रवि लामिछानेले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

NAWALPUR TIMES
प्रकाशित : २०८१ कार्तिक ४ गते १७:३८
रवि लामिछानेले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

कावासोती । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले आइतबार ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई गत शुक्रबारदेखि लागू हुनेगरी ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए ।

आइतबारको बहसमा जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी र पीडितका तर्फबाट वेदबहादुर विष्टले अनुसन्धानका लागि ६ दिनको म्याद थप गर्न माग गरेका थिए ।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए ।

जिल्ला अदालत कास्कीको पक्राउ पुर्जी जारी गरेसँगै शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेको थियो । उनलाई स्थलमार्ग हुँदै शनिबार बिहान पौन ३ बजे पोखरा ल्याइएको थियो । अदालतले शुक्रबार लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रकाशित : २०८१ कार्तिक ४ गते १७:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI