विद्यालय जाँदा र घर फर्किंदा विद्यार्थीलाई ‘स्कर्टिङ’

NAWALPUR TIMES
प्रकाशित : २०८१ असोज १ गते ८:२९
विद्यालय जाँदा र घर फर्किंदा विद्यार्थीलाई ‘स्कर्टिङ’

चितवन : राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्र र आसपासका अन्य स्थानमा मानव र वन्यजन्तुबीच द्वन्द्व बढेको छ। त्यसैले भरतपुर महानगरपालिका क्षेत्रका विद्यालयमा सन्त्रास बढेको छ।

मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, निकुञ्ज मात्र होइन सामुदायिक वनबाट समेत वन्यजन्तुको सन्त्रास बढेपछि विद्यार्थीलाई सुरक्षाका लागि सामूहिक रूपमा सुरक्षा पहरासाथ विद्यालय लैजाने र ल्याउने गरिएको छ। भरतपुर महानगरपालिका-१, ठिमुरामा बाघको त्रास बढेसँगै विद्यालय जाने विद्यार्थीलाई सामुदायिक वन र अभिभावकले ‘स्कर्टिङ’ को व्यवस्था मिलाएका छन्।

ठिमुराबाट करिब डेढ किलोमिटर दुरीको रामनगर जङ्गलले परिचित सतनचुली सामुदायिक वन पार गरेर रामनगर माध्यमिक विद्यालय जानुपर्ने विद्यार्थीलाई स्थानीय अभिभावककै पहलमा सामुदायिक वनले पाले खटाएर ‘स्कर्टिङ’ को व्यवस्था गरेको हो। रामनगर माध्यमिक विद्यालय अभिभावक संघका अध्यक्ष रामकृष्ण भुजेलले बालबालिकाको सुरक्षाका लागि वनपालेले ‘स्कर्टिङ’ गराउनुपरेको बताए। उनका अनुसार विद्यालय जाने र फर्कने वेला विद्यार्थीलाई एकै ठाउँमा जम्मा पारेर वनपालेले ‘स्कर्टिङ’ गरी विद्यालय पुर्‍याउँछन्।

अध्यक्ष भुजेलका छोरा आदित्यकुमार  पनि उक्त विद्यालयमा कक्षा ९ मा पढ्छन्। ‘यही भदौ २३ गते बाघले एकै घरका छ वटा बाख्रा मारेपछि विद्यार्थीलाई ‘स्कर्टिङ’ गरेर विद्यालय पठाउन थालिएको हो’, उनले भने।  बाघले बाख्रा खाएकै ठिमुरा निवासी सानीमाया चेपाङकै दुई छोरी शर्मिला र मुना पनि रामनगर माध्यमिक विद्यालयकै विद्यार्थी हुन्। सानीमाया स्कुल पठाएका छोरीहरू घर नफर्किउञ्जेल चिन्ता हुने बताउँछिन्। ‘पढ्न त पठाउनै पर्‍यो। घर नफर्किएसम्म किन आएनन् भनेर मन ढुकढुक भइरहन्छ’, उनले भनिन्।

विद्यार्थी मात्र होइन, आधारभूत विद्यालय ठिमुराका प्रध्यानाध्यापक ज्योतिनारायण ढकाल पनि सोही जङ्गल पार गरेर विद्यालय पढाउन जान्छन्। भरतपुर घर भएका प्रअ ढकाल जाँदा आउँदा नियमित बँदेल, चितुवा, बाघलगायतका जनावर देखिरहने बताउँछन्।

ठिमुराबाट रामनगर निस्कने बिचमा पर्ने सतनचुली सामुदायिक वन क्षेत्र बरन्डाभार वन क्षेत्रमा पर्छ। जुन चितवन राष्ट्रिय निकुञ्जदेखि चुरे पहाड शृङ्खलासम्म बाघ, चितुवा, गैँडा जस्ता जनावर नियमित ओहोरदोहोर गर्ने क्षेत्र हो। विगत छ महिनामा ठिमुरा क्षेत्रमा बाघले ५० भन्दा बढी घर पालुवा जनावर मारिसकेको स्थानीयवासीले बताए।

‘यस्तो अवस्थामा बाघ, चितुवा जस्ता हिंस्रक जनावरबाट विद्यार्थीलाई बचाउनु अहिलेको चुनौती हो’, प्रअ ढकालले भने। कक्षा ७ सम्म त आधारभूत विद्यालय ठिमुरामै पढाइ हुन्छ। गाउँमा विद्यालय नभएपछि कक्षा ८ भन्दामाथिका विद्यार्थी घना वन क्षेत्र पार गरेर रामनगर पढ्न जान बाध्य छन्। रामनगर माध्यमिक विद्यालयको सेवा क्षेत्रको घरधुरी सर्वेक्षण प्रतिवेदन अनुसार ठिमुराबाट जङ्गल पार गरेर रामनगर माविमा ३० जना, नारायणगढको भानु माविमा १६ जना र विभिन्न संस्थागत विद्यालयमा ४२ जना विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित : २०८१ असोज १ गते ८:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI