युरोकप २०२४ को उपाधिका लागि स्पेन र इंग्ल्यान्ड भिड्दै

NAWALPUR TIMES
प्रकाशित : २०८१ असार ३१ गते १६:५६
युरोकप २०२४ को उपाधिका लागि स्पेन र इंग्ल्यान्ड भिड्दै

कावासोती । युरोपियन च्याम्पियनसिप २०२४ उपाधिका लागि आज राति स्पेन र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा स्पेन चौथोपटक उपाधि जित्ने लक्ष्यमा छ । स्पेन पाँचौँपटक फाइनलमा स्थान बनाएको हो । यसअघि स्पेनले सन् १९६४, २००८ र २०१२ मा उपाधि जितेको थियो ।

ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्यान्ड पहिलोपटक प्रतियोगिता जित्ने योजनामा छ । लगातार प्रतियोगिताको फाइनलमा पुगेको इंग्ल्यान्डले स्पेनविरुद्ध आफ्नो सामान्य खेल खेल्दै दबाब सिर्जना गर्ने बनाएको छ । ‘हामीले खेलमा कुनै दबाब लिँदैनौँ । आफ्नो सामान्य खेल खेल्छौँ,’ इंग्ल्यान्डका प्रशिक्षक गेराथ साउथगेटले भनेका छन् । केनको कप्तानीमा इंग्ल्यान्डसँग जुड वेलिंघम, फिल फोडेन, बुकायो साका, जन स्टोनेस, केली वाल्कर, डिक्लेन राइसजस्ता प्रभावशाली खेलाडी छन् ।

स्पेनका प्रशिक्षक लुइस डी ला फुइन्टेले अन्य खेलको झै लय कायम राख्ने बताउँछन् । मुख्य खेलाडी पेड्री घाइते भए पनि डानी ओल्मोको उनको अभाव हुन दिएका छैनन् । अल्भारो मोराटाको कप्तानीमा प्रभावशाली अट्याकरद्वय लामिन यमल र निको विलियम्स रहेका छन् । दुई खेलाडीले विंगबाट दबाब सिर्जना गर्नेछन् । रोड्री र फाबियन रुइजले मध्यभाग धानेका छन् । डानियल कार्भाजाल, रोबिन ऐमिरिक लोपार्ट र मार्क कुकुरेलाले रक्षापंक्तिको जिम्मेवारी पाउन सक्छन् । फाइनलसम्म आइपुग्दा प्रतियोगितामा ६ खेलाडीले समान तीन गोल गरेका छन् । फाइनलिस्ट कप्तान केन र ओल्मोसहित जमल मुसियाल, कोडी गाक्पो, इभान स्चारन्ज र जर्जेस मिकाउटाड्ज छन् ।

दुवै टोली अपराजित
प्रतियोगितामा दुवै टोली अपराजित छ । स्पेनले जर्मनीविरुद्ध अतिरिक्त समयमा खेल जितेको छ । त्योबाहेक सबै खेल उसले ९०औँ मिनेटमै टुंगो लगाएको छ । यता, इंग्ल्यान्ड भने अन्तिम आठबाटै घर फर्कने अवस्थामा थियो । साकाको उत्कृष्ट गोलसँगै टोली बचेको हो । टोली पेनाल्टी सुटआउटमा जित निकाल्न सफल भयो । स्पेनले पहिलो खेलमा क्रोएसिया हुँदै इटाली र अल्बानियालाई समूह चरणमा हराएको थियो । नकआउटमा जर्जिया, जर्मनी र फ्रान्सलाई हराएको हो ।

इंग्ल्यान्डले भने अधिकांश खेलमा मोलेको छ । पहिलो खेलमा सर्बियालाई १–० ले हराउँदा दोस्रो खेलमा डेनमार्कसँग १–१ र स्लोभेनियासँग गोलरहित बराबरी खेल्यो । अन्तिम १६ मा स्लोभाकियालाई २–१ तथा क्वार्टरफाइनलमा स्विट्जरल्यान्डविरुद्ध पेनाल्टी सुटआउटमा जित निकालेको थियो । सेमिफाइनलमा भने नेदरल्यान्ड्सविरुद्ध २–१ को पुनरागमन जित निकालेको थियो ।

प्रकाशित : २०८१ असार ३१ गते १६:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI