गण्डकीमा अब कांग्रेसको नेतृत्व

NAWALPUR TIMES
प्रकाशित : २०८० वैशाख १२ गते ८:२९
गण्डकीमा अब कांग्रेसको नेतृत्व

पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलले गण्डकीको नेतृत्व पहिले कांग्रेसले लिने सहमति भएको हो ।

माओवादीले नेतृत्वमा दाबी नछोडेपछि कांग्रेसका प्रदेश सांसदहरु काठमाडौं डेलिगेसन पुगेका थिए । उनीहरुले दुवै शीर्षनेतालाई भेटेर प्रदेशको अवस्थाबारे जानकारी गराएका हुन् । कांग्रेस संसदीय दलको टोलीले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवासँग भेटेपछि गण्डकीमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने पक्कापक्की भएको हो । दलका नेता सुरेन्द्रराज पाण्डेले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने सहमति भएको पुष्टि गरे । ‘हामीले आएर नेतृत्वहरुसँग भेट्यौं । उहाँहरुले कांग्रेसले नै पहिलो पालो पाउने बताउनुभयो,’ उनले भने, ‘अब पोखरा आएर सरकार गठनको प्रक्रिया थाल्छौं ।’

सांसद बिन्दुकुमार थापाले पनि शीर्ष २ नेताबीचको भेटपछि कांग्रेसेले नेतृत्व गर्ने सहमति जुटेको बताए । ‘शेरबहादुर देउवा र प्रचण्डबीच भेटघाट भएको छ । हामीले पाएको सूचना अनुसार गण्डकी, लुम्बिनी र सुदुरपश्चिममा कांग्रेसले नेतृत्व गर्ने निर्णय भएको हो,’ पूर्व मन्त्री समेत रहेका सांसद थापाले भने, ‘अब प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्नुहुन्छ । कांग्रेस र माओवादी संयुक्त रुपमा दाबी पेस गर्न जान्छ ।’ उनका अनुसार संविधानको धारा १६८ (२) अनुसार नै पुनः सरकार गठन हुनेछ । माओवादीले कर्णाली र वागमती प्रदेशको नेतृत्व गर्ने सहमति भएको छ । अहिले पनि यी २ प्रदेशमा माओवादीको नेतृत्व छ भने सुदूरपश्चिममा कांग्रेसले नै नेतृत्व गरिसकेको छ ।

यसअघि लुम्बिनी र गण्डकीमा एमाले नेतृत्वको सरकार थियो । दुवै प्रदेशका सरकारले बहुमत गुमाएका छन् । संसदबाट विश्वासको मत पनि पाएनन् । ‘उपधारा (२) अनुसार नै सरकार गठन गर्ने भन्ने छ । प्रदेश प्रमुखले सोही अनुसार आह्वान गर्नुहुन्छ,’ उनले भने, ‘गण्डकीमा (३) अनुसार जाँदा लुम्बिनीमा समस्या हुन्छ । ठूलो दलको हिसाबले फेरि एमाले सरकारमा जान्छ । त्यसैले सबैतिर (२) अनुसार आह्वान गर्ने कुरा छ ।’ तर माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले गण्डकीमा माओवादीले मुख्यमन्त्री पाउनुपर्ने अडान छोडेका छैनन् । ‘अहिले हाम्रो पालो हो । केन्द्रमा के निर्णय भयो भन्ने मलाई थाहा छैन । तर नेताहरुलाई फोन गर्दा तपाईंकै पालो हो भनेका छन्,’ उनले भने, ‘ढुक्क भएर बस्नुस्, हामी तपाईंकै पक्षमा निर्णय गर्छौं भनेका छन् । यहाँ माओवादीकै नेतृत्वमा सरकार बन्छ ।’

गण्डकीमा मुख्यमन्त्री दाबी गर्नका लागि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार आह्वान गर्ने छन् । शनिबार मुख्यमन्त्री खगराज अधिकारीले संसदबाट विश्वासको मत गुमाएपछि गण्डकीमा कामचलाउ सरकार छ । पुस २५ मा माओवादी र राप्रपा समेतको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका थिए । तर फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनका कारण पुरानो गठबन्धन टुट्र नयाँ समीकरण बनेको हो । सोही समीकरणले माओवादी एमालेसँग छुट्टिएर कांग्रेसतिर लागेको छ । शनिबार अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा २४ मत परेको थियो भने विपक्षमा ३५ मत थियो ।

आगामी सरकारको नेतृत्वमा कांग्रेस र माओवादी दुवैको दाबी भएका कारण मुख्यमन्त्री नियुक्तीमा विलम्ब भएको हो । प्रदेश प्रमुखले त आइतबार नै आह्वान गर्ने तयारी गरेका थिए । त्यसकै लागि काठमाडौंबाट पोखरा आए पनि दलहरुबीच सहमति नभएपछि उनले पर्खिएका हुन् । माओवादीले पनि उपधारा (२) अनुसार सरकार बन्नुपर्ने र त्यसमा आफ्नो दाबी रहने बताउँदै आएको छ ।

संविधानको धारा १६८ (२) मा ‘उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ’ भन्ने व्यवस्था छ ।

गण्डकीमा एउटै मात्र पार्टीको बहुमत नभएका कारण ‘त्रिशंकु’ सरकार बन्न लागेको हो ।

प्रकाशित : २०८० वैशाख १२ गते ८:२९
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI