोक्ता समितिका अध्यक्ष उमेश शाहीले बताए । उत्तरी र दक्षिणी भंगालो अमलटारी घाटमा आएर मिसिने हुदा अमलटारी देखि शिख्रौली सम्मको उत्तरी भंगालो लगभग सुख्खा भए पछि नदि आश्रित वन्यजन्तु, जलचर मात्रै नभएर नदिबाट जिविकोपार्जन गर्ने ठूलो संख्याका सर्वसाधारण समस्यामा परेका हुन ।
नारायणी नदिको उत्तरी भंगालोमा पानी सुक्दै गए पछि नदिमा माछा मारेर जिविकोपार्जन गर्दै बोटे माझी मुसहरहरुलाई ठूलो समस्या बनाएको विगत ३५ वर्ष भन्दा अगाडी देखि नारायणीमा माछा मारेर जिविकोपार्जन गर्दै आएका देवचुलीका जितबहादुर मुसहरले बताए । नदिको उत्तरी भंगालोमा पानी सुक्दै गए पछि माछा मारेर त्यही माछा बेचेर परिवार पाल्दै आएका नवलपुरका तटिय क्षेत्रका प्राय: सबै बोटे माझी मुसहर समुदायलाई समस्या बनाएको उनले बनाए । “भंगालो पारी निकुञ्ज छ, त्यहा भित्रका घोलहरुमा गएर माछा मार्न पाईन्न, हामीले माछा मार्ने भंगालो सुकेको छ, माछा मारेर त्यही माछा बेचेर घरखर्च चलाउने गरिन्थ्यो अहिले निकै गार्हो छ”, उनले भने ।
प्राकृतिक कारणले नदिले धार परिवर्तन गर्नु स्वाभाविक भए पनि मानविय क्रियाकलापको कारण नदिको धार परिवर्तन हुनु दुखद भएको शिशवार उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डे बताउछ्न । चितवन तर्फ विकास निर्माणका लागि अत्याधिक मात्रामा नदि उत्खन्न गरिदा नवलपुर क्षेत्रको तटिय क्षेत्र सुख्खा ग्रस्त हुँदै गएको र यस्ले भविष्यमा यस क्षेत्रमा गम्भीर नकारात्मक असर पुर्याउने पाण्डेले बताए । धार्मिक आस्था सँग जोडिएको नारायणी नदिमा हिउँदको समयमा नवलपुर क्षेत्र तर्फ नदि स्नान लगाएतका धार्मिक अनुष्ठानका लागि समेत पानीको अभाव हुन लागेको पाण्डेले बताए । “यसरी नदिको पानी घटदै जादा धार्मिक, आर्थिक , पर्यटकिय गतिविधिमा गम्भीर नकारात्मक असर पर्ने भएकाले नदिलाई प्राकृतिक रुपमा नै बग्न दिनु पर्छ”, पाण्डेले भने ।
धेरै मात्रामा नदि जन्य पदार्थ उत्खनन् गर्दा नदिले धार परिवर्तन गरेर दक्षिणी भंगालो तर्फ गएको संरक्षणकर्मी एवं गैँडा संरक्षण समन्वय समिति नवलपुरका अध्यक्ष विष्णु अधिकारीले बताए । नारायणी नदिको उत्तरी भंगालो आश्रीत भएर नवलपुरका तटिय क्षेत्रमा सन्चालन भएका पर्यापर्यटनका गतिविधि सँगसँगै नदिमा आश्रीत जलचर र थलचर प्राणीलाई समेत यस्ले गम्भीर असर पार्ने उनको भनाई थियो । उत्तरी भंगालोमा नदिको पानी कमहुदाँ निकुञ्जका वन्यजन्तु समेत सहजै नवलपुर क्षेत्रका बस्तीमा प्रवेश गर्ने र यस्ले मानव वन्यजन्तु द्वन्द थप बढने अधिकारी बताउछ्न ।
नारायणी नदिको उत्तरी भंगालोमा पानीको सतह घटदै गए पछि निकुञ्जको सुरक्षा चुनौती बढेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्त बताउछ्न । “स्वाभाविक रुपमा उत्तरी भंगालोमा पानी कम हुँदा निकुञ्जको सुरक्षा चुनौती बढेको छ, आगामी दिनमा जैविक विविधता र नारायणी तथा निकुञ्ज आश्रीत जनसमुदायमा यस्ले गम्भीर असर पुग्ने देखिएको छ” पन्तले भने, यो विषयमा निकुञ्जले गम्भीरता पुर्वक छलफल अगाडी बढाएको पन्तले बताए । चितवन र नवलपुर दुवै तर्फका स्थानीय निकाय, सरोकारवाला सँग छलफल भएको र तत्कालका पानी उत्तरी भंगालो तर्फ लैजाने आवश्यक पहल सुरु गरिने उनले बताए । “तत्कालका लागि समस्या समाधान हुन्छ तर यो सधैको समस्या भएकाले नितिगत रुपमै यसको समाधान गर्नु पर्छ”, पन्तले भने ।
नवलपुरको तटिय क्षेत्र सुख्खा हुदै जाँदा यस्ले दिर्घकालिन रुपमा असर पुर्याउने आगामी दिनमा ठुला किसिमका विपतको सामान गर्नु पर्ने त्रास रहेको नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए । यसको दीर्घकालीन समाधान हुनु पर्ने पोख्रेल बताउछ्न । जिल्लाको विपत व्यवस्थापन समितिको बैठकले दीर्घकालीन रुपमा यस्को समाधान गरिदिन आवश्यक निर्णय गरेर राष्ट्रिय विपत न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाईएको प्रजिअ पोख्रेलले बताए ।
चितवन तर्फ अत्याधिक मात्रामा नदि उत्खनन हुँदा नारायणी दक्षिण तर्फ गहिरिएर उत्तरी भंगालोमा पानीको बहाव कम हुँदा नवलपुरको तटिय क्षेत्र सुक्दै गएको जिल्ला समन्वय समिति नवलपुरका अध्यक्ष बाबुराम विश्वकर्मा बताउछ्न । जिल्ला समन्वय समितिको पहलमा सरोकारवालाहरु सँग छलफल गरिएको र आगामी बिहिबार सम्म नारायणी नदिमा जेसिबी लगाएर भए पनि पानी फर्काउने अध्यक्ष विश्वकर्माले बताए । “अहिलेका लागि पानीको बहाव फर्काउने तर्फ लाग्छौँ, सँगसँगै यसको दीर्घकालीन समाधानका लागि आवश्यक पहलकदमी जिल्ला समन्वय समितिले लिएर काम गर्छ”, उनले भने ।
प्रकाशित : २०८१ पुष १६ गते १४:५६
Facebook Comment