कावासोती । नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको छ । १२४ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०९ रनमा अल आउट भयो ।
नेपालका कप्तान रोहित पौडेलले ३९ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए । अन्य कुनैपनि ब्याटरको प्रदर्शन सम्झन लायक रहेन ।
ओपनर अनिल साह ९ र आसिफ शेख ८ रनमा आउट भए । देव खनाल ११, कुशल मल्ल १२, मध्यक्रममा झरेका कुशल भुर्तेल ७, दीपेन्द्रसिंह ऐरी ६, सोमपाल कामी १, सन्दीप लामिछाने १० र करण केसी ५ रनमा आउट भए ।
क्यानडाका कलिम सानाले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । साद बिन जाफरले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । प्रविन कुमार र अखिल कुमारले १-१ विकेट लिए ।
त्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ८ विकेट गुमाउँदै १२३ रन बनाएको थियो । साद बिन जाफरले १८ बलमा ३ चौकासहित सर्वाधिक २३ रन बनाए । श्रेयस मोभ्भाले २३ बलमा १ चौका र १ छक्कासहित २२, आरोन जोनसन ९, नवनित धालिवाल १४, निकोलस किर्टोन ५ र हर्ष ठाकेरले १ रन बनाए ।
तल्लोक्रममा प्रविन कुमारले १३ बलमा २ छक्कासहित १९ तथा अखिल कुमारले १४ रन जोडे । नेपालका स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।
दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा ११ रन खर्चेर १ विकेट लिए । डेब्यू गरेका बलर रिजन ढकालले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए ।
प्रकाशित : २०८१ असोज १३ गते ७:३०
Facebook Comment