मध्यविन्दु नगरपालिकामा जग्गाको कित्ताकाट खुल्यो

NAWALPUR TIMES
प्रकाशित : २०८० असार ११ गते १६:४३
मध्यविन्दु नगरपालिकामा जग्गाको कित्ताकाट खुल्यो

तिर्थराज डुम्रे/मध्यविन्दु ।

नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरपालिकाले जग्गाको वर्गीकरण सहितको प्रतिवेदन पारित गरेसँगै कित्ताकाट खुलेको नगरपालिकाले जनाएको छ ।

नगरभित्रका सबै १५ वटै वडाका जग्गाको वर्गिकरण गरी सोको प्रतिवेदन मध्यविन्दु नगरपालिका भूउपयोग परिषद्बाट निर्णय गरी सम्बन्धी प्रतिवेदन नगरपालिकाले मालपोत कार्यालय कावासोती र नापी कार्यालय कावासोतीमा असार ७ गते पेश गरेको थियो ।

भू उपयोग ऐन २०७६ को दफा ४ को उपदफा १ तथा भू उपयोग नियमावली २०७९ को नियम ५ उपनियम १ र सोही नियमावलीको अनुसूची १ बमोजिम जग्गाको वर्गिकरण गरिएको नगरपालिकाका भुमी सम्बन्धी शाखा प्रमुख समेत रहनु भएका प्रशासन शाखा प्रमुख बिष्णुराज गौतमले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले मालपोत कार्यालय कावासोतीमा जग्गा वर्गिकरण प्रतिवेदन र नापी कार्यालय कावासोतीमा जग्गा वर्गिकरण प्रतिवेदन र आद्यावधिक गरेको नक्सा तथा सोको सफ्टकपी पेश गरेको छ । उक्त प्रतिवेदनको आधारमा नगरपालिकाको सबै वडाको जग्गा कित्ताकाट खुलेको हो ।

यस अगाडी सरकारले जग्गाको वर्गिकरण नभएका कित्ताहरुको कित्ताकाट रोक्का गरेको थियो । कृषि, आवास, व्यवसायिक लगायत विभिन्न खण्डमा जग्गाको वर्गिकरण गरिएको छ । अब जग्गाको कित्ताकाट र उपयोगमा वर्गिकरण अनुसारको उपभोग र कित्ताकाटको क्षेत्रफलहरु तय हुनेछ ।

कृषि क्षेत्रका रूपमा वर्गीकरण गरिएको जग्गाको कित्ताकाटको क्षेत्रफल नियमावलीले तोकेको छ । तराई र भित्री मधेसको भए ६ सय ७५ वर्गमिटर भन्दा कम क्षेत्रफलमा कित्ताकाट गर्न पाइने छैन । यसबाहेक अरू ठाउँका कृषि जग्गा एक हजार वर्गमिटरभन्दा कम क्षेत्रफलमा कित्ताकाट गर्न पाइँदैन ।

त्यस्तै आवासीय क्षेत्रमा वर्गीकरण गरिएको जग्गालाई एक सय तीस वर्ग मिटरभन्दा कममा कित्ताकाट गर्न पाइने छैन । पाँच सय वर्ग मिटरभन्दा सानो कित्ता भएको जमिनको हकमा चौडाइभन्दा लम्बाई चार गुणाभन्दा बढी हुने गरी कित्ताकाट गर्न पाइने छैन ।

व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार तथा सार्वजनिक उपयोगका जग्गाको कित्ताकाटको क्षेत्रफलबारे भने नियमावलीमा उल्लेख छैन ।

मध्यविन्दु नगरपालिकामा जग्गाको कित्ताकाट खुल्यो 3

प्रकाशित : २०८० असार ११ गते १६:४३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI