नवलपुरका किसानलाई चैतेधान भित्र्याउने चटारो

NAWALPUR TIMES
प्रकाशित : २०८१ जेठ ३१ गते १०:४८
नवलपुरका किसानलाई चैतेधान भित्र्याउने चटारो

कावासोती । नवलपुरकाका किसानलाई हाल चैतेधान भित्र्याउन भ्याइनभ्याइ छ ।

जिल्लामा यस वर्ष कूल एक हजार ३२५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलचन्द्र तिवारीले बताए । चार वर्षदेखि सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रमा चैतेधान लगाउने क्रम जिल्लामा बढेको उनले बताए ।

“चैतेधान थन्काएपछि असारमा फेरि धान रोप्नुपर्ने भएकाले गर्मीलाई बेवास्ता गर्दै किसानहरू धान  भित्र्याउन व्यस्त छन्”, उनले भने, “यस वर्ष ६ हजार ७५५ मेट्रिक टन चैतेधान उत्पादन हुने अनुमान छ ।”

दुई बाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानले चैतेधान लगाउने गरेका छन् । तुलनात्मक रूपमा यहाँ मकैभन्दा धान बढी उत्पादन हुने र दुई बाली धान लगाउँदा एक बाली बिक्री गरेर आम्दानी गर्न सकिने हुँदा किसानहरू यसतर्फ आकर्षित भएका प्रमुख तिवारीले बताए ।

“जिल्लाको कावासोती नगरपालिका–८ देखि १७, गैँडाकोट नगरपालिका १०, ११, १२ र १३, देवचुली नगरपालिका–१७, मध्यविन्दु नगरपालिका २ र ३,  विनयी त्रिवेणी गाउँपालिका १ र ५, बुलिङटार गाउँपालिका–३ र बौदीकाली गाउँपालिका–४ मा हिउँदे धान भित्र्याउन अहिले किसान व्यस्त भएका छन्”, उनले भने । रासस

 

प्रकाशित : २०८१ जेठ ३१ गते १०:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI