कावासोती । एक समय थियो, जब पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रोहित पौडेल क्यानको खेलाडी वर्गीकरणमा किन परेनन् भनेर आन्दोलनमा उत्रिएका थिए। त्यो आन्दोलनले ज्ञानेन्द्रको कप्तानी नै खोसियो। तर समय यति छिटो बदलियो कि दुई वर्षको बीचमा उनै रोहितले नेपाली टोलीका कप्तानको जिम्मेवारी सम्हालेर एकपछि अर्को सफलता दिलाएका छन्।
ज्ञानेन्द्रभन्दा पछाडि सन्दीप लामिछाने कप्तान बने। तर उनी आफै बलात्कार मुद्दामा मुछिए। टोलीमा सिनियर तथा कप्तान बन्न योग्य खेलाडीहरू नभएका होइनन्, तर नवलपरासी बर्दघाटका यी युवाको भागमा कप्तानीको गहन जिम्मेवारी पर्यो।
उनी कप्तान के बनेका थिए, नेपाली क्रिकेटलाई उनको नेतृत्वको झन्डै दुई वर्षमा राष्ट्रिय टोली र रोहित आफैँले सफलताका थुप्रै कीर्तिमानहरू रच्न भ्याइसकेका छन्। उनको कप्तानीमा नेपालले विश्वकप लीग-२ मा शानदार पुनरागमन सहित एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) जोगायो। एसीसी प्रिमियम कपको फाइनलमा पुग्दै एसिया कपमा पहिलो पटक छानिएर भारत र पाकिस्तान जस्तो टेस्ट राष्ट्र सँग खेल्यो। अनि युएईलाई हराउँदै १० वर्षपछि आइसीसी मेन्स टी-२० क्रिकेट विश्वकपमा छनोट भयो।
रोहितको नेतृत्वमा हात परेका यी उपलब्धिहरू राष्ट्रिय टोलीका खेलाडी, समर्थक र क्यान पदाधिकारीहरूका लागि पनि अपत्यारिलो थियो। र, अहिले रोहित पौडेल अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने नवौँ संस्करणका कान्छो कप्तान बनेका छन्।
प्रकाशित : २०८१ जेठ २१ गते १४:४४
Facebook Comment