गण्डकीको नीति तथा कार्यक्रम आज

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ २१ गते ९:४८
गण्डकीको नीति तथा कार्यक्रम आज

कावासोती  । गण्डकी प्रदेशले आगामी आर्थिक वर्षमा अवलम्बन गर्ने नीति तथा कार्यक्रम आइतबार प्रदेश सभामा प्रस्तुत हुने भएको छ । आइतबार २ बजे सुरु हुने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । प्रदेश सरकारले पहिलो ५ वर्षे कार्यकाल पूरा गरी छैटौं वर्षका लागि ल्याउन लागेको नीति तथा कार्यक्रमलाई विशेष महत्वका साथ हेरिएको छ ।

भवन निर्माण, गाडी खरिदलाई सरकारले आगामी आर्थिक वर्ष निरुत्साहित गर्ने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउँदै आएका छन् । स्वास्थ्य कृषिलाई प्राथमिकतामा राखेर प्रदेशवासीले महसुस गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन लागिएको उनले जनाए । दायित्व सिर्जना भएर प्रक्रियामा रहेका भौतिक पूर्वाधार क्षेत्रका योजना पूरा गर्ने तर क्रोनिक भएर बसेका आयोजनालाई अगाडि बढाउन नसकिने उनको भनाइ थियो ।

प्रदेशको प्रथम पञ्चवर्षीय योजना, १५ औं पञ्चवर्षीय योजना, दिगो विकासका लक्ष्य, राजनीतिक दलहरूले व्यक्त गरेका प्रतिबद्धता र प्रदेशवासीका अपेक्षालाई समेट्ने गरी नीति तथा कार्यक्रम तयार गरिएको नीति तथा योजना आयोग उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले बताए । कृषि क्षेत्रमा हाल दिइँदै आएको अनुदान कटौती गरी उत्पादनमा आधारित अनुदान दिने, १० वर्ष मुनि र ६० वर्ष माथिकालाई सरकारी अस्पतालमा ओपिडी टिकट निशुल्क, क्यान्सर बिरामीलाई दिइँदै आएको रकममा वृद्धिजस्ता विषय नीति तथा कार्यक्रममा समेटिएका छन् ।

आगामी वर्ष निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमले निरन्तरता पाउने संकेत देखिएको छ । सांसद विकास कोषका नामले चिनिएको यो कार्यक्रम संघ सरकारको बजेटमा पनि परेको भएकाले प्रदेशमा पनि राखिने संकेत मुख्यमन्त्री पाण्डेले गरेका छन् । यसका लागि प्रमुख प्रतिपक्षी दलका नेता खगराज अधिकारी र सांसदहरूको समेत दबाब छ । सांसदले छानेका योजनामा बजेट खर्च हुने गरी कार्यविधि बनाएर सम्बन्धित कार्यालयहरूबाटै कार्यान्वयन हुने कार्यक्रममा अनियमितताको गुन्जायस नहुने मुख्यमन्त्री पाण्डे बताउँछन् । उनले भनेका छन्, ‘यसलाई जसरी व्याख्या गरिएको छ, त्यस्तो होइन, जनस्तरबाटै माग भएका योजनामा पारदर्शी तरिकाले खर्च हुन्छ ।’

प्रकाशित : २०८० जेठ २१ गते ९:४८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI