सन्जय भट्टराई, कावासोती । महर्षी वाल्मीकिले संस्कृत रामायण रचना गरेको र राम–सीताका छोरा लवकुश जन्मे हुर्केको विश्वास गरिने भौगोलिक हिसाबले चितवनको माडी नगरपालिकामा पर्ने वाल्मीकि आश्रममा पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ ।
नारायणी नदीमा नवलपुरको त्रिवेणीधाम र वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुलको निर्माण सकिएको २ वर्ष पछि उक्त लबकुश झोलुङ्गे पुल देखि पवित्र धार्मिकस्थल वाल्मीकि आश्रम पुग्न पद मार्ग निर्माण भए सँगै भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेकोे हो ।
यस अघि पदमार्ग बनाउनका लागि वाग्मती प्रदेश सरकारले गत आ.वमा छुट्टाएको २० लाख बजेट भारतिय पक्षले पदमार्ग निर्माणका लागि आवश्यक जेसिबी लगाएतका मेसिनरी सामाना लैजान वाल्मीकि टाईगर रिजर्भ हुँदै जाने बाटो प्रयोग गर्न नदिएकै कारण फ्रीज भए पछि पदमार्ग त्रिवेणीका स्थानियको श्रमदानमा निर्माण गरिएको हो ।
करिब ३ किलोमिटर लामो पदमार्ग निर्माण भए सँगै राम भगवानले सीता मातालाई वनबासका लागि महर्षी वाल्मीकि ऋषिको आश्रममा छाडेको, भगवान रामका छोराहरु लव र कुशको जन्म भएको र सीतामाता पातालमा भासिएको स्थल वाल्मीकि आश्रम पुग्न अब भारतिय बाटो प्रयोग गर्ने बाध्यता हटे सँगै वाल्मीकि आश्रम पुग्न सहज भएको हो ।
पहुँच मार्गको निर्माण सकिए पछि सोमबार त्रिवेणी गजेन्द्रमोक्ष दिव्य धाम क्षेत्र विकास समितिको आयोजनामा गजेन्द्रमोक्ष दिव्य धाम देखि वाल्मीकि आश्रम सम्म पद यात्रा गरिएको थियो । पद यात्रामा प्रदेश सभा सदस्यहरु, पुर्व सांसद, विभिन्न स्थानिय तहका जनप्रतिनिधिहरु, गजेन्द्रमोक्ष दिव्य धाम क्षेत्र विकास समितिका पदाधिकारीहरु, जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, धार्मिक अभियन्ता, पत्रकार सहित स्थानियहरुको बाक्लो उपस्थित रहेको थियो ।
रामायण कथाअनुसार सीताका छोरा लव र कुशको यहीं पठनपाठन भयो । रामले लगाएको अश्वमेध यज्ञका बेला छाडेका घोडा पनि लव र कुशले समाएर बाँधेका थिए । आश्रममा यी घटनासँग जोडिएका पुराना वस्तु रहेका छन । आश्रम वरपर सीता पाताल प्रवेश स्थल, अमृत कुण्ड, हवन कुण्डका अवशेषहरू छन । लव र कुशले घोडा बाँधेको खम्बा, पाठशालाको अवशेष, विष्णु चक्र, सीताको फलफूल बगैंचा र वाल्मीकि ऋषि अन्तरध्यान भएको स्थल रहेको वाल्मीकि आश्रममा पुग्न धार्मिक पर्यटकका लागि पद मार्गले सहजता थपेको त्रिवेणी गजेन्द्रमोक्ष दिव्य धाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रश्वर भुसालले बताए ।
भौगोलिक हिसाबले चितवनको माडी नगरपालिका–१ मा रहेको वाल्मीकि आश्रम चितवनको सडक सञ्जालसँग जोडिएको छैन भने आश्रम पुग्ने जो कोहीले हिउँदमा डुङ्गा र वर्षायाममा पूर्वपश्चिम राजमार्गको बर्दघाट बजारबाट २८ किलोमिटर दक्षिणमा रहेको त्रिवेणीमा नारायणी नदीमाथि बनेको गण्डक बाँध कटेर भारत विहार राज्यको वाल्मीकि नगर हुँदै वाल्मीकि टाइगर रिजर्भको जङ्गल पार गरेर वाल्मीकि आश्रम पुग्नुपर्ने बाध्यता थियो ।
भारतको बाटो प्रयोग गरेर आश्रम पुग्ने नेपाली तीर्थयात्रीलाई भारतीय सीमा सुरक्षा बलले निकै कडाइ गर्ने गरेका छन् । बाटोमा पर्ने वाल्मीकि टाइगर रिजर्भ वनपोस्टमा टिकट नै काट्नुपर्ने र भारतीय सुरक्षा पोस्टमा ठाउँठाउँमा सोधपुछ हुने हुँदा नेपाली तीर्थयात्रीलाई सहजै आश्रममा पुग्न कठिन हुने गरेको थियो । झोलुंगे पुल र आश्रम सम्म पुग्ने पहुँच मार्ग निर्माण भएसँगै नेपालकै बाटो प्रयोग गरेर आश्रममा पुग्न सहज भएको र यसले त्रिवेणी र यस क्षेत्रको धार्मिक पर्यटनमा थप टेवा पुर्याउने त्रिवेणी त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधाम क्षेत्र विकास समितिका अध्यक्ष स्वामी कृष्ण प्रप्नचार्यले बताए ।
२०७० मा सम्झौता भएर २०७९ मा लबकुश झोलुंगे पुलको निर्माण सम्पन्न भएको भए पनि वाल्मीकि आश्रममा पुग्ने पहुँच मार्ग नहुदा पुल समेत सन्चालनमा आएको थिएन । पहुँच मार्गको निर्माण सम्पन्न भएसँगै लबकुश झोलुंगे पुल समेत संचालनमा आएको हो ।
प्रकाशित : २०८१ साउन २९ गते ६:५०
Facebook Comment